close

बेनी–जोमसोम सडक स्तरोन्नतिको काम ६५ प्रतिशत सकियो 

बेनी–जोमसोम सडक स्तरोन्नतिको काम ६५ प्रतिशत सकियो 

Trulli
ADVERTISEMENT

गलेश्वर– गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम सडक खण्डको स्तरोन्नति र कालोपत्र गर्ने काम ६५ प्रतिशत सम्पन्न भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले ११ मिटर फराकिलो सडकमा बर्खाको समयमासमेत नियमित यातायातका साधन सञ्चालन हुनेगरी स्तरोन्नतिको काम सम्पन्न भएको जानकारी दिए । उनका अनुसार जोमसोम–कोरला खण्डको ८५ प्रतिशत र बेनी–जोमसोम सडक खण्डको ६५ प्रतिशत काम सम्पन्न भएको हो ।

 

बेनी–जोमसोम–कोरला सडकखण्डमा बेलिब्रिज विस्थापित गरी धमाधम पक्की पुल निर्माण गरिएको उनले बताए ।  राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने उक्त सडकखण्डको स्तरोन्नतिसँगै नियमित र सहज रुपमा यातायातका साधन सञ्चालनका लागि आठवटा पक्की पुल निर्माण गरिएको आयोजना प्रमुख प्रजापतिले जानकारी दिए ।

 

‘बेलिब्रिजसमेत आवश्यकता अनुसार हटाएर पक्की पुल बनाइरहेका छौँ, हिउँदमा समेत खहरे उर्लिने भएकाले थप पुल निर्माणका लागि प्रस्ताव गरिएको छ’, प्रमुख प्रजापतिले भन्नुभयो । कालीगण्डकी करिडोरका १३ वटा खण्ड अन्तर्गत आयोजनाको कार्य क्षेत्र बागलुङ र पवर्तको सिमानामा रहेको मालढुङ्गादेखि म्याग्दीको बेनी, मुस्ताङको जोमसोम हुँदै कोरला नाकासम्म पर्छ ।

 

सडकखण्डको म्याग्दी र मुस्ताङका विभिन्न ठूला र सहायक खोलामा आवश्यक पुल निर्माणधिन अवस्थामा र सञ्चालनमा आएपछि यात्रुलाई सहज भएको छ । उनका अनुसार म्याग्दीको गलेश्वरमा राहुघाट खोलामाथि ४० मिटर, घट्टेखोलामा ४० मिटर, मुस्ताङको स्याङ खोलामा ११५ मिटर र पाण्डाखोलामा ५० मिटर लामो पुल बनेको छ । पुल महाशाखाको पश्चिम सेक्टर कार्यालय पाल्पाले म्याग्दीकै अन्नपूर्ण गाउँपालिकाको महभीर र पोखर बगरस्थित कालीगण्डकीमा ७० र ८० मिटर लामो पुल निर्माण गरेको छ ।

 

उनले मुस्ताङको बोक्सीखोला, सुनखोला र थापाखोलामा मोटरेबल पुल बनाउन प्रस्ताव गरिएको बताए । ‘कालोपत्र सडकमा मोटरेबल पुलले थप सहज भएको छ, प्राकृतिक विपत्तीले केही ठाउँमा पुल निर्माणमा असर गरेको छ’, प्रमुख प्रजापतिले भने । गत वर्षको बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से र मुस्ताङको खहरेखोलाको मोटरेबल पुल अलपत्र भएको छ ।

 

बाढीले दुबै स्थानमा अन्तिम चरणमा पुगेको पुल तहसनहस बनाइदिएपछि तत्काल पक्की पुलको सम्भावना नभएकाले नमूना परिवर्तन गरी बेलिब्रिज निर्माण गरिने आयोजनाले जनाएको छ । मुस्ताङकै पाण्डाखोलाले धार परिवर्तन गरेपछि र उपल्लो मुस्ताङको छुसाङमा डोलिडारले बनाएको पुलले खोलाको सबै भाग समेट्न नसकेपछि ५० मिटर लामो अर्को पुल बनाउन प्रस्तावसमेत गरिएको छ ।

 

आयोजनाको म्याग्दी खण्डमा बाढीपहिरो र मुस्ताङमा बेमौसमी बाढीले काम गर्न समस्या भए पनि सडकखण्डमा निर्माणाधीन अवस्थामा रहेका १२ वटा मोटरेबल पुलको ठेक्का सम्झौतामा खरिद ऐन अनुसार थपिएको समयसीमा आगामी चैत महिनामा सकिँदैछ । ढिलासुस्ती र विभिन्न बाहाना बनाउने निर्माण व्यवसायीलाई आयोजनाले सम्झौता तोड्ने र बैक ग्यारेन्टीसमेत जफत गर्ने चेतावनी दिएपछि पछिल्लो समय आयोजनाको कामले गति लिएको छ । ७  अर्ब २७ करोडमा ठेक्का सम्झौता भएको १८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत सडक तथा पुल निर्माणमा हालसम्म ४ अर्ब ७३ करोड खर्च भइसकेको लेखा अधिकृत शेखरचन्द्र सापकोटाले जानकारी दिए ।  

 

उनले निर्माण व्यवसायीलाई प्रगतिको आधारमा भुक्तानीसँगै नियमित निगरानीसमेत भइरहेकाले पछिल्लो समय प्रगति भएको बताए । म्याग्दी खण्डमा डिबिएसडी र मुस्ताङमा आसफाल्ट प्रविधिको कालोपत्र भइरहेको छ । सडकखण्डको सबैभन्दा जोखिम मानिने म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिरमा १.२ किमी सडक विस्तारका लागि डोजरको सहायताले मात्रै ट्र्याक निर्माण नभएपछि विस्फोटक पदार्थको प्रयोगले भिर फुटाउन ५० टन विष्फोटक पदार्थको प्रयोग गरिने र थप १० टनका लागि आवश्यक प्रक्रियामा रहेको आयोजनाले जनाएको छ।

 

यता सडकखण्डमा पक्की पुल बनेपछि यात्रामा समेत सहज भएको स्थानीयले बताएका छन् । बाहै्रमहिना चिसो मौसममा दुईपाङ्ग्रे सवारीसाधनमा आवतजावत गर्ने यात्रुलाई पक्की पुलले यात्रामा थप सहज भएको छ । विगतमा सडकखण्ड अन्तरगत पर्ने खोलामा पुल नहुदाँ असारदेखि असोज महिनासम्म याताायातको साधन आवतजावतमा समस्या हुने गरेको थियो । प्राकृृतिक सुन्दरताले भरीपूर्ण मुस्ताङमा पुल र कालोपत्रे सडक समेत थपिएपछि सौन्दर्यतामा थप चमक आएको छ ।