close

सर्लाहीको नवलपुर सबस्टेसन उद्घाटन 

सर्लाहीको नवलपुर सबस्टेसन उद्घाटन 

Trulli
ADVERTISEMENT

सर्लाही–सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १ नवलपुरमा निर्माण भएको १३२/३३ केभी सबस्टेसन उद्घाटन गरिएको छ ।

 

सर्लाहीको विद्युत् आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र आगामी दिनमा खुल्ने नयाँ उद्योगलाई विद्युत् उपलब्ध गराउन निर्माण गरिएको सबस्टेसन मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्घाटन गरिन् । उद्घाटन कार्यक्रममा उनले नागरिकलाई उज्यालोका लागि मात्र नभएर खाना पकाउन, सिँचाइ गर्न, उद्योग कलकारखाना चलाउनका लागि प्रयोग गरी विद्युत् खपत बढाउन आग्रह गरिन् । 

 

तराई तथा मधेस क्षेत्रमा सिँचाइमा विद्युत् खपतको सम्भावना देखेरै सरकारले सिँचाइको विद्युत् महसुल घटाएको उल्लेख गर्दै मन्त्री भुसालले सिँचाइका लागि पेट्रोलियम पदार्थबाट चल्ने उपकरण विस्थापित गर्न सुझाइन् । ‘अहिले हामी वार्षिक २ खर्ब रुपैयाँ बढीको खाद्यान्न आयात गरिरहेका छौँ, विद्युत् प्रयोग गरी सिँचाइ गरेर उत्पादन वृद्धि गरौँ, बाँझा खेत नराखौँ’, उनले भनिन्, ऊर्जा प्रयोग गरी उद्योग खोलौँ, कृषि गरौँ र मुलुकभित्रै रोजगारी सिर्जना गर्दै अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनतर्फ लागौँ ।’

 

उनले सबस्टेसन सञ्चालनमा आएसँगै यस क्षेत्रमा गुणस्तरीय र भरपर्दो विद्युत् आपूर्ति भई औद्योगिकीकरणमा सहयोग पुग्ने भएकाले त्यसतर्फ लाग्न आग्रह गरिन् ।

 

कार्यक्रममा सर्लाहीका संघीय सांसद प्रमोदकुमार साहले सबस्टेसनबाट विद्युत् आपूर्ति हुन थालेपछि यस क्षेत्रका बासिन्दाले भरपर्दो र गुणस्तरीय विद्युत् पाउन थालेको बताए । उनले विद्युतीकरण नभएका क्षेत्रमा तत्काल काम गर्न प्राधिकरणलाई आग्रह गरे ।

 

ऊर्जा सचिव देवेन्द्र कार्कीले सर्लाहीबाट बत्ती जाने धेरै गुनासो आउने गरेकामा अब त्यस्ता समस्या समाधान भएको बताए । सरकारले महसुल घटाएकाले विद्युत् चोरी गरी सिँचाइ गर्नुपर्ने अवस्था नरहेको उल्लेख गर्दै कार्कीले चोरी नियन्त्रणमा सहयोग गर्न सबैलाई आग्रह गरे । 

 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मधेस प्रदेशको विद्युत् आपूर्ति सुधार गर्न अहिले सबैभन्दा बढी लगानी भइरहेको उल्लेख गर्दै प्राधिकरणले आफ्नो आम्दानी घटाएर भए पनि सिँचाइ, औद्योगिक, खानेपानीलगायत घरायसी ग्राहकलाई महसुलमा सहुलियत दिएको जानकारी दिए ।

 

विद्युतीकरणका लागि बजेट अभाव नहुने स्पष्ट पार्दै उनले सबैलाई विद्युत् उपलब्ध गराउने प्रतिबद्धता जनाए । मधेस प्रदेशमा विद्युत् चुहावट बढी नै हुने गरेकाले चुहावट नियन्त्रणमा सहयोग गरिदिन सबैलाई उनको आग्रह छ । 

 

लालबन्दी नगरपालिकाका प्रमुख मानबहादुर खड्काले नवलपुर सबस्टेसन सञ्चालनमा आएपछि यस क्षेत्र न्यून भोल्टेज र ट्रिपिङको समस्याबाट मुक्त भएको उल्लेख गर्दै सबस्टेसन उपभोक्ताका लागि वरदान भएको टिप्पणी गरे । 

 

सबस्टेसनमा विद्युत् आपूर्ति सुरु भएपछि सर्लाहीको विद्युत् आपूर्ति विश्वसनीय र प्राविधिक चुहावट घटेको छ । यसअघि सर्लाहीमा ढल्केबर र चन्द्रनिगाहपुर सबस्टेसनबाट ३३ केभी लाइनमार्फत विद्युत् आपूर्ति भइरहेको थियो । 

 

३३ केभी लाइन धेरै लामो हुँदा प्राविधिक चुहावट थियो भने विद्युत् आपूर्तिमा समेत अवरोध हुँदै आएको थियो । नवलपुर सबस्टेसनबाट सीधै विद्युत् आपूर्ति हुन थालेपछि लाइन छोटो हुँदा चुहावट घट्नेछ । विद्युत् आपूर्ति पनि विश्वसनीय र गुणस्तरीय बनेको छ । सर्लाहीमा खुल्ने उद्योगलाई पर्याप्त विद्युत् दिन सकिनेछ ।

 

पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइन नवलपुर सबस्टेसनमा भित्रने (लुप इन) र बाहिरिने (लुप आउट) छ । यही १३२ केभी लाइनबाट नवलपुर सबस्टेसनमा विद्युत् आपूर्ति दिइएको छ । सबस्टेसनमा १३२/३३ केभी, ६३ एमभिए र ३३/११ केभी, १६ एमभिए क्षमताका दुई वटा ट्रान्सफर्मर राखिएको छ । यही सबस्टेसनमार्फत सर्लाहीका हरिपुर र मलंगवा ३३/११ केभी वितरण सबस्टेसनमा विद्युत आपूर्ति दिइएको छ । 

 

सबस्टेसनको प्रारम्भिक काम आर्थिक वर्ष ०७४/७५ र मुख्य निर्माण आव ०७५/७६ मा सुरु गरिएको थियो । कोभिड महामारी कारण उपकरण ल्याउन नसक्दा निर्माणमा केही ढिला भएको थियो । सबस्टेसन निर्माणको ठेक्का पावर टेक, भारत र वाइबा इन्फ्राटेक नेपालको संयुक्त उपक्रम (जेभी) ले पाएको थियो । कार्यक्रममा सबस्टेसन आयोजनाका कर्मचारी र ठेकेदार कम्पनीलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।