close

पुल निर्माण गर्न श्रमदान

पुल निर्माण गर्न श्रमदान

Trulli
ADVERTISEMENT

चितवन । इच्छाकामना गाउँपालिका–७ स्थित स्याङ्दी खोलामा जनश्रमदानबाट पुल निर्माण भइरहेको छ । जनप्रतिनिधि र केही स्थानीयले मात्र सुरु गरेको जनश्रमदान अभियानमा अहिले दैनिक श्रमदान गर्नेको सङ्ख्या बढ्दै गएको हो ।  

    नियमित श्रमदानमा जुटिरहेका स्थानीय विक्रम मगरका अनुसार दैनिक एक सय ५० जनासम्म श्रमदानका लागि आउने गरेका  छन् । उनले भने, 'पुल निर्माणका लागि वडा नं ७ बाट मात्रै नभई अन्य वडाबाट पनि श्रमदान गर्नेको सङ्ख्या दैनिक बढ्दै गएको छ ।' श्रमदानमा आउनेलाई स्थानीयले खाना र खाजाको व्यवस्थासमेत गरिदिएको  उनले बताए। 

    श्रमदान गर्नेहरुको हरेक दिन उत्साहजनक सहभागिता भइरहेको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताए । असार ९ गतेदेखि निर्माण सुरु गरिएको उक्त पुलको काम असारभित्र सम्पन्न गर्ने गरी भइरहेको उनले जानकारी दिए। पुल निर्माणका लागि पालिकाले आवश्यक सामग्री तथा प्राविधिकका लागि बजेट व्यवस्था गराएको अध्यक्ष गुरुङले बताए । 

    पुल निर्माण सम्पन्न नहुँदासम्म हरिपुर खोलामा राखिएको बेली ब्रिजको संरचना प्रयोग गर्ने गरी स्याङ्दी खोलामा पुल निर्माण थालिएको वडाध्यक्ष बमबहादुर रानाले बताए । पुल निर्माणपछि गर्दास र स्याङ्दीका बासिन्दा लाभान्वित हुनेछन् ।

    हरेक वर्ष स्याङ्दी खोलामा आउने बाढीका कारण स्थानीयले आवागमनमा सास्ती खेप्दै आउनुपरेको थियो । गाउँपालिका अध्यक्ष, वडाध्यक्षसहित जनप्रतिनिधि तथा स्थानीयले  दैनिक श्रमदान गर्दै आएका  छन् ।