close

बिपी शान्ति नगरवन संरक्षण गरिँदै

बिपी शान्ति नगरवन संरक्षण गरिँदै

Trulli
ADVERTISEMENT

चितवन। भरतपुर महानगरपालिका–३ स्थित बिपी शान्ति नगरवन संरक्षणको काम थालिएको छ । लामो समयदेखि संरक्षणको पर्खाइमा रहेको सो नगरवनमा अहिले बिपीको सालिक राख्ने, टायल बिछ्याउने, पर्खाल निर्माणलगायतका काम भइरहेका छन् ।

महानगरपालिकाको रु ३५ लाखको लागतमा संरक्षणको काम भइरहेको उपप्रमुख चित्रसेन अधिकारीले जानकारी दिए। विसं २०३५ मा नारायणी बगरको रूपमा रहेको सो क्षेत्रको एक सय १२ बिघा अहिले नगरवनमा परिणत गरिएको छ । बिपीको ढलोटको अर्धकदको मूर्ति फुटेसँगै सोही स्थानमा नयाँ सालिक राखिएको छ । वनभोजस्थल व्यवस्थापन, पालेघर व्यवस्थापनलगायत काम तीव्ररूपमा भइरहेका छन् ।

तत्कालीन समयमा नगरपञ्चायतले वृक्षरोपण गरेर स्थापना गरेको नगरवनलाई अहिले थप राम्रो बनाउने काम भइरहेको छ । नगर वन क्षेत्र पछिल्लो सयम पर्यटकीयस्थलका रूपमा विकास हुँदै गएकाले यसलाई व्यवस्थित गर्दै पर्यटन प्रवर्द्धनमा जोड्नका लागि संरक्षणका काम गरिएको उनले बताए।

अधिकारीका अनुसार वडा नं ३ ले रघुनाथ तिमिल्सिनाको अध्यक्षतामा उपभोक्ता समिति गठन गरी यहाँको संरक्षण र संवर्द्धनका लागि काम गरिरहेको छ । तत्कालीन समयमा भरतपुर नगरपालिका–४ हुँदा विभिन्न समिति निर्माण गरी संरक्षणको काम गरिएको भए पनि पछिल्ला वर्षहरूमा संरक्षणको पर्खाइमा नगरवन क्षेत्र रहेको थियो । वन्यजन्तुको समेत बासस्थान रहेको उक्त क्षेत्रको  संरक्षण र प्रवर्द्धन गर्न सके आन्तरिक तथा बाह्य पर्यटकसमेत आउने उनले बताए।
 
भरतपुर भ्रमण वर्ष  सन् २०२४ लाई सफल बनाउन नगरवनले सहयोग गर्ने अधिकारीले बताए। नगरवनको संरक्षणका लागि बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि रु १८ लाख विनियोजन गरेको छ । स्थानीय सरकार र प्रदेश सरकारको सहयोगमा नगरवन संरक्षणको काममा अघि बढेको अधिकारीले बताए।