close

मेयर सा'ब सरर विद्युतीय बसमा

मेयर सा'ब सरर विद्युतीय बसमा

Trulli
ADVERTISEMENT

भक्तपुर । चाँगुनारायण नगरपालिकाले विद्युतीय यातायात परिक्षण गरेको छ । नगरपालिकाका नगरप्रमुख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकीलगायत कर्मचारीसहितका टोलीले बिहिबार विद्युतीय यातायात परिक्षण गरेको हो । 

नगरपालिकाले मेयर उद्यमशीलता कार्यक्रम अन्तर्गत वातावरण मैत्रीका लागि विद्युतीय बस सञ्चालन ल्याउन लागेको र सोहीका लागि परिक्षण गरेको जनाएको छ । नगरप्रमुख खत्रीका अनुसार स्थानीय बासिन्दालाई यातायातको सहज पहुँचमा ल्याउनका लागि विद्युतीय बस परिक्षणमा ल्याएको हो । 

उनले नगरपालिका पर्यटकीय, धार्मिक तथा ऐतिहासिक गन्तव्य भएकोले यातायातको सुविधाका लागि विद्युतीय बस सञ्चालन गर्न लागेको बताए । उनले नगर क्षेत्रमा सार्वजनिक यातायात सञ्चालनमा रहे पनि समय तालिका अनुसार नचल्ने बताए ।

उनले चाँगुनारायण नगरपालिका काठमाडौं उपत्यकासँग जोडिएको स्थानीय तह भएता पनि भौगोलिक विकटता र यातायात व्यवसायीको सिन्डिकेटले गर्दा स्थानीय बासिन्दा सार्वजनिक यातायातको पहुँचभन्दा बाहिर रहेको बताए । 'हामी उपत्यकाभित्र कै स्थानीय तह हौं । तर स्थानीय बासिन्दाले सार्वजनिक यातायातको प्रयोग गर्न सकेका छैनन, ' उनले भने, 'यातायात व्यवसायीको मनपरीले गर्दा आवातजावतमा समस्या हुने गरेको गुनासो पटक/पटक आउने गरेको छ ।' 

स्थानीय बासिन्दाको गुनासो सम्बोधन गर्नको लागि नगरपालिकाले विद्युतीय बस सञ्चालनमा ल्याउने योजना बनाएको उनले बताए । विद्युतीय बस सञ्चालनमा ल्याएसँगै स्थानीय बासिन्दासँगै आन्तरिक तथा बाह्य पर्यटकलाई समेत सहज हुने उनको विश्वास छ । 

उनले नगरपालिकाभित्र सडकको स्तरोन्नती भएता पनि सार्वजनिक यातायातको समस्याले स्थानीय बासिन्दा मार परेको बताए । 'हामीले केही समय अगाडि अटो रिक्सा परिक्षण गरेका थियौं । तर भौगोलिक अवस्थाले अटो रिक्सा प्रभावकारी नहुने देखियो,' उनले भने, 'पुन बस परिक्षण गरेका हौँं  । पालिकाभित्रका सबै वडामा बस परिक्षण गरिनेछ ।' 

उनले परिक्षणबाट बस प्रभावकारी हुने देखिएमा नगर बस सञ्चालनमा ल्याउने जानकारी दिए । उनले परिक्षणकाे नतिजा केही समयपछि मात्रै आउने बताए ।

 उनका अनुसार नगरपालिकाले नगर यातायात सञ्चालन कार्यविधि निर्माण गरिने र सोही अनुरुप आवश्यक तयारी गरिने बताए । 'हामी आएदेखि सार्वजनिक यातायातको समस्या समाधानको लागि तयारी गर्दै आएका थियौँ । हाल अन्तिम चरणमा पुगेका छौँ,' उनले  भने, 'परीक्षणबाट प्रभावकारी हुने देखिएमा यही वर्षदेखि बस सञ्चालनमा ल्याउने छौं ।'