close

छोसेरमा ‘एक घर एक धारा’ योजना सम्पन्न

छोसेरमा ‘एक घर एक धारा’ योजना सम्पन्न

Trulli
ADVERTISEMENT

मुस्ताङ - लोमान्थाङ गाउँपालिकाको वडा नं १ र २ मा पर्ने छोसेरमा ‘एक घर एक धारा’सहितको खानेपानी योजना सम्पन्न भएको छ । चीनको सिमानामा रहेको कोरला नाका नजिकै रहेको छोसेर मुस्ताङको अन्तिम मानव बस्ती हो । 

सात वर्षको प्रयासमा सम्पन्न भएको योजनाबाट करिब दुई सय घरधुरी लाभान्वित भएका छन् । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास सबडिभिजन कार्यालय मुस्ताङले उपभोक्ता समितिमार्फत श्रमदानसहित करिब रु एक करोड ५० लाखको लगानीमा छोसेर खानेपानी योजना सम्पन्न गरेको लोमान्थाङ–२ का वडाध्यक्ष कर्म नामगेल गुुरुङले जानकारी दिए । 

'एक सय ८६ घरधुरीमा मिटरसहितको निजी धारा जडान गरेर खानेपानी वितरण भएको छ', उनले भने, ‘'बाह्र वर्षअघि निर्माण गरेको योजना जीर्ण हुँदा साविक छोसेर गाउँमा खानेपानीको निकै समस्या थियो । सात वर्ष लगाएर योजना सम्पन्न भएपछि घर–घरमा शुद्ध खानेपानीको सुविधा पुगेको छ ।' 

कोरलानाका नजिकै रहेको च्याउङछु भन्ने स्थानमा रहेको मूलबाट करिब १५ किलोमिटर लामो पाइप लाइनबाट छोसेरमा खानेपानी ल्याइएको उपभोक्ता समितिका अध्यक्ष पासाङ छिरिङले बताए । तीस हजार लिटरको एक र २० हजार लिटर क्षमताका दुईवटा ट्याङ्की निर्माण भएको छ । 

समुद्री सतहबाट चार हजार पाँच सय मिटर उचाइको भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रको मुहानबाट पानी ल्याइएको छ । एक सय ८० घरधुरीमा निजी धारा र २० वटा सामुदायिक धारा निर्माण गरिएको अध्यक्ष छिरिङले बताए । 

'सात वर्षअघि योजना सुरु भए पनि कोरोना महामारीका कारण दुई वर्ष बजेट नआएपछि काम हुन सकेन', उनले भने, 'आर्थिक वर्ष २०७९/८० मा पर्याप्त बजेट आएकाले योजनाले पूर्णता पाएपछि वर्षौँदेखिको सपना पूरा भएको छ । गत हप्तादेखि खानेपानी वितरण भएको छ ।' खानेपानीका लागि खर्च हुने समय र श्रमको बचत भएको छ । यसअघि सार्वजनिक धारामा पर्याप्त पानी नआउने समस्या थियो ।

योजनालाई दिगोरूपमा सञ्चालन गर्न एक जना हेरालु राखिएको छ । सो योजनामा गत आर्थिक वर्षमा रु ७२ लाख २४ हजार बराबरको काम भएको खानेपानी, जलस्रोत तथा सिँचाइ विकास सबडिभिजन कार्यालय मुस्ताङका सबइन्जिनियर प्रताप सार्कीले बताए । 

उनका अनुसार चालु आवमा रु छ लाख १७ हजार बराबरको काम भएको छ । कोरोना महामारीका कारण दुई वर्ष काम नभएको र मुहान टाढा भएकाले योजना सम्पन्न गर्न समय लागेको उनले बताए ।