close

झरी पर्न छाेडेपछि ग्रामीण सडक खुल्याे, स्थानीयलाई राहत मिल्याे

झरी पर्न छाेडेपछि ग्रामीण सडक खुल्याे, स्थानीयलाई राहत मिल्याे

Trulli
ADVERTISEMENT

रसुवा - वर्षायामको भेल र पहिरोका कारण बन्द रसुवाका सबै ग्रामीण सडक अहिले खुला भएको छ । जिल्लाका पाँचवटै गाउँपालिकाभित्र अवरुद्ध रहेका ग्रामीण सडक स्काभेटरको सहायताले खाल्डाखुल्डी पुर्ने र पहिरो पन्छाएर सडक सुधार गरिएको हो ।

नौकुण्ड गाउँपालिकाभित्रको करिब ६४ किलोमिटर र कालिका गाउँपालिकाअन्तर्गतको करिब ३० किलोमिटर सडक सुधार गरिएको छ । स्काभेटरको सहायताले वर्षायाममा सडक सतहमा  रहेका  लेदो र  ढुङ्गा हटाउनुका साथै खाल्टाखुल्टीसमेत पुरेर सवारी साधन सञ्चालन गराइएको कालिका गाउँपालिका–५ का वडाध्यक्ष सन्दीप पौडेलले जानकारी दिए । आम भञ्ज्याङ, धुसेनी, भोर्ले, कप्थलीटार, पारच्याङ, यार्सा, सरमथली, पाटिखर्क, लाङ्वु, लोकिललगायत क्षेत्रका ग्रामीण सडकमा सवारी साधन ओहोरदोहोर भइसकेको छ ।

यस्तै उत्तरगया गाउँपालिकाको बनुवा घुम्ती कर्मिडाँडा, डाँडागाउँ, ठूलोगाउँ, गोसाइँकुण्ड तथा आमाछोदिङ्मो क्षेत्रका सडकसमेत सञ्चालन भइरहेको छ ।
       
पासाङल्हामु मार्गको बेत्रावतीदेखि धुञ्चे, स्याफ्रुबेँसीसम्म डिभिजन सडक कार्यालय र स्याफ्रुबेँसी रसुवागढी अन्तर्राष्ट्रिय राजमार्गमा भने रसुवागढी हाइड्रोपावर तथा गल्छी, मैलुङ स्याफ्रुबेँसी सडक सुधार आयोजनाको डोजरले अवरुद्ध सडक खुलाइएको सडक कार्यालयका प्राविधिकले बताए । 
        
ठूलो भार्खुडाँडा, सानुभार्खु भिर, याङ्याङको भोटेकोशी पुलनजिक र स्याफ्रुबेँसीदेखि रसुवागढी स्थानको मार्गमा भने सडक सुधार हुन नसक्दा सवारी चालक हैरानीमा पर्ने गरेका त्यहाँका सवारी चालकको गुनासो थियो ।