close

कनकाईमा प्रभावकारी बन्दै विद्युत् चुहावटमुक्त अभियान

कनकाईमा प्रभावकारी बन्दै विद्युत् चुहावटमुक्त अभियान

Trulli
ADVERTISEMENT

झापा– कनकाई नगरपालिकामा विद्युत चुहावटमुक्त अभियान प्रभावकारी बन्दै गइरहेको छ । नगरपालिकामा हाल पालिकामा विद्युत चुहावटको घटना शून्य रहेको नगरपालिकाले जनाएको छ । 

वडास्तरबाट नै विद्युत् चोरी भए/नभएको अनुगमन गरिने नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बताए । अनुगमनको क्रममा विद्युत् चोरीको घटना नपाएको उनले बताए । पालिकामा विद्युत् चोरीको सम्भावनालाई अन्त्य गर्न सबै घरमा डिजिटल मिटरबक्स जडान गरिएको छ । 
मिटरबक्स खरिद गर्न नसक्ने स्थानीयलाई नगरपालिकाले निःशुल्क उपलब्ध गराएको उनले बताए ।

‘नगरपालिकालाई विद्युत् चुहावटमुक्त घोषणा गर्नुअघि विपन्न र खरिद गर्न नसक्ने परिवारलाई निःशुल्क मिटरबक्स उपलब्ध गराएका थियौँ । अहिलेसम्म पनि नि:शुल्क मिटर वितरणको कार्यक्रमलाई निरन्तरता दिइरहेका छौँ,’ हालसम्म नगरपालिकाले नि:शुल्क रुपमा एक हजारभन्दा धेरै मिटरबक्स वितरण गरेको उनले जानकारी दिए । 

कनकाईलाई विसं २०७४ मा पूर्णरुपमा विद्युत चुहावटमुक्त नगरपालिका घोषणा गरिएको थियो । ‘चोरी कसैले पनि गर्नु हुँदैन । विद्युत चोरी गर्दा विभिन्न खालको दुर्घटना निम्तिन सक्छ भन्ने महशुस गरेर कनकाईलाई विद्युत चुहावटमुक्त नगरपालिका बनाउन अभियान नै सञ्चालन गरेका थियौँ,’ नगरप्रमुख पोखरेलले पालिकाखबरसँग भने । करिब डेढ वर्षको निरन्तर निगरानी सहित सो अभियान सञ्चालनपछि विद्युत चुहावटमुक्त नगरपालिका बनाउन सफल भएको उनले बताए। 

‘कति ठाउँमा त म आफैँले विद्युत चोरी गरेको फेला पारेको थिएँ । त्यस्ता मान्छेलाई पक्राउ गरेर अबदेखि चोरी नगर्ने कबुल गराएर जरिवाना तिराएका थियौँ,’ विद्युत चुहावटमुक्त नगर बनाउने क्रममा आठ जनालाई विद्युत चोरी गरिरहेको फेला पारेर आफैले जरिवाना गराएको उनले सुनाए । 

कनकाई विद्युत चुहावटमुक्त नगरपालिका घोषणा भएयता विद्युत चोरी भएको घटना फेला नपरेको बताउँदै उनले भने, ‘नगरपालिका क्षेत्रका सबै ठाउँमा विद्युत पुगिसकेको छ । सबै घरमा मिटर जडान गरिएकाले चोरीको घटना घटेको छैन ।’