close

सडक सञ्जालले सुगम बन्दै दुर्गमका स्थानीय तह

सडक सञ्जालले सुगम बन्दै दुर्गमका स्थानीय तह

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक- सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काभ्रेपलाञ्चोकको छ गाउँपालिकालाई दुर्गम स्थानीय तहमा सूचीकृत गरेको छ । मन्त्रालयले हालै गरेको वर्गीकरणमा देशभरका स्थानीय तहलाई सुगम र दुर्गमका आधारमा विभाजन गरेको छ । काभ्रेपलाञ्चोकको तीन तह सुगम, छ तह दुर्गम र चार तह मध्यममा परेका हुन् ।

मन्त्रालयको वर्गीकरणअनुसार जिल्लाका तीन पुराना नगरपालिका बनेपा, धुलिखेल र पनौती सुगममा परेका छन् । खानीखोला, चौँरीदेउराली, तेमाल, बेथानचोक, भुम्लु र महाभारत गाउँपालिका दुर्गममा परेका छन् । 

यस्तै अन्य चार तह पाँचखाल, नमोबुद्ध, मण्डनदेउपुर नगरपालिका र रोशी गाउँपालिका मध्यममा सूचीकृत भएका हुन् । मन्त्रालयले देशभरका सबै स्थानीय तहलाई चार वर्गमा वर्गीकरण गरेको थियो ।

दुर्गममा वर्गीकृत गाउँपालिकामध्ये जिल्लाको दक्षिणी क्षेत्र ९डाँडापारी०का महाभारत र खानीखोलालाई हालैमात्र निर्माण सुरु गरिएको दुई सडक सञ्जालले सुगमतातर्फउन्मुख गर्दैछ । यी दुई तह पक्की सडकमार्फत काभ्रेपलाञ्चोक हुँदै जाने दुई राजमार्गले अरनिको र बिपीसँग जोडिएर सुगमतातर्फ डो¥याउने भएका हुन् ।

गत साता मात्रै रोशी–महाभारत–खानीखोला जोड्ने जनमुक्ति मार्ग ७५ किलोमिटर र बनेपा–पनौती–बेथानचोकको ढुङ्खर्क–च्याम्राङबेंसी–ललितपुरको सुकुमफेदी हुँदै मकवानपुरको झुरझुरेसम्म ३८ किमी सहायक मार्गका रुपमा निर्माण थालनी गरिएको छ । 

सहायक मार्ग निर्माणका लागि पहिलो चरणमा पाँच करोड ८२ लाख ९७ हजार ५६५ रुपैयाँमा सम्झौता गरिएको छ । सम्झौताअनुसार निर्माणको जिम्मा लिएको जय बागेश्वरी एएलइजवेल अल्फ हेक्स जेभी काठमाडाैँले दुई वर्ष अर्थात् २०८२ असोज २४ गते सम्पन्न गर्नुपर्नेछ । यस्तै ७५ किमी सडकअन्तर्गत पहिलो चरणमा देवीटारबाट गोकुलेस्थित लबडाँडासम्म कालोपत्र गर्न रु ३९ करोड ७४ लाख ५५ हजार १८ मा १८ महिनामा सक्नेगरी निर्माण सम्झौता गरिएको छ ।
 
महाभारतस्थित गोकुलेका शिक्षक खुबनाथ दुलाल दुई मार्गको निर्माण सम्पन्न भएपछि डाँडापारीका नागरिकलाई शिक्षा, स्वास्थ्य सेवामा थप सहजता हुने तथा उत्पादित खाद्यान्नलगायत बिक्रीका लागि सजिलो हुने बताउँछन् । उनले भने, 'दुर्गमलाई सुगम बनाउन मुख्यरुपमा पक्की सडक चाहिने रहेछ, त्यसपछि अन्य पूर्वाधार बनाउन निकै सजिलो हुन्छ ।' उनका अनुसार दुई मार्गको निरन्तरको निर्माणले डाँडापारीका दुई गाउँपालिकालाई एक/दुई वर्षमै सुगमताउन्मुख गराउने विश्वास लिइएको छ । 

जनमुक्ति मार्ग बिपी राजमार्गबाट मदन भण्डारी राजमार्गसँग जोडिन्छ भने बनेपाबाट सुरु भएको झुरझुरेसम्मको सडकले अरनिको राजमार्गबाट मदन भण्डारी राजमार्ग जोड्छ । यी दुवै मार्गको निर्माण सम्पन्न भएपछि डाँडापारीका नागरिकलाई सहरी क्षेत्रसँग पहुँच पु¥याउन सहज हुनेछ ।

सडक आयोजनाअन्तर्गत जनमुक्ति मार्गको पहिलो खण्ड तीनखुट्टे–देवीटार सडक, देवीटार–घर्तीछाप–गोकुले–ताल्ढुँगा–भोर्लेनी–झुरझुरे सडक, बिपी राजमार्गको पिन्थली–रजबास खण्ड र रजबास–देवीटार खण्ड रहेको छ । दुई सडकखण्डको निर्माण प्रारम्भ भएसँगै थप दुई खण्डको बोलपत्र गरिने बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । 

पक्की सडक निर्माण भएपछि स्थानीयस्तरमा उत्पादित खाद्यान्नलगायत सामग्रीलाई सहजरुपमा बजार पु¥याउन सकिनेछ भने नागरिक बिरामी हुँदा सुविधानसम्पन्न अस्पताल पु¥याउन सहज हुन्छ । स्थानीय सरकारको सक्रियता, प्रदेश र सङ्घ सरकारको समन्वयमा विकट पालिका सुगमतामा परिणत हुन थालेको बताइन्छ ।

महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा बजेट विनियोजनका हिसाबले महाभारतको विकासमा फड्को मार्न सकिने बताउँछन्। 'भौगोलिकता, निर्माण व्यवसायीको ढिलासुस्ती तथा अन्य विविध कारणले विनियोजन गरिएको बजेट खर्च हुन नसक्दा भने दुःख लाग्छ', उनले भने ।