close

शक्ति राष्ट्रहरू रुसविरुद्ध बोल्दै गर्दा किभमा दर्जनौँ क्षेप्यास्त्र प्रहार

शक्ति राष्ट्रहरू रुसविरुद्ध बोल्दै गर्दा किभमा दर्जनौँ क्षेप्यास्त्र प्रहार

Trulli
ADVERTISEMENT

रुसले युक्रेन लक्षित दर्जनौँ क्षेप्यास्त्र प्रहार गरेको छ । यो राजधानी किभमा महिनौँयता भएको सबैभन्दा ठूलो गोलाबारी हो ।

आक्रमणका कारण किभस्थित एक आवासीय भवन ध्वस्त भएको छ । घटनाका क्रममा कम्तीमा एक जनाको मृत्यु र एक सात वर्षीया बालिकासहित छ जना घाइते भएको बिबिसीले जनाएको छ ।

युक्रेनले आइतवार किभ क्षेत्रमा १४ वटा क्षेप्यास्त्र प्रहार भएको तर ती आक्रमण सहरी क्षेत्रभन्दा टाढा भएको बताएको छ ।

अर्को केन्द्रीय सहर चर्कसीमा भएको आक्रमणमा परी एक जनाको मृत्यु भयो । आक्रमणमा पर्ने अर्को सहरमा उत्तर-पूर्वी खार्किभ क्षेत्र समाविष्ट छ ।

विश्वका धनी राष्ट्रहरूको समूह 'जी सेभेन'का नेताहरूले युक्रेन युद्धलाई छलफलको शीर्ष विषय बनाएर दक्षिण जर्मनीको बाभेरियामा तीन दिन लामो शिखर सम्मेलन सुरु गरेपछि युक्रेनमा आक्रमणहरू भएका हुन् ।

सम्मेलनमा सहभागी नेताहरूले किएभलाई थप सैन्य सहयोग उपलब्ध गराउने र मस्कोमाथि थप प्रतिबन्ध लगाउने प्रतिबद्धता जनाउने अपेक्षा गरिएको छ ।

"हामी सँगै रहनुपर्छ," अमेरिकी राष्ट्रपति जो बाइडनले जर्मन चान्सलर ओलाफ स्कोल्जलाई शिखर सम्मेलन सुरु हुनुअघि भने ।

"रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सुरुदेखि कुनै न कुनै रूपमा नेटो र जी सेभेन विभाजित हुने अपेक्षा गर्दै आएका छन्, तर हामी त्यस्तो गर्ने पक्षमा छैनौँ । त्यसैले हामीले आक्रामकताको यो स्वरूपलाई अस्तित्वमा रहन दिन र त्यसलाई त्यतिकै रहन दिन सक्दैनौँ," राष्ट्रपति बाइडनले भने ।

तर बाभेरियामा भएको बैठकमा जी सेभेन नेताहरूको त्यस्ता विभाजनहरूको अन्त्य गर्न कटिबद्ध रहेको बताएका छन् । -बिबिसीबाट