close

‘वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरेपछि बास बस्नुपर्ने बाध्यता हट्यो’

‘वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरेपछि बास बस्नुपर्ने बाध्यता हट्यो’

Trulli
ADVERTISEMENT

आलिताल गाउँपालिका–१ का वडाध्यक्ष यज्ञबहादुर देउवा स्थानीयका लागि सबैभन्दा नजिकको सरकार प्रमुख हुन् । उनी नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट वडाध्यक्षमा निर्वाचित भएका हुन् । वडाध्यक्षको जिम्मेवारी सम्हालिरहँदा उनले आफू कृषकको सबैभन्दा नजिकको पहरेदारको रूपमा बुझेका छन् । कृषि क्षेत्रको विकासका लागि उनले विभिन्न योजना बनाएका छन् । विभिन्न कार्यक्रम बनाई कुनै लागु गरेका छन् भने कुनै कार्यन्वयनको लाइनमा छन् । देउवाले वडाध्यक्षको जिम्मेवारी सम्हालेका पनि १७ महिना पूरा भइसकेको छ । निर्वाचित भएयता वडाध्यक्ष देउवाले वडाको कृषि क्षेत्रमा गरेको कामको विषयमा पालिकाखबरकी पार्वती साउदले गरेको कुराकानी सम्पादित अंश :

तपाई निर्वाचित भएर जिम्मेवारी सम्हालेपछि आफूले सम्पादन गरेको कामका आधारमा कतिको सन्तुष्ट हुनुहुन्छ ?

मैले निर्वाचित भएयता गरेका काममा सन्तुष्ट नै छु । थुप्रै कामहरू भ्याएसम्म गरिरहेको छु । दिनरात जनताको सेवामा छु । वडामा बिजुली बत्ती पनि ६० प्रतिशत बलेको छ । खानेपानी, सिँचाई, स्वास्थ्यमा जागरूकताका साथ काम गर्दै आएको छु । माला गाउँ र घोगा गाउँमा पहिरो जोखिममा थियो । २४ परिवारलाई उद्धार गरेर एक महिना आधारभूत स्कुलमा राख्यौँ । जिल्ला विपद् व्यवस्थापन समितिबाट निर्णय गरी सिडिओ आफै गृह मन्त्रालयमा गएर उहाँहरूलाई अस्थायी टेन्टको व्यवस्था गरी अर्को गाउँमा राखेका छौँ । उहाँहरूलाई गाउँपालिकाबाट एक लाख खाद्यान्नको लागि छुट्याएका छौँ । 

सामाजिक सुरक्षा भत्ता बुझ्ने आमाबुवा, दाजुभाइ, एकल महिला दिदी बहिनीहरूले नबिल बैंक आलिताल ३०/३५ किलो मिटरको द"रीमा जानुहुन्थ्यो । त्यो भत्ता बुझेर फर्कँदासम्म कि गाडी नपाउने भत्ता लिन जाँदा २ दिन खर्चिनुपर्ने समस्या थियो । त्यो समस्या समाधान गर्नका लागि बैङ्कसँग छलफल गरेर कार्यपालिकाबाट निर्णय गर्‍यो । अहिले बैंकबाट त्रैमासिक रूपमा शनिबार वडामै आएर सामाजिक सुरक्षा भत्ता वितरण गर्न आउनुहुन्छ । सामाजिक सुरक्षा भत्ता बुझ्ने लाभग्राहीलाई एकदमै सहज भएको छ । 

तपाई स्थानीयको सबैभन्दा नजिकको सरकार प्रमुख हुनुहुन्छ । तपाईले कृषकका लागि के कस्ता कार्यक्रमलाई प्राथमिकता दिनु भएको छ ? 

कृषिका लागि २/३ वटा आलु पकेट क्षेत्र छुट्याइएको छ । तर त्यस ठाउँलाई पकेट क्षेत्र बनाउन सिँचाइको समस्या छ । डीआई जेट नामक संस्थाले गाउँपालिकाको सहकार्यमा सिँचाइको काम गर्दैछ । त्यो संस्थाबाट लिफ्ट खानेपानीको दुई वटा आयोजना तयार हुँदैछ । यसपालिको वडाको बजेटमा एक बस्ती एक उत्पादन कार्यक्रम राखेका छौँ । एउटा बस्तीलाई समेटेर त्यहाँको माटो ल्याबमा परीक्षण गरेर माटोमा कुन बाली फस्टाउँछ त्यही किसिमको बाली लगाउँछौ । अर्को वर्ष त्यसै गरेर अर्को बस्तीमा बाली गराउने भन्ने योजना छ।

अन्य के कस्ता कार्यक्रमहरू अगाडि सार्नुभएको छ ?

कृषकका माग अनुसारका सहयोग वडाबाट उपलब्ध गराउने गरेका छौँ । कृषिमा सहुलियत र अनुदानबाहेक बाख्राको लागि चरी चरन राम्रो छ । भेटरेनरीबाट बाख्रा पालनको २/३ वटा समूह बनाएका छौँ । अनि मौरी पालनको व्यावसायिक पकेट ठाउँ हो । यहाँ चिउरी व्यापक फल्छ । मौरीलाई चिउरी मन पर्ने भएकाले चिउरी खेतीतर्फ पनि कृषक आकर्षित गराउने कार्यक्रमहरू छन् । मौसमअनुसारको ताजा तरकारी उत्पादन गर्न कृषक लागेका छन् । 

कृषि उपजको बजारीकरणका लागि योजना के छ ?

स्थानीय गैरा बजार र गोगन पानी बजार यहाँका मुख्य बजार हुन् । जिल्लाको बजार यहाँबाट टाढा छ । सडक सञ्जाललाई विस्तार गरेपछि ट्याक्टरबाट तरकारी ढुवानी गरेर बजारीकरण गर्ने योजना छ ।

कृषिसम्बन्धी कार्यक्रमबाट किसानहरू कति खुसी हुनुहुन्छ?

कृषकका मागअनुसार जिल्ला र पालिकाको सहयोगमा बीउ विजन वितरण गर्ने गरेका छौँ । बालीमा लाग्ने विभिन्न किसिमका रोग नियन्त्रण गरेर कृषि प्राविधिक खटाएका छौँ । स्थानीय कृषकहरू खुसी नै हुनुहुन्छ ।