close

'बाख्रा व्यवसायी पकेट कार्यक्रम'मा भ्रष्टाचार, बोदेबर्साइनका नगरप्रमुख सिंहसहित ८ जना विरुद्ध मुद्दा दायर

'बाख्रा व्यवसायी पकेट कार्यक्रम'मा भ्रष्टाचार, बोदेबर्साइनका नगरप्रमुख सिंहसहित ८ जना विरुद्ध मुद्दा दायर

Trulli
ADVERTISEMENT

सप्तरी - बोदेबर्साइन नगरपालिकाका नगरप्रमुख आतेश कुमार सिंह विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार नगरप्रमुख सिंहसहित ८ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । 

आर्थिक वर्ष २०७७/०७८मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत 'बाख्रा व्यवसायी पकेट' कार्यक्रमका लागि बजेट विनियोजित रकममा झुठो बिल बनाई भ्रष्टाचार गरेको भन्ने उजुरीको निवेदनमा अनुसन्धान गरी आयोगले मुद्दा दायर गरेको हो । नगरपालिकाले माँ जगदम्बा कृषक समूहसँग सम्झौता गरी वडा नं. ६ फुलकाहीमा कार्यक्रम संचालन गरेको भन्ने झुट्टा बिल बनाएर भ्रष्टाचार गरेको आयोगको प्रवक्ता भोला दाहालले जानकारी दिए। 

नगरपालिकाका नगरप्रमुख सिंह, निमित्त प्रमुख कार्यकारी अधिकृतसहित नगरपालिकाका ३ जना कर्मचारी र एकजना पूर्ववडाअध्यक्षसहित ३ जना जनप्रतिनिधिविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको उनले जानकारी दिए । 

नगरपालिका पशु विकास अधिकृत अर्जुन प्रसाद यादवले सो परियोजनाअन्तर्गत 'बाख्रा व्यवसायी पकेट कार्यक्रम'को संयोजकको जिम्मेवारीमा रहेर कार्यक्रमको लागत अनुमान तयार गरी सम्झौता गरेको, झुठ्ठा बिल भरपाई बनाउने कार्यमा संलग्न रहेको, स्थलगत अनुगमन र योजनाको स्थिति राम्रो रहेको भनी गलत प्रतिवेदन पेश गरेको, कार्यक्रम नै संचालन नभएको भन्ने जानकारी हुँदासमेत सम्पन्न भएको भनी टिप्पणी आदेश तयार एवं निर्णयार्थ पेश गरी १४ लाख ७१ हजार ९२१ रुपैयाँ स्वीकृत गरेको जनाइएको छ । 
 
माँ जगदम्बा कृषक समूहको खातामा भुक्तानी दिएको देखिँदा  यादवलाई  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) बमोजिमको कसुर सो रकम कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगोसमेत असुलउपर हुन दावी गरिएको छ । उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुर भएकोले निजलाई सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिवाना समेतको सजाय हुन माग दावी  गरिएको छ । 

आयोगले माँ जगदम्बा कृषक समुहका अध्यक्ष राधेश्याम कुमार साह र कोषाध्यक्ष निलम कुमारी शर्माविरुद्ध पनि मुद्दा दायर गरेको छ ।