close

सुत्केरी बिदा बस्दा नगर प्रहरी प्रमुखबाट हटाइएका कार्कीको बकपत्र

सुत्केरी बिदा बस्दा नगर प्रहरी प्रमुखबाट हटाइएका कार्कीको बकपत्र

Trulli
ADVERTISEMENT

सोलुखुम्बु– ५२ दिनकी सुत्केरी दिला कार्कीलाई सोलु दूधकुण्ड नगरपालिकाकी उपप्रमुख गान्धीमाया तामाङले घरमै भेट्न आएपछि  प्रफुल्लित भइन् । नगरपालिकाकी प्रहरी प्रमुख कार्कीलाई उपमेयर तामाङ गत वर्षको असोज ३ गते घरमै भेट्न पुगेकी थिइन् । भेटेपछि काममा फर्किन आग्रह पनि गरिन् । त्यसपछि कार्कीले असोज ६ गतेदेखि नगर प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिन् । साउन २ गतेदेखि सुत्केरी बिदामा बसेकी उनले ५६ दिनमै जिम्मेवारी सम्हाल्न थालिन् । 

जिम्मेवारी सम्हालेकाे केही दिनपछि अर्थात् असोज २८ गतेसम्म काम गरेपछि मात्र उनलाई नगरपालिकाले आफूमाथि अन्याय गरेको थाहा पाइन् । नगर प्रहरी प्रमुखमा कार्यरत कार्कीले सुत्केरी बिदामा बसेकै बेला नगरपालिकाले हटाउने खेल सुरु गरेको गुनासो गरिन् । उनी २०७४ देखि नगरपालिका  नगर प्रहरी प्रमुख अर्थात् असई पदमा कार्यरत थिइन् ।

आफू खुला प्रतिस्पर्धाबाट नियुक्त भई नगर प्रहरीको असई पदमा २०७९ असोजसम्म काम गरेको उनले बताइन् । गत वर्षको साउनमा सुत्केरी बिदा लिनुपर्ने भएपछि चिकित्सकको सुझाव र नगरपालिकाबाट बिदा स्वीकृत गरेर बिदा बसेको उनले सुनाइन् । ‘हस्पिटलले नै अब बिदा दिनु भनेपछि साउन २ गतेदेखि बिदा लिएर बसेँ,’ उनले भनिन् ।  

पालिकाकी पूर्वनगर प्रहरी प्रमुख कार्कीका साथै अर्का नगर प्रहरी यामकुमारी बस्नेत पनि सोही अवधिमै सुत्केरी बिदामा बसेकी थिइन् । बस्नेत साउन १५ गते सुत्केरी भएको उनले जानकारी दिइन् । तत्कालीन नगर प्रहरी प्रमुख कार्कीकाअनुसार २०७९ असार मसान्तसम्मको मात्र उनीहरूको नियुक्ति थियो । सुत्केरी हुने बेला भएकोले आफ्नो करार नवीकरणलाई भन्दा स्वास्थ्यलाई प्राथमिकता राखिन् ।

उनले नयाँ नियुक्तिका काम नगरी बिदामा बसेकी थिइन् । काम गरेको लामो समय भएको र हरेक ६/६ महिनाको नवीकरण हुँदै आएकोले उनी विश्वस्त थिइन् । तर नगरपालिकाले ५६ दिनमा हाजिर हुन निर्देशन गरेर काममा फर्किएका उनले नवीकरणको कागजसमेत पाएकी थिएनन् । असोज २८ गते अर्थात् नियुक्ति पत्रको समयावधि सकिनै लागेको बेलामात्र उनले करार नवीकरणमै अन्याय भएको थाहा पाएकाे उनले पालिकाखबरलाई बताइन् । 

पीडित कार्कीका अनुसार ड्युटीमै रहेका सबैको ६ महिनाको लागि करार अवधि नवीकरण भएको थियो तर सुत्केरी बिदामा बसेका कार्की र बस्नेतको भने असोजसम्मको मात्र करारनामा थियो । ‘बाँकी सुत्केरी बिदा चाहिएको बेलामा लिनु भन्दै ड्युटीमा बोलाइयो र काम लगाइयो र यो सब हटाउने खेल रहेछ,’ उनले भनिन् ।

उनीहरू काममा फर्किँदा  नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतसमेत परिवर्तन भइसकेको थियो । उनीहरूलाई तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम अधिकारीले नियुक्ति दिए पनि सुत्केरी बिदापछि काममा फर्किँदा प्रमुख प्रशासकीय अधिकृत कोपिला राई थिइन् । 

उनीहरूले प्रमुख प्रशासकीय अधिकृत राईलाई नवीकरणका लागि आग्रह गरिन् । आफूलाई हटाउँदा स्पष्टीकरण नसोधिएका गुनासो गरिन् । हटाउनुको कारण पनि कसैबाट नपाएको उनको भनाइ छ । कार्कीकाअनुसार प्रमुख प्रशासकीय अधिकृत कोपिलालाई नयाँ नियुक्ति पत्र लागि आग्रह गर्दा नगरप्रमुख नभएको भन्दै टारेकी थिइन् । पछि नगरप्रमुख नाम्गेल जाङबु शेर्पा नगरपालिकामा आउँदा प्रमुख प्रशासकीय अधिकृत पालिकामा थिएनन् ।

उपमेयर गान्धीमाया तामाङलाई भेटेर समस्याबारे कुरा गर्दा ‘काममा गर्दै गर्नु नियुक्ति हुन्छ’ भनेर आश्वासन दिएका थिए तर कार्यालयमा जाँदा योजना शाखाका शाखा अधिकृत रामकुमार खड्काले हाजिर गर्नै नदिएपछि कारणै नबुझी जागिरबाट हात धुनुपरेको उनको दु:खेसो छ । उपमेयरको आश्वासनका कारण कार्कीले कातिक १ गतेसम्म हाजिर गरेको हाजिरी तथ्याङ्कमा देखिन्छ । ‘पालिकामा बस्ने केही आधार नभएपछि प्रमाणपत्र र त्यहाँ काम गरेको अनुभव पत्र लिएर हामी निस्कियौँ,’ उनले पालिकाखबरसँग भनिन् ।

त्यसपछि उनले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अधिकारीलाई समेत फोन गरेर किन नियुक्ति नवीकरणमा अन्याय गरी हाम्रो ३ महिनाको मात्र गर्नुभयो भनी सोध्दा ‘म कर्मचारी हुँ । म जान्दिनँ सबै कुरा अह्राएको गरेँ भनेर टारेको उनको  गुनासो छ । त्यसपछि आफू अन्यायमा परेको भन्दै योजना शाखाका शाखा अधिकृत रामकुमार खड्कालाई उनले भेट्दा खडकाले त्यत्तिकै टारेका थिए । तर आफू सुत्केरी भएकै कारण किन जागिरबाट निकालियो थाहा नभएको उनको गुनासो छ ।

राजनीतिक पार्टी नमिलेपछि जागिरबाट बर्खास्त

 मेयर र उपमेयरको पार्टीको सदस्य नभएकै कारण जागिरबाट निकालिएको तत्कालीन नगरप्रहरी प्रमुख दिला कार्कीले दाबी गरिन् । साथै असोज महिनाको तलब पनि समयमा नपाएको उनले गुनासो गरिन् । लिखित र मौखिक थरी २/३  पटक फोन गरेर मागेपछि मात्र कामबाट निकालिएको करिब पाँच महिनापछि तलब पाएको उनले बताइन् । 

न्यायिक समितिको न्याय सम्पादनमा काम गरेबापत नगर प्रहरीले ओभर टाइमको सेवा सुविधा पाउने व्यवस्था भए पनि हालसम्म नपाएको उनले बताइन् । कार्की र बस्नेतलाई नगर प्रहरीबाट हटाउँदा पालिकामा ६ जना नगर प्रहरी बाँकी थिए । उनीहरू हालसम्म कार्यरत छन् ।नगरपालिकाबाट हटाइएका २ जनाको नियुक्ति पत्रमा भने सुत्केरी बिदा ९८ दिननै उल्लेख छ । साथै उनीहरूभन्दा अघि करारकै मलिशोभा राई र पासाङल्हमु तामाङ साथै उनीहरूभन्दा पछि भविसरा बुढाले ९८ दिननै बिदा पाएको कार्कीको दाबी छ । 

सो घटनाको विषयमा जानकारी लिन नगरपालिकाकी उपप्रमुख गान्धीमाया तामाङसँग बुझ्न पालिकाखबरले टेलिफोन सम्पर्क गर्दा उनले गैह्र जिम्मेवार उत्तर दिँदै भनिन्, ‘प्रमुख प्रशासकीय अधिकृत जानुभएको एक वर्ष भइसक्यो । यो विषयमा उहाँसँग नै कुरा गर्नुस् ।’

पालिकाखबरले करारका कर्मचारी निकालिएकोबारे प्रश्न गर्दा प्रतिप्रश्न गर्दै उनले भनिन्, ‘उहाँहरूको गुनासो तपाईहरुलाई कहिले आयो? कुन मितिमा आयो ?’ 

पालिकाखबरले करारका कर्मचारीलाई बिना जानकारी किन हटाउनुभयो ? भनेर प्रश्न गर्दा नगरपालिकाका नगरप्रमुख नाम्गेल जाङबु शेर्पाले एक वर्ष अघिदेखि नै कार्यसम्पादनबारे जानकारी गराएको दाबी गरे । तत्कालीन नगरप्रहरी प्रमुख कार्कीको कार्यसम्पादन चित्त बुझ्दो नभएकोले करार अवधि थप नगरिएको उनले बताए ।

‘कार्यसम्पादन राम्रो नभएकाले पहिल्यै उहाँलाई हटाउने कुरा उठेको थियो । नगरप्रहरीबीच झगडा हुने, कमाण्ड पनि भएन ।’ तर पनि कार्कीले 'कार्यशैली सुर्धाछु' भनेकाले एक वर्षको अवधि थप गरिदिएको नगरप्रमुख शेर्पाले दाबी गरे ।