close

पालिकास्तरीय अस्पताल निर्माणको काम अलपत्र

पालिकास्तरीय अस्पताल निर्माणको काम अलपत्र

Trulli
ADVERTISEMENT

म्याग्दी- मङ्गला गाउँपालिका–५ हाँडेभिरमा निर्माणाधीन पालिकास्तरीय अस्पतालको भवन अलपत्र बनेको छ । 

सङ्घीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजनाअनुसार विसं २०७७ पुसमा मङ्गलाको केन्द्र बाबियाचौरसँगै रहेको हाँडेभिरमा भवन शिलान्यास भएको थियो ।

प्रारम्भिक चरणको काम सुरु भएको भवन निर्माण दुई वर्षदेखि रोकिएको मङ्गला गाउँपालिका–५ का वडाध्यक्ष भूपेन्द्र खत्रीले बताए । “निर्माण सकिनुपर्ने समयसम्म दश प्रतिशत पनि भौतिक प्रगति भएको छैन,” उनले भने, “डिपिसी गरेर ठडाएको पिलर लेउ लागेको छ । ठेकेदार काममा फर्किएका छैनन् ।”

भवन निर्माणका लागि ओमबुद्ध इन्टरनेसनल कन्स्ट्रक्सन काठमाडौँसँग २०७८ साल असारमा नौ करोड ११ लाखमा ठेक्का सम्झौता गरिएको थियो । भवनको कूल १२ करोड ९७ लाखको लागत अनुमान गरिएको थियो । २०८० साल असार महिनासम्म भवन निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । ३५ वटा कोठा हुने भवनको विसं २०७७ पुस १५ गते गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले शिलान्यास गरेका थिए । १० शय्या क्षमताको अस्पतालका लागि एक हजार १२४ दशमलव ६४ वर्गमिटर क्षेत्रफलमा दुई भवन निर्माण थालिएको थियो । 

आकस्मिक, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण, उपचारका लागि छुट्टाछुट्टै कक्षसहितको भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गतामैत्री भवन बनाउन लागिएको थियो । निर्माणाधीन भवन गत महिना पोक–नेटा–अर्मन सडकबाट आएको पहिरोले पुरिएको छ । 

मङ्गला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवकुमार पौडेलले पटक पटक ताकेता गर्दा पनि निर्माण कम्पनी काममा नफर्किएको बताए । कार्यपालिकाले साउनमा नौ महिनाको म्याद थप गरेको थियो । भवन निर्माणलाई निरन्तरता नदिएकाले धरौटी जफत, ठेक्का तोड्ने र कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको प्रशासकीय अधिकृत पौडेलले बताए । 

धवलागिरि गाउँपालिकाको ताकममा निर्माणाधीन पाँच शय्या क्षमताको अस्पताल भवन पनि अलपत्र बनेको छ । अन्नपूर्ण गाउँपालिका–१ दोबामा करिब पाँच करोड लगानीमा निर्माण भएको पाँच शय्या क्षमताको अस्पताल भवन प्रयोगमा आएको छैन ।