close

चंखेलीमा कर्मचारीमाथि विभेद : दशैँमा स्थायीलाई तलब, करारको हात रित्तै

चंखेलीमा कर्मचारीमाथि विभेद : दशैँमा स्थायीलाई तलब, करारको हात रित्तै

Trulli
ADVERTISEMENT

हुम्ला - चंखेली गाउँपालिकाको करार सेवाका कर्मचारीले अझै पारिश्रमिक पाउन सकेका छैनन् । दशैँ सकिन लाग्दा पनि पालिकाको आन्तरिक स्रोतका कर्मचारीले पारिश्रमिक पाउन नसकेका हुन् । 

गाउँपालिकाको शिक्षा अधिकृत पराम पाण्डेका अनुसार पालिकाको आर्थिक मिलान हुन नसकेकाले कर्मचारीको तलब रोकिएको हो । उनले करार कर्मचारीसँगै अन्यले पनि दुई महिनाको तलब नपाएको बताए । 

गाउँपालिकाले गत आर्थिक वर्ष २०७९/०८० को  लेखा शाखाबाट हिसाब मिलान हुन नसकेकाले  कोष तथा लेखा नियन्त्रण कार्यालयले तलब निकासा नगरेको उनले पालिकाखबरलाई बताए । गत असारमा गाउँपालिकाकाको लेखा कर्मचारी र प्रमुख प्रशासकीय अधिकृत निलम्बनमा परेको उनको भनाइ छ । हाल गाउँपालिकामा काजमा लेखा कर्मचारीले काम गर्दै आएका छन् भने नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भइसकेको उनले सुनाए ।

उनका अनुसार गाउँपालिकामा चार वटा इसिडिसहित २६ वटा सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन् । ती विद्यालयमा ३४ जना करार शिक्षक कार्यरत रहेको उनले सुनाए । 'असोज २८ गतेसम्म शिक्षकले तलब पाउने आशामा काम गर्दै आउनु भएको थियो । तर आएन,' उनले भने, 'सबै शिक्षकलाई दुई महिनाको मात्र पारिश्रमिक दिने तयारी गरिरहेको बेला कोष तथा लेखा नियन्त्रण कार्यालयलाई जानकारी गराउँदै हाल निकासा आएकै बजेटबाट पहिलो चौमासिक पारिश्रमिक  खुवाउनुपर्ने बताएपछि अन्य शिक्षकले तलब पाएका हुन् ।'

तलब नपाएपछि विद्यालयको पठनपाठनमासमेत समस्या आएको उनको भनाइ छ । तर गाउँपालिकाले मंसिर पहिलो सातासम्म विद्यालयमा बिदा नदिएकोले खासै असर नपर्ने उनले सुनाए । तलबको लागि आफूहरू पहल गर्दै आएकाले तिहार अगाडि नै पारिश्रमिक आउने उनले आशंका व्यक्त गरे ।