close

कृषि उत्पादन खरिदको जिम्मा लिएका छौँ 

कृषि उत्पादन खरिदको जिम्मा लिएका छौँ 

Trulli
ADVERTISEMENT

हरिकुमार राना
नगरप्रमुख, अर्जुनधारा नगरपालिका, झापा 

 

स्थानीय सरकारमा हामी आएको चार वर्ष पूरा भएको छ । यो अवधिमा हामीले अर्जुनधारा नगरपालिकामा थुप्रै काम गर्‍यौँ । हामी आउनुअघि नगरपालिकाभित्र पहिरो जाने ठाउँमा बस्ती थियो । बस्तीलाई पहिरो जाने ठाउँबाट सुरक्षित स्थानमा सार्‍यौँ। नगरमा शुद्ध पानी थिएन, लेदो सहितको पानी खानुपर्ने बाध्यता थियो । लेदो हटाएर शुद्ध पिउने पानी वितरण गरेका छौँ ।


अजुर्नधारा कृषिमा निर्भर छ । यहाँको उत्पादन बजार पुर्‍याउन पुल नभएर समस्या थियो । अहिलेसम्मको अवधिमा हामीले ११६ वटा पुल निर्माण गरिसकेका छौँ । २२५ किमि सडक ग्राभेल गरेका छौँ । करिब ८ किमि कालोपत्रे गरेका छौँ । प्रशासनिक काम गर्न जम्मा ३ वटा भवन थिए । अहिले सबै वडा कार्यालयको भवन निर्माण गरिसकेका छाँै । ११ वटा वडामा स्वास्थ्य सेवाको पहुँच पुगिसकेको छ । 


हामीले कृषि क्षेत्रलाई उत्पादनका हिसाबले पकेट क्षेत्र बनाएर अनुदान दिएका छौँ । दुधमा पानी नहाली शुद्ध पाइने बनाएका छौँ । किसानको दूध आफैं किनेर उद्योगसम्म पुर्‍याइदिने गरेका छौँ । पर्यटनको प्रचुर सम्भावना भएको ठाउँ भएकाले त्यसलाई व्यवस्थित गरेका छौँ । पुरानो शनिश्चरे बजालाई आधुनिक बनाउदै छौँ । 


यस वर्षको बजेट अन्तिम भएकाले यसमा पुरानै कार्यक्रमको पनि निरन्तरता छ । केही कार्यक्रम नयाँ पनि थपेका छौँ । उज्यालो नगर सुरक्षित नगर, नानीसँग ज्ञानी कार्यक्रमलगायत योजना समेटेका छौँ । हाम्रोमा बर्खाको समय खोलाले दुःख दिने भएकाले तटबन्धको कामलाई पनि प्राथमिकता दिएका छौँ । 


अहिलेसम्म हामीले करिब १० वटाजति कानुन निर्माण गरेका छौँ । संघ र प्रदेशले बनाएपछि मात्रै हामीलाई बनाउन सहज हुन्छ । कतिपय हामीले बनाएका कानुन अमान्य भएका छन् । यो अवधिमा हामीले धेरै काम गर्छौं भन्दा भन्दै पनि सकिएन । खोलानाला नियन्त्रण गर्न सकिएन । नगरभित्र धार्मिक, पर्यटकीय स्थल अथाह भएकाले झापा र इलामको सीमामा बुद्धको प्रतिमा बनाउन सकिएन । शिक्षा र कृषिमा उल्लेखनीय सुधार गर्न सकिएन ।

 

यस बीचमा हामीलाई कोभिडले पनि धेरै समस्या गर्‍यो  । यसको नियन्त्रणमा हाम्रो धेरै समय र स्रोत खर्च गरेका छौँ । कोरोनाको सुरु संघको निर्देशनअनुसार निषेधाज्ञा गर्‍यौँ   । बाहिरबाट आउने मानिसलाई क्वारेन्टाइनमा राख्यौँ । पहिलो लहरमा मुख्य गरेर भारतबाट आउने धेरैलाई क्वारेन्टाइनमा राखेका थियौँ । उनीहरूलाई संगीतमय वातावरणमा राख्यौँ, योगा गरायौँ ।

 

संक्रमित भएकालाई राख्न आइसोलेसन निर्माण गर्‍यौँ  । कन्ट्याक्ट ट्रेसिङलगायतका कामलाई निरन्तरता दिइरहेका छौँ । ३० बेडको आइसोलेसन निर्माण गर्‍यौँ   । यसमा दाताबाट धेरै सहयोग भयो । स्थानीय अन्य अस्पतालमा समन्वय गरेर उपचार गरायौँ । प्रदेशले हामीलाई कोभिडसँग लड्ने सामग्री दिएको थियो । संघले भ्याक्सिन उपलब्ध गराएको छ । 


बजेट आफ्नै स्रोतबाट व्यवस्थापन गर्‍यौँ  । सुरुमा हामीले बजेट छुट्याएको थिएन । त्यसैले विपद् कोषको र केही रकम रकमान्तर गरेर कोरोना नियन्त्रणमा खर्च गर्‍यौँ  । तर, पहिलो लहरबाट पाठ सिक्दै दोस्रो लहरमा हामीले कोभिडका लागि छुट्टै बजेट छुट्यायौँ । संक्रमितको हेरचाह र स्वाब संकलन जाँचका लागि स्वास्थ्य संस्थामा भएका डाक्टर, नर्सलाई परिचालित गर्‍यौँ  ।