close

नगरको फोहोरलाई मोहर बनाउन विद्युत् निकाल्दै छौँ 

नगरको फोहोरलाई मोहर बनाउन विद्युत् निकाल्दै छौँ 

Trulli
ADVERTISEMENT

बलदेव चौधरी, नगरप्रमुख
त्रियुगा नगरपालिका, उदयपुर


कोभिडको सुरुआती चरणमा सबैतिर त्रास बढेपछि हामी पनि त्रसित भयौँ । त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्केमा रहेको मस्जिदमा बसेका १२ जनामा एकै पटक कोरोना संक्रमण देखियो । त्यतिबेला सबैमा डरत्रास बढ्यो । हामी पनि अत्तालियौँ । गम्भीर भयौँ र समिति बनाएर बैठक बस्यौँ । गाउँलाई पहिलो चरणमा सिल गर्‍यौँ  । गाउँको सूचना आदान–प्रदानका लागि संयन्त्र बनायौँ । हामीले करिब ३ सय ५० घर धुरीको कोराना परीक्षण गर्‍यौँ  । परीक्षण गरिएमध्ये जम्मा ३३ जना संक्रमित भेटिए । त्यसपछि २५ सय घरधुरीमा पूरै परिक्षण गर्‍यौँ  । त्यसबेला परीक्षण सहज थिएन । हामीले सेनाको हेलिकोप्टरमार्फत काठमाडौँसम्म स्वाब पठाएर परीक्षण गर्‍यौँ ।


संक्रमितलाई विराटनगर कोभिड अस्पताल पठायौँ । लगत्तै २ सय बेडको आइसोलेसन बनायौँ । संक्रमित र क्वारेन्टाइनमा राखिएका मानिसका लागि खाना घरघरमै पुर्‍यायौँ । बारीको उत्पादनलाई पनि खाने वातावरण मिलाइदियौँ । पहिलो लहरमा जस्तो तनाव दोस्रो लहरमा भोग्नुपरेन । कोभिड अस्पताल तयारी अवस्थामा थियो । हामीले परीक्षण र कन्ट्याक्ट टे«सिङलाई निरन्तरता दियौँ । १६ वटा वडामा अक्सिजनसहितको स्वास्थ्य सेवा पुर्‍यायौँ । त्यसले हामीले दोस्रो लहर पनि नियन्त्रण गर्‍यौँ ।

 

संघ र प्रदेशको समन्वय जिल्लाबाट परिचालन भएको थियो । संघको केही पनि सहयोग रहेन । हामीले उदयपुर विकास बोर्ड, चार गाउँपालिका, चार नगरपालिका गरेर संयन्त्र बनायौँ । गाउँपालिकाले ११ लाख र नगरपालिकाले १५ लाख रुपैयाँ उठाएर हामीले सयुक्त अस्पताल बनायौँ । संक्रमितको उपचारलगायत जनशक्तिको खर्च पनि हामीले सबै मिलेर बेहोर्‍यौँ  । 


संघले ल्याएको बजेट स्थानीय सरकारको विकासका लागि उपयुक्त छैन । हामीलाई आउने अनुदानको रकम अघिल्लो वर्षको पनि आएको छैन । दुई वर्ष कोरोनाले झनै समस्यामा पार्‍यो  । चार वर्षमा हामीले ३ सय वटा बाटोको नयाँ ट्रयाक खोल्यौँ । वडा कार्यालय पुग्ने बाटा ग्राभेल गर्‍यौँ  । कृषि बजारलाई व्यवस्थापन गर्‍यौँ । नगरलाई उज्यालो नगर बनायौँ । बसपार्क, क्रिकेट मैदान निर्माण भएको छ । गाईघाटको सौन्दर्यीकरण, वडाकार्यलय भवन निर्माणलगायत काम सकिइसकेका छौँ ।

 

नगरपालिकामा उत्पादित फोहोरबाट हामीले १० मेगावाटको विद्युत् निकाल्ने  तयारी पूरा गरिसकेका छौँ । बाँच्न पाउने हक संविधानले दिएकाले हामीले आफैले खोप किनेर नगरबासीलाई लगाउन तयारी गर्‍यौँ  । तीन वटा पालिका मिलेर ३२ करोड रुपैयाँसमेत खोपका लागि छु्ट्याइयो । तर, हामीलाई संघले स्विकृति दिएन । यस बर्षको बजेटमा पनि हामीले स्वास्थ्य र कृषिलाई जोड दिएका छौँ । किसानलाई कृषि औजार, मल, बिउबिजनलगायत सामग्री दिने कार्यक्रम राखेका छौँ । सिँचाइका लागि ३२ वटा कुलो निर्माण गरेका छौँ । ५ सय वटा बोरिङ गाडेका छौँ । शिक्षालाई प्राविधिक र अंग्रेजी माध्यम बनाउन जोड दिएका छौँ । घरघरमा खाना पकाउन धुँवारहित चुलोको कार्यक्रम राखेका छौँ । 


हामीले सोचेका केही काम यो कार्यकालमा पूरा गर्न सकेका छैनौँ । केबलकार सञ्चालन गर्न कम्पनी कार्यालयमा दर्तासमेत गरे पनि संघीय सरकारले स्वीकृति दिएन । स्थानीय तहले पाउँदैन भनेर रोक्यो । यस्तै, सुनकोसी नदीमा र्‍याफ्टिङ सञ्चालन गर्ने योजना राखे पनि पूरा गर्न सकिएन । एयरपोर्ट र मेडिकल कलेजको पनि योजना थियो । त्यो पनि हामीले सकेनौँ ।