close

तीन वटै सरकारको हुनुपर्छ महामारी नियन्त्रण अभिभारा

तीन वटै सरकारको हुनुपर्छ महामारी नियन्त्रण अभिभारा

Trulli
ADVERTISEMENT

चित्रबहादुर कार्की
नगरप्रमुख, सैनामैना नगरपालिका, रूपन्देही

 

कोरोना महामारी सुरु हुँदै हामीले जनचेतना फैलायौँ । राजनीतिक दल, संस्थागत संगठनलाई परिचालन गर्‍यौँ । नाका सिल गर्‍यौँ । संक्रमण रोक्न सुरुमा नगरस्तरीय क्वारेन्टाइन बनायौँ । तर, बाहिरबाट आउने मान्छे धेरै भएकाले त्यसले थेग्न सकेन । त्यसपछि हामीले वडास्तरीय क्वारेन्टाइन बनायौँ । क्वारेन्टाइनमा खाना घरपरिवारले नै खुवाउन मिल्ने गरी सुविधा दियौँ । नगरमा हामीले ३० बेडको कोभिड अस्पताल निर्माण गर्‍यौँ । यसका लागि हामीलाई प्रदेशबाट र संघबाट सहयोग भएको थियो । 


दोस्रो लहरमा हामीलाई धेरै सहज भयो । क्वारेन्टाइन पुनर्निर्माण गर्नुपरेन । आइसोलेसन पुरानै थिए । होम आइसोलेसन बस्न सहज हुनेलाई त्यो सुविधा पनि थियो । दोस्रो लहरमा निर्माणका काम रोकेनौँ । निरन्तर गरिरह्यौँ, जसले हामीलाई खाद्य संकट भएन । कोभिडले हरेक स्थानीय तहले आफ्नो स्वास्थ्य क्षेत्रलाई सबलीकरण नगर्ने हो भने ठूलो समस्या भोग्नुपर्ने रहेछ भन्ने पाठ सिकायो । त्यसैले हामीले ५० बेडको अस्पताल बनायौँ । यसमा अहिले विशेषज्ञता सेवा उपलब्ध गराउन सकेका छैनौँ ।

 

हामीसँग स्रोत–साधन तयारी अवस्थामा रहेकाले कोभिडको अर्को लहर आए पनि यसलाई नियन्त्रण गर्न सक्ने अवस्थामा छौँ । खासमा ठूलो महामारी अहिलेको संविधानअनुसार केन्द्र सरकारको जिम्मेवारीमा पर्छ । तर, हाम्रो अनुभवले यो स्थानीय तहसँगको साझा अधिकार र कर्तव्यमा राख्नुपर्ने रहेछ भन्ने देखियो । दायित्वसँगै बजेट पनि स्थानीय सरकारलाई दिनुपर्छ । पहिलो लहरमा प्रदेशले केही सहयोग गरेको थियो । तर, दोस्रो लहरमा संघ र प्रदेशको खास ठूलो सहयोग केही पनि भएन । हामीले आफैं बजेट छुट्यायौँ ।


हामीलाई संघीय सरकारले सूत्रअनुसार बजेट दिने हो । त्यही सूत्रअनुसार हामीले पाएका छौँ । कार्यकालको चार वर्षमा केही महत्त्वपूर्ण काम गरेका छौँ । जनशक्तिसहितको आधारभूत स्वास्थ्य चौकी निर्माण गरेका छौँ । नगरमा सबै कामलाई डिजिटलाइजेसन गर्न थालेका छौँ । कानुनका क्षेत्रमा ऐन, नियम र कार्यविधि गरेर ४८ वटा कानुन निर्माण भएका छन् । कृषि क्षेत्रमा खण्डीकरणमा रोक लगाएका छौँ । कृषिलाई यान्त्रिकीकरण गरेका छौँ । कृषकको उत्पादनलाई भण्डारण गर्न कोल्ड स्टोर स्थापना गरेका छौँ । युवा स्वरोजगार कार्यक्रमअन्तर्गत १८ महिने र ३० महिने तालिम राखेका छौँ । बेरोजगार युवालाई अनुदान दिएर रोजगारमा लगाउने कार्यक्रम सञ्चालन गरेका छौँ । शिक्षाको गुणस्तरमा धेरै सुधार भएको छ । संस्थागत विद्यालयबाट २१ सय विद्यार्थीलाई सामुदायिक विद्यालयमा ल्याउन सफल भएका छौँ । 


स्वास्थ्य क्षेत्रमा ५० शय्याको अस्पताल निर्माण गर्न सफल भएका छौँ । सामुदायिक बनमा २५ कि. मि. तारबार गरेर संरक्षण गरेका छौँ । पूर्वाधारमा सैनामैना चक्रपथको ६० प्रतिशत काम गरिसकेका छौँ । जम्मा ५३ किमि सडकमा २२ किमि कालोपत्रे भइसकेको छ । यस्तै, यो वर्षको बजेटमा पनि पुराना योजना सकाउने लक्ष्य राखेका छौँ । स्वास्थ्यलाई प्राथमिकतामा राखेका छौँ । 


सामुदायिक विद्यालयलाई पहिलो रोजाइ बनाउने योजनाअनुसार एक शिक्षक एक ल्यापटप कार्यक्रम राखेका छौँ । स्मार्ट सिटी बनाउनेलगायत कुरा समेटिएका छन् । प्रदेशको सहयोगमा पेट्रोल पम्प, विद्युत् स्टेसन र २ अर्ब रुपैयाँको स्मार्ट सिटी कार्यक्रम पनि सञ्चालन हुन लागेका छन् । मेरै विशेष पहलमा सैनामैना संग्रहालय निर्माण योजना बनेको छ । नगरमा अव्यवस्थित बसोबासी र भूमिहीन परिवारलाई धनीपुर्जा वितरण गर्न सकेका छैनौँ । यो अवधिमा महिला विद्यालय निर्माण गर्ने योजना राखे पनि पूरा गर्न सकेनौँ ।