close

संघीयताको पद्धति बसाल्न सफल भयौँ

संघीयताको पद्धति बसाल्न सफल भयौँ

Trulli
ADVERTISEMENT

भीम न्यौपाने, नगरप्रमुख

पनौती नगरपालिका, काभ्रेपलाञ्चोक 

 

पहिलो चरणको कोरोना महामारी सुरु हुँदा एकदमै आत्तिएका थियौँ । अवस्था एकै पटक भयावह बन्यो । हाम्रा लागि सबैभन्दा ठूलो चुनौति विदेशबाट आउने थिए । पहिलो पटक विदेशबाट ल्याएका नाागरिकलाई संघीय सरकारले व्यवस्थापन गरे पनि त्यसपछि आफ्नै स्थानिय तहमा पठाइदिएको थियो । हामी डराएका अवश्य थियौँ तर बाहिरबाट आएकालाई राख्न क्वारेन्टाइन तयार गर्‍यौँ । यो अवधिमा हामीले ५ सय ७१ जनालाई क्वारेन्टाइनमा राखेर लक्षण हेरेर घर पठायौँ । पहिलो लहरमा नगरमा दुई जनाको मृत्यु भएको थियो । हामीले लकडाउनले असर परेका विपन्नलाई खाद्यान्न वितरण गर्‍यौँ । 


दोस्रो लहरमा नगरभित्र ३० बेडको आइसोलेसन यथावत थियो । धेरै होम आइसोलेसनमै बसे । बिरामी हेर्न टास्क फोर्स बनायौँ । टास्क फोर्सले प्रत्येक बिरामीको हेरचाह गथ्र्यो । दैनिक स्वाब संकलन र परीक्षण निरन्तर गरायौँ । तर, दोस्रो लहर हाम्रा लागि दुखद भयो । नगरमा २० जनाले ज्यान गुमाए ।  तेस्रो लहरले बच्चालाई असर गर्ने सुनेकाले त्यसका लागि तयारी अवस्थामा छौँ । बच्चाका लागि २५ बेडको आइसोलेसन बनाइसकेका छौँ । 


कोभिड नियन्त्रणमा हामीलाई संघ र प्रदेशले आवश्यक सहयोग, समन्वय गरेका छन् । बजेटको सन्दर्भमा विपद् कोष भनेर १ करोड रुपयाँ छुट्याएका थियौँ । त्यसबाट खर्च ग¥यौँ । जनशक्तिको व्यवस्थापनमा १९ जनाको टास्क फोर्स बनायौँ ।नगरका १४ स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई खटायौँ । २ जना डाक्टर आइसोलेसमा, ३ जना कन्ट्याक्ट ट्रेसिङमा र अन्य स्वाब संकलनलगायत काममा खटायौँ ।  केन्द्र सरकारले ल्याएको बजेटले हामीले उठाएका विषय समेटेको छ । हाम्रो आफ्नै आन्तरिक आम्दानी पनि छ । बजेटप्रति सन्तुष्ट छौँ । 


यो चार वर्षमा केही विशेष काम गरेका छौँ । बनेपा–पनौतीको वैकल्पिक बाटो निर्माण गरेका छौँ । करिब १७ रोपनी जग्गा व्यक्तिबाट लिएर पनौती रंगशाला निर्माण गरिरहेका छौँ । मेलम्ची आयोजना रोकिएको थियो, त्यसलाई सुचारु गर्‍यौँ । कानुन क्षेत्रमा २२ वटा निर्माण भइसकेका छन् । ग्रामीण क्षेत्र भएकाले कृषि र पशुपालनमा पनि जोड दिएका छौँ । यसमा भैँसी र गाईपालनलाई प्रवद्र्धन गरेका छौँ । पनौती सांस्कृतिक सहर भएकाले विश्वसम्पदा सूचीमा समावेश गराउने कार्यमा लागिपरेका छौँ ।


यस वर्षको बजेटमा हामीले पहिलो प्राथमिकताको रूपमा स्वास्थ्यलाई राखेका छौँ । महामारीको चेतावनीपछि २५ वेड क्षमताको पनौती नगर अस्पताल बनाउन लागेका छौँ । कोभिडका कारणले समस्यामा परेका विपन्नको विद्युत् महसुल नगरपालिकाले तिरिदिने व्यवस्था गरेका छौँ । सरकारको स्वास्थ्य बिमा नगरपालिकाले गरिदिने व्यवस्था मिलाएका छौँ । यो अवधिमा धेरै काम गरेर कायापलट नगरे पनि नयाँ व्यवस्थाको पद्धति बसाल्यौँ । संविधानको अधिकतम कार्यान्वयन गर्ने प्रयन्त गर्यौ । यसबाहेक चार वर्षमा मुख्य काम पनौती बसपार्क निर्माण गर्न सकेनौँ  । यहाँको जग्गा अधिक महँगो भएकाले हाम्रो बजेटले बनाउन सम्भवै भएन ।