close

संघले बजेट नदिएपछि धेरै योजना रोक्नुपरेको छ 

संघले बजेट नदिएपछि धेरै योजना रोक्नुपरेको छ 

Trulli
ADVERTISEMENT

राजेन्द्र कुमार पोख्रेल
नगरप्रमुख, कन्काई नगरपालिका, झापा

 

कोभिड महामारीको पहिलो लहरमा जति तयारी गर्नुपर्ने थियो, त्योभन्दा बढी हामी डराएका थियौँ । थोरै मात्रै मानिस संक्रमित भएका थिए, पहिलो लहरमा । हामीले क्वारेन्टाइन/आइसोलेसन तयारी गरेका थियौँ । त्यहाँ बाहिरबाट आएका मान्छेलाई राखियो । 


दोस्रो लहरमा कन्ट्याक्ट ट्रेसिङलाई निरन्तरता दियौँ । क्वारेन्टाइनको आवश्यकता परेन । संक्रमितका लागि पनि होम आइसोलेसनमा बस्न सुझायौँ । तर, मानिसले सचेतता अपनाएर होम आइसोलेसनमा बस्न सकेनन् । हामीले नगरको २० बेडको आइसोलेसनमा संक्रमितलाई राख्यौँ । एम्बुलेन्सको सेवा घरघरमै दियौँ । नगरमा उपचार सम्भव नभएकालाई विराटनगर, धरान रेफर गर्‍यौँ। हाम्रो नगरमा जम्मा २१ जनाको मृत्यू भयो । रोग लागे पनि सुरुमै जानकारी नदिने र गाह्रो भएपछि मात्र थाहा दिने भएकाले हामीलाई काम गर्न असहज भयो ।

 

कोरोनाका लागि संघीय सरकारले ८ लाख रुपैयाँ दिएको थियो । त्यसबाहेक थप रकम कतैबाट पनि आएन । जनशक्ति पनि हामी आफैँले व्यवस्थापन गर्‍यौँ। नगरको स्वास्थ्य संस्थाका कर्मचारी ८/८ जनको टिम बनाएर खटायौँ । कोभिडमा महिनाको औसत ९ लाख रुपैयाँ खर्च भएको छ । प्राथमिक स्वास्थ्य केन्द्रमा ओपिडी सेवा बन्द गरेको धेरै भइसकेको छ । संघले बजेट नदिएकाले गर्न सकिएको छैन । स्वास्थ्य केन्द्र र आइसोलेसन चलाउन अझै १०/१२ जना थप जनशक्ति आवश्यक छ । 

 


संघले ल्याउने बजेट पुरानै छ । राजस्व बाँडफाँटको रकम अघिल्लै वर्षको चार करोड रुपैयाँ कम आएको छ । संघीय सरकारले नहेरे पनि हामीले चार वर्षमा जनतासमक्ष प्रतिबद्धता गरेका धेरै काम पूरा गरेका छौँ । पूर्वाधारको क्षेत्रमा सडक ग्राभेल गर्ने, कालोपत्रे गर्ने काम गरेका छौँ । नदी क्षेत्र भएकाले तटबन्धमा उल्लेखनीय काम गरेर क्षति न्यूनीकरण गरेका छौँ । घर नहुने विपन्न परिवारमध्ये ३७० परिवारलाई घर बनाइदिएका छौँ । मजदुरको बिमा नगरपालिकाले गरिदिएको छ । अहिलेसम्म ७ सय मजदुरको बिमा भएको छ । शिक्षा क्षेत्रमा कक्षा १ देखि ५ सम्मका बालबालिकालाई ड्रेस वितरण गरेका छौँ । नगरभित्र सुत्केरी हुने महिलालाई पौस्टिक आहार कार्यक्रम राखेका छौँ । नगरलाई उज्यालो नगर बनाएका छौँ । सामुदायिक विद्यालयको गुणस्तर सुधार गरेर विद्यार्थी संख्या बढाएका छौँ । यो वर्षको बजेटमा पनि चार वर्षमा पूरा हुन नसकेका कार्यक्रमलाई निरन्तरता दिएका छौँ । 

 


यसबाहेक विपद् व्यवस्थापन र अक्सिजन प्लान्टसहितको अस्पताल निर्माण गर्ने कार्यक्रम राखेका छौँ । बसोबासलाई सुरक्षित राख्न नदी नियन्त्रणलाई जोड दिएका छौँ । कृषिमा माटोको अम्लियपना हटाउन कृषकलाई कृषि सामग्री दिने योजना बनाएका छौँ । धान उत्पादन र कृषि उत्पादनमा अनुदानलाई प्राथमिकतामा राखेका छौँ । अन्डा, माछामासु र तेलमा आत्मनिर्भर बनाउने कार्यक्रमलाई बजेटले समेटेको छ । चार वर्षे अवधिमा नागरिकका कतिपय गुनासा र हाम्रा प्रतिबद्धतालाई पनि समेट्न सकिएको छैन । खानेपानीको सुविधा पर्याप्त गर्न सकिएन । नगरभित्रका क्यान्सर र मिर्गाैलाका बिरामीलाई सम्बोधन गर्न सकिएको छैन ।