close

वडामा उद्योगग्राम बनाउँदै वडाध्यक्ष

वडामा उद्योगग्राम बनाउँदै वडाध्यक्ष

Trulli
ADVERTISEMENT

सिद्धिचरण नगरपालिका वडा नं. ७ का वडाध्यक्ष बमबहादुर राई स्थानीय तहको निर्वाचन तय हुँदा काठमाडौँको ठमेलमा व्यापार गर्दै थिए । विदेशी पर्यटक र हिमाल आरोहीका लागि सामग्री उत्पादन र बिक्री गर्ने गर्थे । 


२०५४ सालको स्थानीय निर्वाचनमा तत्कालीन नेकपा एमालेको उम्मेदवार भएर साविक विगुटार गाविसको अध्यक्ष भएर काम गरेका उनको अध्यक्षको कार्यकाल सकिँदै गर्दा सशस्त्र द्वन्द्व उत्कर्षमा थियो । गाविस अध्यक्षको कार्यकाल सकिएपछि २०५८ सालमा राजधानी छिरे । व्यापारमा लागे । 


विगुटारमा राई गाविस अध्यक्ष हुँदा छिमेकी ओखलढुंगा गाविसका अध्यक्ष मोहनकुमार श्रेष्ठ थिए । उनीहरूको खूब मिल्ती थियो । श्रेष्ठले मेयरको टिकट लिएपछि क्षमतावान् वडाध्यक्षका लागि राईलाई रोजे । ‘गाविस अध्यक्ष हुँदा निर्विवाद भएर कार्यकाल बिताएकाले संघीयतामा थप धेरै गर्न सकिन्छ भन्ने लाग्यो,’ राईले भने ।
फरक काम गर्ने सोचले उनले गाउँमै उद्योग स्थापना गर्ने योजना बनाए । नगरपालिका र वडा कार्यालय जोड्ने बाटो छ महिला बल्ल चल्थ्यो, खोलामा पुल थिएनन् । अहिले पुनर्निर्माणका काम भइरहेका छन् । सडक सञ्जाल वडाभरि पुगेको छ । 


वडामा छ प्रकारका घरेलु उद्योग स्थापना गरी सञ्चालन गर्ने लक्ष्य राईले राखेका छन् । त्यसमध्ये ‘ग्रामीण बिजुलीघर’ स्थापना गरेर बिजुलीको बल्ब उत्पादन सुरु भइसकेको छ । 


दोस्रो योजना स्थानीय रक्सीलाई ब्रान्डिङ गर्ने हो । विभिन्न तीन खाले रक्सी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा परीक्षणका लागि पठाइसकेका छन् । शुद्ध खानेपानी उत्पादन गर्र्ने उनको अर्को योजना हो । यसका लागि पानी परीक्षण सुरु गरिएको छ । पानी उत्पादन गरेर जिल्लाबाहिर निर्यात गर्न सकेमा आत्मनिर्भर बन्न सकिने उनको बुझाइ छ । ‘स–सना तर दैनिक रूपमा प्रयोग गरिने वस्तुको व्यापारबाट मात्रै समृद्धि ल्याउन सकिन्छ,’ राईले भने । 


त्यस्तै, ज्याकेट र फित्तावाल चप्पल उत्पादनका लागि पूर्वाधार तयार पार्ने काम पनि सुरु भएको उनले बताए । वडालाई उद्योगग्रामका रूपमा विकास गर्ने उनको सपना छ । 


दाँत कोट्याउने बाँसको सिन्का चीनबाट आउने देखेपछि गाउँमै उत्पादन गर्न सकिने सम्भावना खोजे । चीनमै परीक्षण गराउन उनले बाँसका नमुना पठाएका छन् । यसरी उनका योजना पूरा भएमा सिद्धिचरण नगरपालिकाको वडा नं. ७, विगुटार साना उद्योगका लागि प्रसिद्ध हुनेछ । ‘स–साना उद्योग सञ्चालन गर्दा स्थानीयले आधा समय रोजगारी पाए, बाँकी समय घरको काम र खेतीपाती गर्न सक्छन्,’ उनले भने, ‘कृषकले पनि उद्योगमा काम गर्न सक्ने वातावरण बन्नेछ । त्यसैले उद्योगग्राममा जोड दिइरहेको छु ।’