close

नगरवासीकी ‘प्यारी वसन्ती’

नगरवासीकी ‘प्यारी वसन्ती’

Trulli
ADVERTISEMENT

वसन्ती तामाङ (डंगोल)
उपप्रमुख, दक्षिणकाली नगरपालिका 

 

काठमाडौँको दक्षिणकाली नगरपालिकाकी उपप्रमुख वसन्ती तामाङ नगरवासीकी प्रिय छोरी/बुहारी हुन् । उनको माइती वडा नं. ६ मा पर्छ भने घर वडा नं. १ मा । ‘माइती भेगमा डुल्दा सबैले ‘हाम्री चेली’ भनेर स्नेह गर्नुहुन्छ,’ उनी भन्छिन्, ‘घरतिर ‘हाम्री बुहारी नानी’ भन्दै माया दर्शाउनुहुन्छ । माइती र घर दुवै तिरको माया उत्तिकै पाएकी छु ।’


स्कुल पढ्दादेखि नै नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाका साहित्यिक कृति पढ्ने गर्थिन् । ‘तर, राजनीतिमा योजनाबद्ध तरिकाले लागेकी होइन,’ उनी सुनाउँछिन्, ‘बीपी कोइरालाका किताब र विचार पढ्दा प्रजातान्त्रिक विचारधाराले जनताको भलो हुने रहेछ भन्ने बुझे पनि मलाई नेतृ नै बन्छु भन्ने लागेको थिएन ।’ स्थानीय सामाजिक संघसंस्थाले आयोजना गर्ने कार्यक्रममा उद्घोषण गर्ने गर्थिन् । त्यही क्रममा विभिन्न राजनीतिक दलले स्थानीयस्तरमा आयोजना गर्ने आमसभामा उद्घोषण गर्ने अवसर पाइन् । ‘प्रायः सबै राजनीतिक दलका आमसभामा उद्घोषकको काम गरेकी छु,’ उनी भन्छिन्, ‘तर, नेपाली कांग्रेसले आयोजना गरेका कार्यक्रममा चाहिँ अलि धेरै उद्घोषण गर्ने मौका पाएँ ।’ यसरी उनी राजनीतिक दलसँग नजिकिइन् ।


स्थानीय तहको निर्वाचनमा ‘नेपाली कांग्रेसका तर्फबाट उपप्रमुखको उम्मेदवार कसलाई बनाउने ?’ भन्ने छलफल चल्दा वसन्ती पहिलो रोजाइमा परिन् । सामाजिक कार्यमा सक्रिय भएकाले र नगरवासीले आफूले  छोरी/बुहारीका रूपमा गर्ने स्नेहले नै अवसर पाएको उनी बताउँछिन् । 


उनी उम्मेदवार हुने बेलामा उनका श्रीमान् वैदेशिक रोजगारका लागि विदेशमा थिए । ‘अहिले पनि श्रीमान् विदेशमै हुनुहुन्छ,’ उनी भन्छिन् । काखमा एक वर्षको छोरा र छोरी स्कुल पढ्दै थिइन् । घरपरिवार सम्हाल्ने दायित्व पनि उनकै थियो । यही बेला नगरवासीको सेवा गर्ने जिम्मेवारी पनि उनले पाइन् ।


‘समय व्यवस्थापन गर्न सक्दा धेरै काम गर्न सकिन्छ भन्ने लागेर काखमा एक वर्षको बच्चा र श्रीमान् विदेश हुँदा पनि उम्मेदवार बन्ने निर्णय लिएँ,’ उनी भन्छिन् । उपप्रमुखमा चुनिएपछि उनले बच्चा हुर्काउने, छोरीलाई पढाउने, घरपरिवार सम्हाल्ने र नगरवासीको सेवा गर्ने काम एकसाथ गरिरहेकी छिन् । 


कतिपय नगरपालिकामा नगरप्रमुख र उपप्रमुखको विवाद भएका खबर बाहिरिने गर्छन् । यस्ता खबरबारे उनी पनि जानकार छिन् । तर, दक्षिणकाली नगरपालिकामा कुनै विवाद नरहेको उनी बताउँछिन् । नगरप्रमुख मोहन बस्नेतकी छोरी र वसन्ती सहपाठी हुन् । ‘नगरप्रमुखले मलाई छोरीलाई गर्नेजस्तै व्यवहार गर्नुहुन्छ,’ उनी सुनाउँछिन् । नगरप्रमुख र उपप्रमुखले गर्ने कामबारे कानुनमा स्पष्टसँग लेखिएकाले विवाद गर्नुपर्ने कारण नै नभएको उनी बताउँछिन् । ‘स्थानीय निकाय हुँदाको जस्तो प्रमुख नहुँदा उपप्रमुखले यसो–यसो गर्ने भन्ने व्यवस्था अहिले छैन,’ उनी भन्छिन्, ‘स्थानीय तह भइसकेपछि प्रमुख र उपप्रमुखको अधिकार र दायित्व कानुनी रूपमा किटान गरिएकाले विवाद हुने कारणै छैन ।’ 


निर्वाचनका बेला गरिएका ६० प्रतिशतभन्दा धेरै वाचा पूरा गरिएको उनी बताउँछिन् । ‘नगरपालिकाको भूगोल ठूलो छ,’ उनी भन्छिन्, ‘स्रोत सीमित छ । भौतिक पूर्वाधार निर्माणमा बजेट पर्याप्त छैन ।’ 


उपप्रमुख वसन्तीलाई घुम्न, गीत गाउन, नाच्न र फोटो खिचाउन मन पर्छ । उनी जुन समुदाय र वर्गका मानिसमाझ पुग्छिन्, आफूलाई त्यही रूपमा महसुस गरेर उनीहरूका बारेमा सोच्ने गरेको बताउँछिन् । बालबालिका, दलित, विपन्न वर्गमाझ पुग्दा आफूलाई उनीहरूकै रूपमा सोचेपछि कस्तो र के निर्णय गर्दा उनीहरूलाई सुविस्ता हुन्छ भन्ने थाहा हुने उनी बताउँछिन् । ‘यसरी गरिएका निर्णय सही हुने गर्छन्,’ उनी भन्छिन् ।


नगरवासीको सेवाका लगि दिनरात खटिरहँदा पाँच वर्ष पुग्दै गरेको छोरा र कलेज पढ्न थालेकी छोरीलाई पर्याप्त समय दिन नसकेकोमा उनलाई पीडा महसुस हुन्छ । ‘बच्चाहरूले त आमाको साथ खोज्छन् नि !,’ उनी भन्छिन्, ‘म राजनीतिमा छु कि, उपप्रमुख छु वा अरू केही । बच्चाहरूलाई थाहा हुने कुरा भएन । बच्चाहरूले आमाको अभाव महसुस गर्दा चाहिँ पीडा हुन्छ ।’