close

जसले निःशुल्क जुटाए गाउँपालिकालाई २७५ रोपनी जग्गा 

जसले निःशुल्क जुटाए गाउँपालिकालाई २७५ रोपनी जग्गा 

Trulli
ADVERTISEMENT

मुलुकभर रहेका ७५३ पालिकामा २०७४ सालमा नयाँ जनप्रतिनिधि चुनिए । ४ वर्षसम्म स्थानीय तहका जनप्रतिनिधिका अनेकन प्रकारका हर्कत बाहिर आएका छन् । त्यसैमध्य केहीले सकारात्मक काम पनि गरेका छन् । सकारात्मक काम गर्ने मध्यमा पर्छन्, पाँचथर जिल्लाको मिक्लाजुङ गाँउपालिका अध्यक्ष अमराराज माखिम ।    


२०७६ मा कोभीड–१९ महामारीले विश्व आक्रान्त भयो । आफ्नो जिविका चलाउन देश–विदेशमा पुगेकाहरू रोजगारी खोसिएपछि गाउँ फर्किए । गाउँभन्दा पर पुगेर व्यवसाय गरेकाहरूको हालत पनि त्यस्तै भयो । नेपालमा ११ चैत २०७६ बाट लकडाउन भएपछि त सहर सुनसान भयो । गाउँमा मानिस भरिभराउ भए ।


त्यसैबेला गाउँ फर्किएका युवालाई आत्मनिर्भर बनाउन केही अभियान थाल्नुपर्छ भन्ने लाग्यो अध्यक्ष माखिमलाई । र, गाँउ कार्यपालिका बैठक बसेर कृषिलाई प्रोत्साहन गर्ने योजना बुनेर निर्णय गरे । निर्णयमा कृषिमा राम्रो गर्नेलाई अनुदान दिने उल्लेख गरियो । 


गाउँपालिकाले ४० मुरीभन्दा धेरै धान फलाउने र चार फुट अग्लो र २० फुट लम्बाइ भएको थाङ्ग्रो मकै फलाउने किसानलाई समान एक÷एक लाख अनुदान दिने घोषणा गर्‍यो । 


अनुदानका लागि मकै फलाउने किसानले आवेदन दिइरहेको माखिमले जानकारी दिए । ‘हामीले घोषणा गरेको अनुदान कार्यक्रमको मापन पूरा गरेर अनुदानका लागि निवेदन आइरहेका छन्, धेरै मकै फलाउने किसानका अनुदानका लागि निवेदन आएका छन्,’ माखिमले भने ।
माखिमका अनुसार गाउँपालिकाले ३५ मन (प्रतिमन ४० केजी) भन्दामाथि आलु फलाउनेलाई प्रतिकेजी २० रुपैँया अनुदान दिने कार्यक्रम पनि सुरु गरेको छ । अहिलेसम्म धेरै अनुदान आलु खेती गर्ने कृषकले लगेका छन् । गाउँपालिकाले अन्य धेरै कृषि गर्नेलाई प्रोत्साहन गर्ने योजना ल्याएको छ । 

 

‘हामीले फलफूलका विरुवा बाडेका छौँ । बिउ बाडेका छौँ । कोलस्टोर र जुस फ्याक्ट्री बनाउन काम अघि बढेको छ’ माखिमले भने ‘गाँउपालिकामा बसोबास गर्ने प्राय नागरिक कृषिमा आधारीत भएकाले उनीहरूको जीवनस्तर सुधार्ने कृषि कार्यक्रम अघि सारेको छौँ ।’ गाउँपालिकाले नमुना कृषि फर्मका लागि ४२ रोपनी जग्गा किनिएको छ । यसको काम सुरु भइसकेको उनले बताए । 


स्थानीय तह निर्वाचनमा अध्यक्षको उम्मेद्वार हुनुभन्दा पहिले विभिन्न व्यवसायमा सक्रिय थिए माखिम । ‘अध्यक्षको उम्मेद्वार हुनुअघि राजनीतिमा सक्रिय थिइनँ । चुनावको बेला टिकट लिएर प्रतिस्पर्धामा उत्रिनु एउटा सन्दर्भ थियो । निर्वाचित भएपछि म सबै जनताको मान्छे भए,’ उनले भने ‘राजनीतिक रूपमा कसैलाई काखा, कसैलाई पाखा गरेको छैन् ।’


अध्यक्ष जितेपछि उनी सुरुमै चर्चामा आए । अन्य स्थानीय तहका जनप्रतिनिधिले आफ्नो प्रयोगका लागि चार चक्के गाडी किने । उनले किनेनन् । अहिलेसम्म पनि उनले आफ्नो प्रयोगका लागि गाडी किनेका छैनन् । पहिला बाटो राम्रो बनाएपछि मात्रै गाडी चढ्ने उनको भनाइ छ । आफ्नो कार्यकालभर गाँउपालिकामा चार चक्के गाडी नकिन्ने उनको योजना छ । अहिले मोटरसाइकल चढेरै माखिमले जनताका काम गरिरहेका छन् । 


विकास निर्माणका काममा ध्यान छ उनको । माखिमले अध्यक्ष भएपछि  रवि बजारमा विजुली, खानेपानीको प्रबन्ध गरे । रवि बजार क्षेत्रको सडक कालोपत्रे गरे । अहिले उनले रवि बजार आसपासमा लिफ्टसहितको गाँउपालिका भवन, सामुदायिक भवन निर्माण भइरहेको छ । पशुहाट, कृषि हाट बजारलाई व्यवस्थित गर्ने काम माखिमले गरे । बधशाला निर्माण र बजारमा खानेपानी योजना पूरा गरेका छन् । 


सरकारी प्रयोजनका लागि निःशुल्क जग्गा 


मिक्लाजुङमा सरकारी कार्यालय निर्माण गर्न जग्गा थिएन । माखिमले  नागरिकसँग निःशुल्क जग्गा सहयोग गर्न अनुरोध गरे । जनताले उनलाई विश्वास गर्दै निःशुल्क जग्गा उपलब्ध गराएका छन् । विभिन्न पूर्वाधार निर्माण तथा अन्य प्रयोजनका लागि स्थानीयले २ सय ७५ रोपनी जग्गा गाँउपालिकालाई निःशुल्क उपलब्ध गराएका छन् । रवि बजार आसपासदेखि भित्रि गाँउसम्म गाउँपालिकालाई आवश्यक पर्ने जग्गा उपलब्ध भएको हो । स्वास्थ्य केन्द्र, सभागृह, कृषि थोक, बसर्पाक, कवर्ड हल, डब्पीङ साइट, चिडियाखाना, चिस्यान केन्द्र, हाइअल्टीच्यूट खेल मैदान, पशु बजार, कृषि भवन, आँखा अस्पताल, गाँउपालिका भवन, नापी, मालपोतलगायत कार्यालयका लागि निःशुल्क जग्गा उपलब्ध भएको माखिमले बताए । अहिले पूर्वाधार निर्माणको काम सुरु भएको छ । 


पर्यटनको गन्तव्य बनाउँदै 


गाउँपालिकाले जरिबुटे डाँडामा वुद्ध पार्क बनाउने गौरवको आयोजना अघि सारेको छ । विभिन्न हिमश्रृखलाको दृष्यावलोकन गर्न मिल्ले डाँडामा वुद्ध पार्क निर्माण भइरहेको छ । डाँडामा १ सय क्विन्टल धातुको ४५ फिट अग्लो वुद्धको मुर्ति राखिने माखिमले सुनाए । जुन नेपालमै सबैभन्दा ठुलो धातुको मुर्ती हुने दाबी माखिमको छ । यही आसपासमा शिव र फाल्गुनानन्दको मुर्ती राख्ने योजना पनि गाउँपालिकाको छ । चिडियाँखाना बनाउने योजना पनि गाउँपालिकाले अघि सारेको छ । चिडियाँखानाका लागि निर्माणाधिन गाँउपालिका भवन नजिकै जग्गा जुटाएर डिपिआर गरिसकिएको उनले बताए । नुवा खोलामा ड्याम बाध्ने योजना माखिमले अघि सारेका छन् । राँके–रवि–भेडेटार सडक कालोपत्रे भएपछि पर्यटक आवागमन बढ्ने माखिमको विश्वास रहेको छ ।


प्राथमिकतामा सडक, खानेपानी, स्वास्थ्य र शिक्षा 


गाँउपालिकाले सडकलाई प्राथमिकता राखेको छ । ट्रायक बनेका सडक स्तरोन्नती गर्ने योजना उनको छ । गाँउपालिकाले ३५ किलोमीटर सडक ग्रावेल गरिसकेको छ । सडकसँगै खानेपानी, स्वास्थ्य तथा शिक्षा पनि गाउँपालिकाको प्राथमिकतामा परेको छ । रविमा रहेको प्राथामिक स्वास्थ्य चौकीमा गाँउपालिकाका बासिन्दाले निशुल्क भिडियो एक्सरे गर्ने व्यवस्था मिलाइएको छ । दैनिक औषधि खाने दिर्घ रोगीलाई वार्षिक २० हजार रुपैँया सहयोग गर्ने गरिएको छ । गाउँपालिकासभित्रका स्वास्थ्य केन्द्रमा गर्भवती हुन नसके अन्य अस्पतालसम्म निःशुल्क लैजाने व्यवस्था मिलाइएको छ । बाल पोषण भत्तास्वरुप बच्चालाई मासिक ५ सय रुपैँया दिइन्छ । आँखा अस्पताल सञ्चालनमा ल्याएको छ । पोष्टमार्टम निःशुल्क गर्ने व्यवस्था मिलाइएको छ । गाँउपालिकाका निम्न आर्थिक अवस्थाका २ सय ५० परिवारलाई टुक्की वितरण गरिएको उनले बताए । पक्की विद्यालय बनाउने काम अघि बढाइएको छ । 


आफ्नै घरमा बस्छन्  


सरकारले पालिका प्रमुखलाई आवास  सुविधा व्यवस्था गरेको छ । तर, माखिमले आवास  सुविधा लिएका छैनन् । रवि बजारमा अवस्थित आफ्नै घरमा बसेर जनताको सेवा गरिरहेको उनले बताए । ‘जनताको सेवामा लागि परेको छुँ । गाँउपालिकामा साथीभाइ भेट्न आउँदा खुवाएको चियाको विल पनि मासिक रूपमा आफै तिर्ने गरेको छु’ उनले भने । माखिमले अध्यक्षका रूपमा सरकारले दिने अन्य सेवा सुविधा पनि नलिएको बताए ।