close

संघ र प्रदेश आफैंले  गाउँमा योजना लगेपछि स्थानीय सरकारको अस्तित्व संकटमा 

संघ र प्रदेश आफैंले  गाउँमा योजना लगेपछि स्थानीय सरकारको अस्तित्व संकटमा 

Trulli
ADVERTISEMENT

भूपेन्द्र राई, अध्यक्ष
दिप्रुङ चुइचुम्मा गाउँपालिका, खोटाङ


खोटाङको दिप्रुङ चुइचम्मा गाउँपालिकामा पहिलो लहरको कोरोनाले ठूलो असर गरेन । बाहिरबाट आउनेलाई राख्न क्वारेन्टाइन पालिकाले तयार गरेको हो । धेरैलाई गाउँ नआउन पनि आग्रह गरियो  । सहरबाट आएकालाई क्वारेन्टाइनमा राख्यौँ र नआएकालाई बसेकै ठाउँमा राहत पुर्‍याउने काम गरियो । तर, दोस्रो लहरमा भने पहिलोजस्तो भएन । संघीय सरकारले काठमाडौंबाट लकडाउन गर्नुपूर्व सबैलाई गाउँ फर्कने मौका दियो । चुइचुम्माका मान्छे पनि फर्किए । एक पटक धेरै मानिस आएकाले गाउँपालिकाले क्वारेन्टाइन व्यवस्थापन गर्न सकेन । संक्रमण धेरै फैलियो । गाउँका एक जना संक्रमित एकदमै सिकिस्त भए । उनलाई गाडी कुद्ने बाटोसम्म ल्याउन मुस्किल भयो । लैजाने मान्छे पनि भएन । त्यसपछि म आफैंले पिपिई लगाएर संक्रमितलाई ढाडमै बोकेर गाडीसम्म ल्याएँ र उपचारका लागि लिएर गएँ । गाउँमा सबैतिर घरघरसम्मै सडक नपुगेकाले बिरामीलाई गाडीसम्म ल्याउन मुस्किल भयो । ‘टोलटोलसम्म बाटो थियो,’ अध्यक्ष राईले भने, ‘घरघरसम्म पुगेको छैन । संक्रमितलाई एकदमै गाह्रो भयो । त्यसैले म आफैंले पिठ्युँमा बोकेर लगेँ ।’ 


गाउँमा २५ बेडको अस्थायी कोभिड अस्पताल बनाइएको थियो । तर, त्यहाँ उपचार सम्भव नहुनेलाई बाह्य जिल्लासम्म पठाएर उपचार गराइयो । नगरले प्रयोग गर्ने गाडीसमेत एम्बुलेन्स बनाएर प्रयोग गरिरहेका छौँ । एक जना चालक बिरामी भएर समस्या भएपछि आफैंले चलाएर बिरामीलाई अस्पताल पुर्‍याइयो । ‘हाम्रो चालक बिरामी भएपछि म आफैंले गाडी चलाएर बिरामीलाई अस्पताल पुर्‍याउने गरेको छु,’ उनले भने, ‘हाम्रो कामले स्वास्थ्यकर्मीमा पनि हौसला बढेको छ ।’
अहिले पनि गाउँ–गाउँमा परीक्षणका लागि स्वास्थ्यकर्मीसँगै खटिने गरेको छु । घरघरमै पुगेर संक्रमितको स्वास्थ्यस्थिति बुझेर हौसला पनि दिन्छु । कोभिड नियन्त्रणका लागि प्रदेश सरकारबाट केही सहयोग आएन । जनशक्ति र बजेट सबै हामी आफैंले व्यवस्थापन गर्‍यौँ। ‘कोभिड नियन्त्रणका लागि प्रदेशबाट केही पनि सहयोग आएन,’ उनले भने, ‘संघले सुरुमा १० लाख रुपैयाँ दिएको थियो । त्यसपछि संघबाट पनि सहयोग भएन । जनशक्ति, स्वास्थ्यकर्मीसहित हामी आफैं खटियौँ ।’


संघले ल्याएको बजेट चित्तबुझ्दो छैन । संघले स–साना योजना हालेर पठाएको छ । ‘संघको बजेट संघीयताअनुकूल छैन,’ उनले भने, ‘मसिना नगर स्तरका योजना पठाएको छ । केही योजना आफ्नै संघीय संरचना जस्तै, कृषि ज्ञान केन्द्र, जिल्ला शिक्षा समन्वयको माध्यमबाट गरिरहेको छ । प्रदेश सरकार पनि आफैं योजना लिएर स्थानीय तहमा काम गरिरहेको छ ।’ संघ र प्रदेश आफंैले योजना लिएर जाँदा स्थानीय सरकारको अस्तित्वमा असर गरेको छ । 


चार वर्षको अवधिमा गाउँपालिकाले विकासका लागि धेरै काम गरिसकेको छ । दूधकोसी र साछु खोलाले सधँै जोखिम भएको क्षेत्र भएकाले अहिले पुल निर्माण भएर सञ्चालन भइसकेको छ । पालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा छ । यस क्षेत्रमा रहेको पर्यटकीय झरनालाई व्यवस्थित बनाइएको छ । यसबाहेक सडकलाई हिँउद, वर्षा हिँड्न मिल्ने गरी निर्माण गरिएको छ । शिक्षा र स्वास्थ्यमा दरबन्दी मिलान गरिएको छ । कृषि क्षेत्रमा सुन्तला, लिच्ची, किबीको पकेट क्षेत्र निर्माण गरेर उत्पादनमा जोड दिइएको छ । 


यस वर्षको बजेटमा पनि कृषि, र स्वास्थ्यलाई प्राथमिकतामा राखिएको छ । यो आर्थिक वर्षबाट प्याराग्लाइडिङको उडान सुरु गर्ने कार्यक्रम छ । ‘हामीले यस वर्ष नयाँ धेरै कार्यक्रम राखेका छैनौँ,’ उनले भने, ‘प्याराग्लाइडिङ उडान सुरु गर्छौं । पुराना काम सम्पन्न गर्छौं ।’ यो अवधिमा सडक कालोपत्रे गर्नेलगायत थुप्रै योजना पूरा गर्न सकिएन ।