close

‘स्वास्थ्य र कृषिलाई केन्द्रमा राखेर काम गरिरहेको छु’ 

‘स्वास्थ्य र कृषिलाई केन्द्रमा राखेर काम गरिरहेको छु’ 

Trulli
ADVERTISEMENT

शिवनाथ महतो, नगरप्रमुख 

गौशाला नगरपालिका, महोत्तरी

 

गौशाला कृषकको बाहुल्य भएको नगरपालिका हो। चुनावकै बेला किसानहरूको खेतखेतमा सिँचाइ पुर्‍याउने मेरो पहिलो लक्ष्य थियो। सिँचाइका लागि नगरभरि बोरिङ जडान गर्ने काम गरेका छौं। हालसम्म एक सय वटा बोरिङ जडान गरिसकेका छौं। यसले उत्पादन बढेको छ। किसानले उत्पादन गरेको सागसब्जी, तरकारीलाई कुहिन नदिन कोल्ड स्टोर बनाउने कामको थालनी गरेको छु। वडावडामा कृषि सहकारीमार्फत मलखादको वितरण गर्न सफल भएका छौं। महँगो मूल्यमा कालाबजारीको मलखाद्य किन्नुपर्ने किसानको बाध्यता सधैंका लागि हटेको छ। खेतीमा लागत कम गर्न कृषकलाई आधुनिक औजारको व्यवस्था गरेका छौं।

 

विपन्न परिवारहरूको आर्थिक अवस्था बलियो बनाउन बगर खेती सुरु गरिएको छ। नदी उकास बगर जमिनमा सिँचाइको व्यवस्था गरेर मुसहरहरूलाई पनि तरकारी खेतीमा आबद्ध गराइएको छ। गरिबहरूलाई बाख्रा वितरण गरिएको छ। नमुना बाख्रापालन खोर निर्माण गरेर एक घर परिवारलाई चार वटा बाख्रा र एउटा बोका प्रदान गरिएको छ। उनीहरू पनि आयआर्जनका हिसाबले अगाडि बढिरहेका छन्। 

 

नगरपालिकामा रहेको मुसहर समुदायका बच्चाहरूलाई स्कुलमा राम्रोसँग पढाउन सकिन्छ कि भनेर दैनिकै पहल गरेर बालबालिकाहरूलाई स्कुल पठाउने काम भइरहेको छ। यहाँ विपन्न परिवारका लागि छानो कार्यक्रम ल्याइएको छ। फुसको घरमा जस्तापताको छानो हाल्न एक घरपरिवारलाई ५० हजारको व्यवस्था गरिएको छ।

 

हाम्रा कोही नागरिक बिरामी भए उपचार गराउन बाहिर जान नपरोस् भनी सुविधा सम्पन्न अस्पताल निर्माण गरिरहेका छौं। गौशाला नगरपालिकाको पाँच वटा वडामा नयाँ स्वास्थ्यचौकी निर्माण गरिएको छ। नगरभरि पाँच वटा आधारभूत स्वास्थ्यचौकी र तीनवटा वर्थिङ सेन्टर सञ्चालनमा छन्। यहाँका दिदीबहिनी, चेलीबेटीलाई सुत्केरी गराउनलाई बाहिर जानुपर्ने बाध्यता अब हटेको छ। कान्तिबजार, बेलगाछी र रामनगर स्वास्थ्यचौकीमा वर्थिङ सेन्टर सञ्चालित छन्।

 

जटिल प्रकारका समस्या देखिएमा गर्भवतीमहिलाहरूलाई सुत्केरी गराउन प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा पठाइन्छ। यहाँ पनि सुत्केरी गराउन कठिन भए प्रदेश नम्बर २ भित्र कुनै ठाउँमा लैजानुपर्ने भएमा हामीले निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरेका छौं।

 

सुत्केरी गराउन बाहिर जानु नपरोस् भनी गौशाला नगरपालिकाले १५ शय्याको अस्पताल निर्माण गरिरहेका छौं। यो अस्पतालमा निर्माणका लागि १८ करोड खर्च छुट्ट्याइसकेको छु। प्राथमिक उपचार केन्द्र गौशालामै अहिले क्षयरोग निदानका लागि जिन स्पोट सञ्चालन गरेका छौं। सर्लाही, रौतहटसम्मका बिरामीहरू क्षयरोग टेस्ट गराउन आउँछन्। यहाँ एक्सरे सेवा पनि छ।

 

कोरोना नियन्त्रणमा पनि अहोरात्र खटेर जनप्रतिनिधिहरूले जनताको जीवन रक्षा गर्न कुनै कसर बाँकी राखेका छैनौं। अस्थायी कोभिड–१९ अस्पताल सञ्चालन गरेर त्यहाँ अक्सिजन सहितको आइसोलेसन व्यवस्थापन गरेका छौं। थुप्रै कोरोना संक्रमितहरू उपचार लिएर निको भए।

 

अहिले पनि हामी कोभिड अस्पताल सञ्चालनमै राखिएको छ, जति बेलापनि फेरि कोरोना महामारी फैलिन सक्छ। यसलाई आउँदो दिनमा पूरै व्यवस्थित गरेर जान अक्सिजन सिलिन्डर नपाए पनि इलेक्ट्रोनिक अक्सिजन मेसिनको व्यवस्था गरेका छौं। कोभिडका बिरामीलाई घरदेखि अस्पतालसम्म ल्याउन र पुर्‍याउन एम्बुलेन्सको व्यवस्था मिलाएका छौं। बिरामीका लागि खाना, औषधि उपचार सबै निःशुल्क व्यवस्थान गरिएको छ।

 

नगरपालिकाको आन्तरिक स्रोतबाट दक्ष चिकित्सक राखेर आफ्ना बिरामी नागरिकहरूको उपचार गर्ने व्यवस्था मिलाइएको छ। निःशुल्क औषधिका साथै थप औषधि नगरपालिकाबाट व्यवस्था निःशुल्क वितरण गरेका छौं। सुगर, प्रेसरको बिरामीलाई औषधि उपलब्ध गराएका छौं। आयुर्वेदतर्क नागरिक आरोग्य केन्द्र स्थापना गरिएकोे छ। 

 

शिक्षातर्क डिप्लोमा स्तरका आयुर्वेद विषयको कक्षा सञ्चालन भइरहेको छ। गौशालाको वडा नम्बर १२ मा आयुर्वेद अस्पातलको भवन निर्माण अघि बढाएका छौं। नगरपालिकाको भाषा, कला, साहित्य, संस्कृति, इतिहास र भूगोल समेटेर हामीले हालै ‘गौशाला दर्पण’ नामक अनुसन्धानमूलक पुस्तक प्रकाशन गरेका छौं। यसले गौशालालाई देशविदेशमा परिचित गराउने छ।

 

गौशालास्थित रामनगर र रजखोरको बीचमा इन्जिनियरिङ कलेज सञ्चालनका भौतिक पूर्वाधार निर्माणको काम भइरहेको छ। सम्भवतः मंसिरदेखि इन्जिनियरिङ कलेजमा भर्ना सुरु हुन्छ। नगरपालिकामा जनप्रतिनिधि आएपछि सामुदायिक विद्यालयको पठनपाठनमा उल्लेख्य सुधार भएको छ। जुन स्कुलमा शिक्षकको आवश्यकता छ। त्यो स्कुलमा शिक्षक स्वयम्सेवक शिक्षक भर्ना गरेर शिक्षण क्रियाकलाप अगाडि बढाइएको छ।

 

मधेसमा अभिभावकलाई आफ्ना चेलीबेटीलाई बाहिर पठाएर पढाउन कठिन छ। अभिभावकहरूमा चिन्ता छ त्यो चिन्ता केही हदसम्म पूरा भएको छ। यस नगरपालिकामा एकहदसम्म उच्चस्तरको शिक्षाको गन्तव्य बनाउनु पर्छ। हाम्रो पहलमा त्रिभुवन माध्यमिक विद्यालयलाई नमुना विद्यालयको रूपमा विकास गर्ने काम भइरहेको छ। नेपाल सरकारकोे नमुना विद्यालयहरूको सूचीमा हामी राख्न सफल भएका छौं। प्रदेश नम्बर २ कै एउटा नमुना विद्यालय बनाउने काम भइरहेको छ।

 

सडक गौशालाका सबै वडालाई सडक सञ्जालसँग जोड्न रिङरोडको डीपीआर तयार गरिएको छ। अर्बौ रकम लाग्ने भएकाले संघीय सरकारसँग बजेट माग गरेका छौं। सडक बनाएर गाउँमा नगर बस सञ्चालन गर्ने योजना छ। वडाहरूमा कालोपत्रे तथा पक्की सुविधा सम्पन्न बाटाघाटाहरू निर्माण गरिएको छ। गौशाला माविदेखि खाल्टो बजारसम्म झन्डै तीन किलोमिटर बाटो निर्माण गरिएको छ। योबाहेक मैले चुनावी प्रतिबद्धताको ९० प्रतिशत काम गरिसकेको छु।


गौशाला नगरपालिकामा सबै कार्यहरू अनलाइन माध्यमबाट हुँदैछ। त्यस्तै अनलाइनबाट ज्येष्ठनागरिकहरूको सामाजिक सुरक्षाभत्ता सिधैं बैंकमा पठाइन्छ। अहिले गौशाला नगरपालिकाले आफ्नै कार्यालय भवन निर्माण भइरहेको छ। यो काम पनि अन्तिम चरणमा पुगेको छ। एक बिघा जग्गा खरिद गरेर ५ करोड ६० लाखको लागतमा भवन  निर्माण भइरहेको छ।

 

खहरे खोला नदीले गौशाला नगरपालिका घेरिएको छ। खोलाको मुहान चुरे पर्वत पहाडमा पर्छ। यसले प्रत्येक वर्ष जनतालाई दुःख दिँदै आएको छ। चुरेको भावर क्षेत्रबाट खोलानाला बग्ने भएकाले यसको संरक्षण सम्वद्र्धनको आवश्यकता छ। यसलाई दोहनबाट बचाई बहुपयोगी बनाउन पनि त्यत्तिकै जरुरी छ।

 

खोलाले हजारौं बिघा जमिनलाई कटान गरेर बगर बनाइसकेको छ। जनताका तटबन्धबाट बाँध निर्माण जारी छ। तर, बजेट अभावमा नदी संरक्षणको कामले निरन्तरता पाउन सकिरहेको छैन। बाढी नियन्त्रण गरेर खेतीयोग्य जमिनलाई बचाउन अति आवश्यक छ। चुनौती रहे पनि समृद्ध गौशाला निर्माणमा जुटिरहेको छु। सबैको साथ र सहयोग पनि पाएको छु।