close

नगरपालिकाको सीमित बजेट खर्चिएरै विकासमा फड्को मारेका छौँ

नगरपालिकाको सीमित बजेट खर्चिएरै विकासमा फड्को मारेका छौँ

Trulli
ADVERTISEMENT

वासुदेव घिमिरे, नगरप्रमुख

तिलोत्तमा नगरपालिका, रूपन्देही

 

तिलोत्तमा नगरपालिकामा कोरोना महामारीको पहिलो लहर रोक्न नगर क्षेत्रमा लकडाउन गर्नुका साथैं भारतलगायत मुलुकबाट आएकालाई क्वारेन्टाइनमा राख्नेसम्मका काम गरियो । हामीले सुविधासम्पन्न क्वारेन्टाइन व्यवस्थापन गरी पालिकामा मात्र होइन, बेलहिया नाकाबाट नेपाल प्रवेश गरेका अन्य जिल्लाका व्यक्तिलाई समेत राखेर सुरक्षित तरिकाले सम्बन्धित जिल्लामा पठाउने काम गरेका थियौँ । लकडाउन लामो भएकाले श्रमजीवीलाई राहत व्यवस्थापन गर्ने, कोरोनाको निःशुल्क परीक्षण गर्ने, कोरोनाका बिरामीलाई निःशुल्क आयुर्वेदिक औषधी दिने, उनीहरूलाई हौसला प्रदान गर्नेलगायत काम गर्‍यौँ। आन्तरिक स्रोतबाटै आइसोलेससन सेन्टर निर्माण गरी बिरामीलाई उपचार सेवा दियौँ । 


कोरोना महामारीको दोस्रो लहर आउनुपूर्व ४० बेडको आइसोलेसन सेन्टर तयारी अवस्थामा राखेका थियौँ । दोस्रो लहरमा एकै पटक धेरै जना संक्रमित भएकाले नगरका बेड भरिए । हामीले अक्सिजनसहितको आइसोलेसन निर्माण गरेर बिरामीको सेवा गर्‍यौँ। बिरामीलाई अस्पतालसम्म पु¥याउन कठिनाइ हुन थालेपछि जनप्रतिनिधिले प्रयोग गर्दै आएका दुइटा स्कर्पियोलाई पनि एम्बुलेन्सको रूपमा प्रयोग गर्‍यौँ । अक्सिजन अभाव भएपछि हामीले अक्सिजन उद्योगमा पुगेर ल्यायौँ । बिरामीको चाप बढेपछि ४० बेडको आइसोलेसनलाई ६० बेडमा विस्तार गर्‍यौँ । तेस्रो लहर आउन सक्ने सम्भावना रहेकाले त्यसका लागि तयारी अवस्थामा छौँ । 

 

कोरोना महामारी व्यवस्थापनमा संघ र प्रदेश सरकारको समन्वय भएकै छ । संघीय सरकारले पालिका स्तरमा खोप नआउँदै खोप सुरु भएको सूचना गर्दा स्थानीय स्तरमा हामीलाई बढी प्रेसर पर्ने गरेको छ । एकातिर मागेअनुसारको खोप नपाइनु र अर्कोतिर सूचना अग्रिम जाँदा त्यसको व्यवस्थापन जटिल हुने गरेको महसुस हुन थालेको छ । 

 

कोरोना नियन्त्रणमा ठूलो बजेट खर्च भएको छ । पहिलो चरणको महामारीमा लामो समय लकडाउन भएकाले राहत वितरण गर्न विभिन्न राजनीतिक दल, संघ–संस्था, निकाय, व्यक्तिसँग सहयोग संकलन गरियो । हामीलाई १ करोड रुपैयाँभन्दा बढी रकम प्राप्त भएको थियो । दोस्रो चरणको महामारीमा हामीले संस्थागत रूपमा आह्वान नगरे पनि कतिपयले सहयोग गर्नुभयो । पहिलो प्राथमिकतामा कोरोना व्यवस्थापन परेकाले बजेट अभाव भएन । नगरका कर्मचारी र स्वास्थ्यकर्मीलाई परिचालन गरेर काम गर्‍यौँ। संघीय सरकारले  ल्याएको बजेटप्रति खास टिप्पणी छैन । नगरपालिकाका धेरै कुरा सम्बोधन भएका छन् । 

 

 
चार वर्षमा पूर्वाधारमा सडक कालोपत्रे, ग्राभेल, आफ्नै सुविधासम्पन्न प्रमुख प्रशासकीय भवन निर्माण, वडा कार्यालय, स्वास्थ्य संस्थाका भवन र सभाहल निर्माण गरिसकेका छौँ । 


प्रवद्र्धनसँगै नगरपालिकामा आन्तरिक आय बढाउन भ्युटावर निर्माण गरिएको छ । मोटरेबल पुल निर्माण, कल्भर्ट निर्माण, सिँचाइ कुलो, ढल तथा नाली निर्माण, तटबन्धनलगायत काम गरिएको छ । नगरको स्रोतबाट नयाँ विद्युतीकरण तथा पुराना पोल विस्थापन, ट्रान्समिटर जडानका काम पनि भएका छन् ।प्रतिबद्धताअनुसार दुग्ध प्रशोधन परियोजना, कोल्ड स्टोर परियोजना, तिलोत्तमा चक्रपथमा रेल सञ्चालनलगायत परियोजना अघि बढेका छन् । 


शिक्षालाई सुरुदेखि नै प्राथमिकतामा राख्यौँ । यसर्थ सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक गुणस्तरमा सुधार देखिन थालेको छ । सामुदायिक विद्यालयप्रति अभिभावक र विद्यार्थीको आकर्षण बढेको छ । हरेक वडामा स्वास्थ्य संस्था पुगेका छन् । कोरोना महामारी व्यवस्थापनका लागि पनि जिम्मेवारीका साथ काम गरेर ४० बेडको कोरोना अस्थायी अस्पताल निर्माण गरेका छौँ । 


 
कोभिड–१९ ले ल्याएको विषम परिस्थितिलाई समुचित सम्बोधन गरी रोजगारी सिर्जना, स्वास्थ्य, कृषि, शिक्षा र पूर्वाधार विकासमा यस वर्षको बजेट केन्द्रित रहेको छ । पुराना कामलाई निरन्तरता दिएका छौँ ।


कोभिड–१९ ले आर्थिक, सामाजिक तथा स्वास्थ्य क्षेत्रमा पारेको संकटबाट पार पाउन स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्नु, सरकारी स्वास्थ्य संस्थालाई सुदृढ बनाउनु, कृषि उत्पादनमा आत्मनिर्भर बन्नु अहिलेको अपरिहार्य आवश्यकतालाई नीति तथा कार्यक्रमले सम्बोधन गरेकाले बजेटमा भौतिक पूर्वाधारतर्फ नयाँ कार्यक्रम समावेश गर्न सकिएको छैन । 

 

स्थानीय कानुन निर्माण, पूर्ण सरसफाइ उन्मुख नगरपालिका घोषणा, काठमाडौं बाहिर पहिलो पटक लगानी सम्मेलन आयोजना, सामुदायिक विद्यालयमा दिवा खाजा, कलर कोड, छात्रालाई निःशुल्क स्यानिटरी प्याड, बिरामीलाई चाहिने रगतको सेवाशुल्क भुक्तानी, पशु बिमामा अनुदान, दुग्ध उत्पादक किसानलाई प्रतिलिटर १ रुपैयाँ अनुदान, नगरको स्वीकृतिबिना जग्गा प्लटिङमा रोक, नगरको आफ्नै नगर गीत, लोगो निर्माण, ट्राफिक लाइट व्यवस्थापनलगायत काम नियमित हुँदै आएभन्दा फरक हुन् । 

 

नगरपालिकाको विकास र समृद्धिका लागि हालसम्म सुरु गरेका कामलाई गन्तव्यमा पु¥याउँदै संस्थागत गराउने र चुनावका बेला गरिएका प्रतिबद्धतालाई कार्यान्वयन गराउने काम बाँकी कार्यकालमा हुनेछन् ।

 

नगरपालिकाको सीमित साधन–स्रोतले मात्र विकासका पूर्वाधार बनाउन नसकिने भएकाले यसमा सहयोग गर्न संघीय, प्रदेश सरकार र विकास साझेदार संस्थालाई अनुरोध गर्छौं । समस्या नभएसम्म काम हुन सक्दैन । समस्या भएपछि मात्र काम गर्ने हो । तर, साधन–स्रोत अर्थात् बजेट हाम्रा लागि प्रमुख चुनौती हो । नयाँ नगरपालिका भएकाले यहाँ सहरी पूर्वाधार जस्तैः सडक, ढल, खानेपानीलगायत पूर्वाधार निर्माणमा ठूलो रकम आवश्यक पर्छ । तर, हामीसँग बजेट कम छ । यसले चाहेर पनि काम गर्न सकेका छैनौँ । कतिपय नीतिगत कुरा पनि समस्याको रूपमा देखा पर्ने गरेका छन् । समग्रमा चुनावी प्रतिबद्धताअनुसार हामीले धेरै काम गर्न सफल भएका छौँ ।