close

पालुङटारका किसानलाई बैंकसँग जोड्न सक्यौँ

पालुङटारका किसानलाई बैंकसँग जोड्न सक्यौँ

Trulli
ADVERTISEMENT

दीपकबाबु कँडेल, नगरप्रमुख

पालुङटार नगरपालिका, गोरखा 


हामी निर्वाचित भएर आउनुअघि पालुङटारका किसान बैंकसँग जोडिन पाएका थिएनन् । तर, अहिले किसानलाई बैंकसँग जोड्ने काम गरेका छौँ । किसानलाई सरल कर्जा प्रदान गरेर उत्पादन बढाउन जोड दिएका छौँ । नगरपालिकामा सबै वडा कार्यलयसम्म सडक सञ्जाल पुगेको थिएन । सदरमुकामबाट सबै वडा कार्यालयसम्म पुग्ने सडक निर्माण गरिसकेका छौँ । नगरपालिकाको प्रशासनिक भवन पनि निर्माण भइसकेको छ । 


मुख्यतः भौतिक पूर्वाधारमै जोड दिएका छौँ । ‘हामीले चार वर्षको अवधिमा भौतिक पूर्वाधार विकासमा जोड दियौँ,’ उनले भने, ‘सदरमुकामबाट वडासम्म पुग्ने सडक, प्रशासनिक भवन निर्माणलगायत काम गरिसकेका छौँ ।’ शिक्षा क्षेत्रमा विद्यालय भवन निर्माण भएका छन् । नगरपालिकाले कार्य सञ्चालनका लागि ऐन, कानुन र कार्यविधि गरेर ३४ वटा निर्माण गरिसकेको छ । स्वास्थ्य क्षेत्रमा सबै वडामा स्वास्थ्य केन्द्र स्थापना भइसकेका छन् ।


नगरमा अस्पताल स्थापना गरिसकिएको छ । नगरलाई पूर्ण खोप घोषण गरिसकिएको छ । अन्तिम वर्षको बजेटमा पर्यटन र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेका छौँ । ‘यस वर्षको बजेटमा हामीले पूर्वाधारलाई बढी जोड दिएका छौँ,’ उनले भने, ‘किसानलाई राहत कार्यक्रम राखेका छौँ । पुराना अधुरा कामलाई निरन्तरता दिने योजना छ । अन्तिम वर्षको बजेट भएकाले धेरै नयाँ कार्यक्रमको योजना छैन ।’ 

 

संघको बजेट संघीताको मर्मअनुसारको नभएकाले पनि धेरै कुरा सोचेअनुरूप काम सम्पन्न हुन सकेनन् । ‘संघको बजेट संघीयताको मर्मअनुरूप आएको छैन,’ उनले भने, ‘योजना संघ र प्रदेशले आफैं ल्याएर स्थानीय तहमा हालेका छन् । त्योभन्दा बरु सर्सतमै दिएको भए हामी काम गर्ने थियौँ । तर, संघकै कार्यालय स्थापना गरेर योजना कार्यान्वयन भएको छ ।’ 

 

संघको निरन्तरको यस्तो बजेटले संघीयतालाई कमजोर बनाउनेछ । कोभिड नियन्त्रणमा पनि संघको सहयोगी भूमिका देखिएन । ‘कोभिड नियन्त्रणमा संघको उपस्थिति देखिएन,’ उनले भने, ‘सबै काम स्थानिय सरकारले गरेको छ । हामीलाई संघबाट बजेट, जनशक्ति र समन्वय केहीको पनि सहयोग भएन ।’


संघको केन्द्रमुखी व्यवहारका बाबजुद पालुङटार नगरपालिकाले कोभिड नियन्त्रणमा राम्रो भूमिका देखायो । पहिलो लहरमा विदेशबाट आउनेका लागि १० वटै वडामा क्वारेन्टाइन बनायौँ । पिसिआर परीक्षणपछि मात्रै क्वारेन्टाइनका मानिसलाई घर जाने व्यवस्था गर्‍यौँ । नगरपालिकाले परीक्षण र राम्रो व्यवस्थापन गरेकाले पहिलो लहरमा खासै असर परेन । ‘हाम्रो व्यवस्थित क्वारेन्टाइन अब्बल व्यवस्थापनले हिलो लहरमा भयावह स्थिति बेहोर्नुपरेन,’ नगरप्रमुख कँडेलले भने, ‘सहजै नियन्त्रण भयो ।’


दोस्रो लहरमा क्वारेन्टाइनमा राख्ने नीति हट्यो । होम आइसोलेसनको अवधारण संघले ल्यायो । सोहीअनुसार संक्रमण देखिएकालाई होम आइसोलेसनमा राख्यौँ । धेरै समस्या भएकालाई नगरको अस्पतालमा लगेर राखियो । नगरपालिकाले ३०/४० सिलिन्डर अक्सिजन पहिले नै तयारी राखेकाले यसको समेत अभाव भएन । ‘हामीसँग अस्पताल थियो,’ उनले भने, ‘अक्सिजन ३०/४० सिलिन्डर तयारी अवस्था थियो । हामीले बिरामीलाई अभाव हुन दिएनौँ ।’ तेस्रो लहरका लागि नगरपालिका तयारी अवस्थामै छ ।