close

संघीयतालाई संस्थागत गर्न स्थानीय तहमा बजेट खन्याइनुपर्छ

संघीयतालाई संस्थागत गर्न स्थानीय तहमा बजेट खन्याइनुपर्छ

Trulli
ADVERTISEMENT

ओनाहाङ नेम्बाङ, नगरप्रमुख 
फिदिम नगरपालिका, पाँचथर 


फिदिम नगरपालिकाका नगरप्रमुख ओनाहाङ नेम्बाङ निर्वाचित भएर आएको चार वर्ष पूरा भइसकेको छ । उनले निर्वाचनअघि नगरबासीलाई विकास निर्माणका थुप्रै प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यकालको अन्तिम वर्ष आइपुग्दा उनले धेरै काम गरिसकेका छन् । फिदिम नगरपालिका पर्यटकीय हिसाबले धेरै सम्भावना बोकेको क्षेत्र भएकाले नगरमा अहिले पर्यटकीय क्षेत्रमा पूर्वाधारको विकास गरेको उनले बताए । ‘हाम्रो नगर पर्यटनको धेरै सम्भावना बोकेको क्षेत्र हो,’ उनले भने, ‘धेरै ऐतिहासिक र धार्मिक स्थल छन् । हामीले यो क्षेत्रमा पूर्वाधार विकास गरिरहेका छौँ ।’


फिदिम नगरपालिकामा रिङरोड निर्माण गर्ने योजना कार्यान्वयन चरणमा रहेको छ । पहाडी क्षेत्र भएकाले नगरका सबै वडा कार्यालयसम्म पुग्ने सडक थिएन । तर, नगरप्रमुख नेम्बाङले अहिले हरेक वडा कार्यालयसम्म पुग्ने सडक निर्माण गरिसकेका छन् । शिक्षा क्षेत्रको विकासका लागि नगरपालिकाले भौतिक संरचना बनाउने, शिक्षकलाई तालिम दिनेलगायत काम गरिरहेको छ । अहिले केन्द्रले विद्यालयको सहयोगी कार्यकर्ताको बोझ स्थानीय सरकारलाई बोकाइदिएकाले समस्या भएको नगरप्रमुख नेम्बाङले बताए । ‘हामीलाई विद्यालयका सहयोगी कार्यकर्ताको तलब बेहोर्ने गरी बजेट बनाएको छ,’ उनले भने, ‘यो बोझ भएको छ । हाम्रो आन्तरिक स्रोतले धान्न सकिने अवस्था छैन ।’ 


यस वर्षको बजेटमा पुराना अधुरा काम पूरा गर्ने योजना नगरको छ । मुख्य प्राथमिकता स्वास्थ्य, कृषि र पर्यटनलाई दिइएको नगरप्रमुख नेम्वाङको भनाइ छ । नगरपालिकाले अहिले ७÷८ वटा कानुन निर्माण गरिसकेको छ । पहिलो निर्वाचित जनप्रतिनिधि भएकाले प्रदेश र संघले कानुन नबनाइदिएर अड्किएको उनले बताए । ‘संघ र प्रदेशको कानुन नबनेर हामीले धेरै काम गर्न पाएका छैनौँ,’ उनले भने, ‘पहिलो नयाँ प्रतिनिधि हामीले केही राम्रा कामलाई संस्थागत गरिसकेका छौँ ।’  विकासका ठूला–ठूला काम भने संघीय सरकारले बजेट नदिएकाले गर्न नसकिएको उनको भनाइ छ । विकास बजेटमा प्रदेशले पनि सहयोग नगरेको उनले बताए ।

 

संघले हरेक वर्ष ल्याउने बजेट पुरानै संरचनाअनुसारको भएको उनको तर्क छ । बजेटले स्थानीय सरकारको विषयलाई नसमेटेको उनले बताए । ‘बजेटले स्थानीय सरकारको मुख्य विषयलाई समेट्न सकेको छैन,’ उनले भने, ‘भौगोलिक हिसाबले संघीयतालाई संस्थागत गर्न आत्मनिर्भर बनाउनुपर्छ । त्यतातिर केन्द्रको कुनै ध्यान छैन ।’


कोरोना महामारी नियन्त्रणमा पनि पाँचथर नगरपालिकाले अब्बल भूमिका खेल्यो । पहाडी जिल्ला भएकाले ठूलो संक्रमण नफैलिए पनि अछुतो भने रहेन । नगरले संक्रमण फैलिन नदिन सुरुआती दिनमा जनचेतना फैलाउने, आउजाउ बन्द गर्ने काम गरेको थियो । त्यस्तै, काठमाडौंलगायत सहर र बाह्य देशबाट आउनेका लागि क्वारेन्टाइन बनाइएको थियो । नगरपालिकाले संक्रमितको उपचारका लागि १० बेडको आइसोलेसन बनाएको थियो । नगरपालिकामा जिल्ला अस्पताल भएकाले त्यसलाई २० लाख रुपैयाँ सहयोग गरेर अस्पतालको सेवासमेत नगरबासीलाई उपलब्ध गराएको उनले बताए । ‘हामीलाई काठमाडौंलगायत सहरबाट धेरै मान्छे आएकाले समस्या भएको थियो,’ उनले भने, ‘तर, हामीसँग क्वारेन्टाइन र आइसोलेसन तयारी थिए । त्यसैअनुसार गर्‍यौँ । जिल्ला अस्पताल भएकाले हामीलाई सहज भयो ।’


कोरोना नियन्त्रणमा गरेको खर्च नगरले नै विपद् कोषबाट गरेको उनले बताए । संघीय र प्रदेश सरकारले स्वास्थ्य सामाग्री दिनेबाहेक आर्थिक सहायता नआएको उनको भनाइ छ ।