close

यसरी उत्कृष्ट भयो तिलोत्तमा 

यसरी उत्कृष्ट भयो तिलोत्तमा 

Trulli
ADVERTISEMENT

बुटवल र भैरहवाको मध्यभागमा अवस्थित तिलोत्तमा नगरपालिका स्थानीय सरकार बनेदेखि जनमुखी कार्यक्रम ल्याएर उदाहरणीय नगरपालिका बनेको छ  । साविकका मधवलिया, करहिया, टिकुलिगढ, मक्रहर, शंकरनगर र आनन्दवन गाउँ विकास समिति मिलेर २०७१ मा बनेको तिलोत्तमा नेपालकै नमुना नगरपालिका हो । नेपाल नगरपालिका संघको २८ औं वार्षिकोत्सवको अवसरमा आर्थिक वर्ष २०७६/७७ मा सहरी सेवा प्रवाह तथा सुशासनमा उल्लेखनीय कार्यसम्पादन गरेको भन्दै तिलोत्तमालाई मुलुकभरका महानगर, उपमहानगर र नगरपालिकामध्ये उत्कृष्ट घोषणा गरिएको थियो ।


नगरपालिका बन्दा २०७१ मा सबै अस्थायी संरचना रहेको तिलोत्तमाले झण्डै चार वर्षमा सुविधासम्पन्न प्रमुख प्रशासकीय भवन निर्माण, वडा कार्यालय, स्वास्थ्य संस्थाका भवन, सडक कालोपत्रे, खानेपानी, विद्युत् कलवड पार्कलगायतमा उल्लेखनीय काम गरेको छ । दुग्ध प्रशोधन, कोल्डस्टोर र चक्रपथमा रेल सञ्चालनलगायतका परियोजना अघि सारेको छ । नगरपालिका प्रमुख वासुदेव घिमिरेका अनुसार १७ वडाका आफ्नै कार्यालय भवन यही वर्षभित्र निर्माण भइसक्छन् । नगरपालिकाले आन्तरिक आय बढाउन शंकरनगर वनबाटिकामा बहुउद्देश्यीय भ्युटावर निर्माण गरेको छ । मोटरेबल पुल, कल्भर्ट, ह्युमपाइप, सिँचाइ कुलो, ढल तथा नाली, तटबन्धन निर्माणको काम गरेको छ । 


के–के गरिरहेको छ नगरपालिकाले ?


नगरपालिकाले प्रशासनिक भवन ९ करोडमा निर्माण गरी त्यही भवनबाट सेवा प्रवाह गरिरहेको छ । शंकरनगर वनबाटिकामा १३ करोड ८५ लाख ११ हजार रुपैयाँ विनियोजन गरेर बहुउद्देश्यीय भ्युटावर निर्माण गरिरहेको छ । भ्युटावर देशकै दोश्रो ठुलो भएको नगरप्रमुख घिमिरेले बताए । आइटी कलेज निर्माणका लागि २ करोड ५३ लाख बजेट विनियोजन गरेको छ । वडा नं ९मा सभाहल तथा अतिथि गृह निर्माणका लागि ४ करोड छुट्टयाएर निर्माण कार्य अन्तिम चरणमा पु¥याएको छ । आफ्नै कार्यालय नभएका १,  ३, ४, ५, ८, ९, १०, ११, १३ र १६ नम्बर वडामा ८ करोड ३० लाख लगानीका कार्यलय नमार्ण गरिएको छ । आनन्दवन स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नति गर्न ६ करोड विनियोजन गरी शिलान्यास भएको छ ।

 

वडा नम्बर ३, ४, ७, ८, ९, ११ र १२ मा रहेका स्वास्थ्य चौकीमा नयाँ भवन बनाइएको छ । २३ लाख खर्च गरेर ९ नम्बर वडामा जेष्ठ नागरिक मिलन केन्द्र निमार्ण सुरु गरेको छ । मणिग्रामदेखि कोटीहवासम्म २० लाख लगानीमा ६ वायो शौचालय निमार्ण गरेको छ । वडा नम्बर २ योगीकुटीमा ८० लाख, तथा डाइभरटोलमा ३० लाख, वडा नं ६ मा एक करोड, भलवाडीमा ८५ लाख, सेमरा बजारमा १ करोड १० लाख, रेहरामा ७० लाख र कोटीहवामा ५० लाख खर्चेर हाट बजार र बजार क्षेत्र विस्तारका लागि पुर्वाधार निमार्ण गरेको छ । नगरपालिका क्षेत्र भित्रेका ४३ विद्यालय १ करोड ५० लाख खर्चेर मर्मत तथा एकै प्रकारको रङरोगन गरेको छ । 


४ वर्षमा १५ करोड खर्चेर ३७ किलोमिटर सडक पिच गरेको छ । १० करोड खर्चेर ८४ किलोमिटर सडक ग्राभेल गरेको छ । खानेपानीमा १७ लाख, सिचार्इंमा २ करोड लगानी गरेको छ । त्यस्तै ढल तथा नालीमा १ करोड, सामुदायिक भवनमा ८० लाख, खेल मैदान पार्कलगायतका पुर्वाधार निमार्णमा १ करोड १५ लाख बजेट विनियोजन गरिएको इन्जिनियर प्रदिप वन जानकारी दिए । 


नगरपालिकाले सामुदायिक विद्यालयका बालविकास केन्द्र र कक्षा १ देखि ५ सम्मका लक्षित वर्गका विद्यार्थीलाई हरेक दिन २५ रूपैयाँ बराबरको दिवा खाजाको व्यवस्था गरेको थियो । त्यसलाई अहिले संघीय सरकारले आफ्नो योजनामा समेटेको छ । माध्यामिक तह सञ्चालनमा रहेका सामुदायिक विद्यालयमा नगरपालिकाको शिक्षक अनुदान कोटामा १४ शिक्षक राखेको छ । बाल विकास केन्द्रका सहयोगीलाई नगरपालिकाबाट मासिक तीन हजार रूपैयाँ प्रोत्साहन भत्ता थप गरेको छ । 


नगर प्रमुख छात्रवृत्ति कोषबाट हरेक वर्ष सबै सामुदायिक विद्यालयका १÷१ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण र सामुदायिक विद्यालयका छात्राहरूलाई निःशुल्क स्यानिटरी प्याडको व्यवस्था गरेको छ । यातायात सञ्चालन गर्न ६ विद्यालयहरूलाई १०/१० लाख अनुदान प्रदान गरेको छ । सबै सामुदायिक विद्यालयलाई निजी विद्यालय सरहको हैसियतामा पुर्‍याएर विद्यार्थी र अभिभावकको आकर्षण बढाउन लागिपरेको नगर प्रमुख घिमिरेले बताए ।


नगरपालिकाले मुलुकमै पहिलोपटक स्थानीय कानुन निर्माण, पूर्ण सरसफाईउन्मुख नगरपालिका घोषणा, काठमाडौं बाहिर पहिलोपटक लगानी सम्मेलन आयोजना, सामुदायिक विद्यालयमा दिवा खाजा, छात्राहरूलाई निःशुल्क सेनेटरी प्याड, पशु बीमामा अनुदान, दुग्ध उत्पादक किसानलाई प्रतिलिटर एक रुपैयाँ अनुदानको व्यवस्था गरेको छ । नगरका बर्थिङ सेन्टरमा सुत्केरी सेवा लिने महिलालाई एक हजार प्रोत्साहन भत्ता, गर्भवती महिलालाई नगरपालिकाको स्रोतबाट निःशुल्क क्याल्सियम चक्की वितरण र विद्यालयबाटै विद्यार्थीहरूलाई स्वास्थ्य सेवा दिन १२ विद्यालयमा विद्यालय नर्स कार्यक्रम कार्यान्वयन गरिएको छ ।



हामी देशकै नमुना नगरपालिका बन्ने प्रयासमा छाैँ 


वासुदेव घिमिरे, नगर प्रमुख, तिलोत्तमा नगरपालिका 


हामी आउँदा नगरपालिका कार्यालय राख्न आफ्नै भवन थिएन । प्रशासनिक भवन र १० वडाका आफ्नै कार्यालय निर्माण गरिसकेका छौं । स्वास्थ्य, सडक, खानेपानी, सिचार्इं, क्याम्पस, सार्वजानीक शौचालय, हाट बजारलगायतका थुप्रै काम अघि बढेका छन् । नगरबासीलाई  स्वच्छ खानेपानी पुर्‍याउने लक्ष्य छ । हामीले ४० किलोमिटर पक्की सडक र ८४ किलोमिटर ग्राभेल सडक निर्माण भएको छ । प्राविधिक कलेज, सभाहलदेखि शौचालयसम्म बनाएका छौं । 


आवश्यकताअनुसार सबै क्षेत्रलाई सहज हुनेगरी पुर्वाधार निर्माण भइरहेका छन् । नगरबासीको चाहनाअनुसार काम गर्ने प्रयासमा हामी छाैँ । सबैलाई समेटेर काम गरेकाले नै मुलुकभरमा तिलोत्तमा उत्कृष्ट नगरपालिका पुरस्कृत भएको छ । सहरी सेवा प्रवाह तथा सुशासनमा उल्लेखनीय कार्यसम्पादन गरेको मुल्यांकन गर्दै हामीलाई उत्कृष्ट नगरपालिका पुरस्कार– २०७७ प्रदान गरिएको छ । हामीले यो कारणले पुरस्कार पाएका हौं भन्दा पनि हामीले गरेका काम पुरस्कारका लागि योग्य भएछन् भन्ने मलाई लाग्छ । स्थानीय सरकार जनताको सुख, दुःखको साथी हो । नागरिकलाई सरकारको अनूभूति दिलाउने स्थानीय सरकारले नै हो । स्थानीय सरकार सञ्चालन ऐनमा भएको व्यवस्थाअनुसार काम ग¥यो भने नागरिकलाई परिवर्तनको अनुभूति दिलाउन सकिन्छ । नागरिकको साथ, सहयोग र सहकार्यमा काम गर्दा जनसमर्थन प्राप्त हुन्छ । 


कतिपय काम गर्दा सीमित व्यक्ति असन्तुष्ट भए पनि त्यो कामले बहुसंख्यकलाई हित गर्छ, सामाजिक न्याय स्थापित गर्छ भने हामीले त्यो काम गर्नुपर्छ । यसरी असल नियतले बहुसंख्यकलाई हित गर्नेगरी सर्वोपरी हितको काम गर्दा जनसमर्थन प्राप्त हुँदोरहेछ भन्ने अनुभव मैले प्राप्त गरेको छुँ । 


एउटा पालिकाले सुरु गरेको असल अभ्यास अर्कोले आत्मसाथ गर्दै जाने हो भने त्यसले परिवर्तन ल्याउँछ भन्ने मेरो मान्यता छ । यस्तै काम गरेकाले हामीले नागरिकको मन जित्न सकेका छौं ।