close

संघीयताको जग बसाउन सफल भएका छौँ

संघीयताको जग बसाउन सफल भएका छौँ

Trulli
ADVERTISEMENT

गोर्खबहादुर केसी
नगरप्रमुख, आठबिसकोट नगरपालिका, रुकुम पश्चिम


रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा पहिलो निर्वाचित नगरप्रमुखको हैसियतमा शून्य अवस्थाबाटै काम सुरु गरेका हौँ । समृद्ध नगरको सपनालाई बोकेर स्थानीय तहको मैदानमा उत्रिएँ । नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिएर आठबिसकोट नगरपालिकामा लोकप्रिय मतसहित निर्वाचित भएपछि जनताका विकास निर्माणका सपनालाई पूरा गर्दै गएका छौँ । स्थानीय तहको निर्वाचन भएको झन्डै पाँच वर्ष बित्न लागेको छ । यस अवधिमा नगरपालिकामा धेरै काम भएका छन् ।


स्थानीय सरकारको प्रभावकारिता र अभ्यासमा केही समस्या देखिए पनि त्यसलाई क्रमशः समाधान नजिक पुर्‍याएका छौँ । नगरपालिकाको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित भइसकेकाले अहिले त्यसलाई कार्यान्वयनमा लगिरहेका छौँ । 


खासगरी नेपाललाई संघीय संरचनामा लगिएपछिको स्थानीय तहको यो पहिलो चुनाव थियो । पहिलो निर्वाचित जनप्रतिनिधि भएका कारणले हामीले पहिलो चरणमा जग बसाउने काम गरेका छौँ । अब आउने जनप्रतिनिधिलाई काम गर्न यसले धेरै सहज गर्नेछ । पहिलो पटक निर्वाचित हुँदाको समय विभिन्न कठिनाइ थिए । झन्डै पाँच वर्षको समय ठूलो मिहिनेत गरेकै कारण चुनौती चिर्न सफल भएका छौँ । नगरपालिकामा पूर्वाधार, स्वास्थ्य, शिक्षा, यातायात, सडक, सिँचाइ, खानेपानीलगायत क्षेत्रमा उल्लेखनीय सुधार भएको छ । 

 

श्रममार्फत उत्पादनलाई पनि जोड दिएका छौँ । यी समग्र पाटोलाई हेरेर अब आठबिसकोट नगरपालिकालाई कसरी समृद्ध नगरतिर लैजाने भन्ने योजनामा छलफल गरिरहेका छौँ । शिक्षा र स्वास्थ्यको क्षेत्रमा विद्यालय व्यवस्थापन समितिलाई तालिम दिने काम, विद्यार्थी, प्रधानाध्यापकलाई भारतका विद्यालयमा रहेका विज्ञान प्रयोगशाला अवलोकन, भौतिक तथा गुणस्तर सुधारका काम गरेका छौँ । शिक्षकलाई पनि विभिन्न विषयमा रहेर तालिम दिइरहेका छौँ । २०२८ सम्म शिक्षामा नागरिक पहुँच अति कम थियो । शिक्षाले सबै नागरिकलाई छोएन । पछि पहुँच विस्तार गरियो । स्रोत–साधन विस्तार गरिएन । हाम्रो नगरपालिकामा पनि यही अवस्था थियो । सुरुमा विद्यालय खोल्न सरकारले अनुमति दिए पनि कुनै पनि शिक्षक दरबन्दीको व्यवस्था थिएन ।

 

जनताले निजी स्रोतबाट शिक्षक व्यवस्थापन गरेका थिए । शिक्षक तलबविहीन थिए । त्यसले गर्दा शिक्षा क्षेत्र नाजुक अवस्थामा थियो । पहिलो चरणमा हामीले यी सबै समस्या समाधान गर्न शिक्षा प्रणालीमा रहेको शैक्षिक अवस्थालाई गहिरो अध्ययन गर्‍यौँ र जथाभावी खोलिएका निजी विद्यालयको व्यस्थापन, भूगोलअनुसार विद्यालय गाभ्ने र विद्यालय सुधारका लागि गुरुयोजनामार्फत शिक्षा क्षेत्रलाई सुधार गरेका छौँ । सोही कारण पढाइ केन्द्रित विद्यालयको नतिजामा सुधार हुँदै गएको छ । सुरुको वर्षमा ८ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण हुने विद्यालयमा अहिले बढेर ५०/५५ प्रतिशत पुगेको छ । हाम्रो निरन्तर मिहिनेतले शिक्षामा उल्लेखनीय सुधार भएको छ । हामी नै नेपालभरकै नगरपालिका हौँ, जसले २०५ जना शिक्षकलाई नगर आफैंले  व्यवस्थापन गरेर काम गराइरहेको छ ।

 

भौतिक संरचनामध्ये सुरु अवस्थामा ६३ विद्यालयमध्ये ९ वटा मात्रै पक्की भवन थिए । अहिले ३४ वटा पक्की भवन छन् र तत्कालै २१ वटा थप गर्दै छौँ । समग्रमा विद्यालयको संस्थागत विकास, प्रभावकारी नेतृत्व निर्माणसँग गाँसिएका विविध पक्ष समेटेर शैक्षिक क्षेत्रलाई थप सुधार गर्ने प्रयत्नमा छौँ ।


हामीले स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकता दिएका छौँ । सोहीअनुरूप काम गरिरहेका छौँ । स्वास्थ्य क्षेत्रमा आधारभूत स्वास्थ्य सेवाको प्रत्याभूति र सबै वडामा सरकारी स्वास्थ्य संस्था स्थापना, स्वास्थ्यसम्बन्धी जनशक्ति स्वास्थ्य संस्थासम्म पुर्‍याउने, संविधानले प्रत्याभूत गरेका स्वास्थ्यसम्बन्धी हक कार्यान्वयन, औषधी तथा उपकरण, मापदण्डअनुसारको भौतिक पूर्वधारसहितको गुणस्तरीय स्वास्थ्य सेवाको उपलब्धता र रोग नियन्त्रण तथा प्राकृतिक प्रकोप व्यवस्थापनलगायत सबै स्वास्थ्य क्षेत्रमा अनुगमन तथा योजना सुदृढीकरण कार्यक्रम अघि सारेका छौँ । स्वास्थ्य क्षेत्रमा यो साढे चार वर्षको अवधिमा हामीले एक किसिमको नयाँ क्रान्ति गरेका छौँ ।

 

स्वास्थ्य संस्था र जनशक्तिको कुरा गर्ने हो भने सुरुको चरणमा ५ वटा स्वास्थ्य संस्था र कार्यालय सहयोगीसहित २१ जना स्वास्थ्यकर्मी थिए । नगरपालिकामा सबभन्दा बढी समस्या शिक्षा र स्वास्थ्य क्षेत्रमै थियो । हामीले चुनावका बेला जनतालाई वाचा गरेअनुसार अहिले २५ वटा स्वास्थ्य संस्था र १२५ जना जनशक्ति पुर्‍याइसकेका छौँ । निर्वाचित भएकै वर्षदेखि भूगोल र जनताको मागअनुसार हामीले पालिका केन्द्रमा सुविधासम्पन्न स्वास्थ्य संस्था र दक्ष जनशक्ति परिचालन गरेका छौँ ।

 

विकास योजना सञ्चालन गर्दा चुनौती सामना गर्नुपरे पनि यसलाई समाधान नजिक लगिरहेका छौँ । चुनौतीलाई अवसरको रूपमा लिएर काम गरेका छौँ । संविधानले दिएको अधिकारलाई प्रयोग गर्ने कुरामा कयौँ कानुनी समस्या थिए । वडा, नगरपालिकाको भर्खरै मात्र पुनर्संरचना बन्दै थियो । भौतिक पूर्वाधार, कर्मचारी व्यवस्थापन, कानुनी अस्पष्टतालगायत थुप्रै समस्या थिए । ती समस्या सल्टाउनैका लागि जनतामाझ गएका थियौँ । 


नगरपालिकामा आधारभूत आवश्यकता तथा विकासका पूर्वाधारको उचित व्यवस्था हुनुपर्छ । हरेक वर्षझैँ विकास निर्माणका कार्यलाई निरन्तरता दिँदै विद्युतीकरणलाई पनि प्राथमिकतामा राखेका छौँ । नगरपालिकाको केन्द्रमा बत्ती थिएन । कार्यसम्पादन गर्न निकै अप्ठेरो थियो । स्थानीय उत्पादनका विद्युत् भरपर्दो नहुँदा निकै समस्या झेल्नुप¥यो । विद्युत् प्राधिकरणसँगको सहकार्यमा अहिले बजारमा केन्द्रीय लाइनमार्फत बत्ती बलिरहेको छ । यही कार्यकालभित्रै सबै वडामा बत्ती बाल्ने लक्ष्य लिएका छौँ । केन्द्रीय प्रसारण लाइन पुगेपछि अब सञ्चार क्षेत्रलाई पनि थप मर्मत गर्दै छौँ । नेपाल टेलिकमको नेटवर्क अहिलेसम्म सोलारबाट चल्दै आएको छ । यो त्यति भरपर्दो नहुँदा केन्द्रीय प्रसारण लाइन पुगेसँगै हामीले फोरजी सेवा जडान गरेका छौँ । 


सडक निर्माणका कुरा गर्ने हो भने अहिले नगरपालिकामा मोटामोटी ३ सय किलोमिटर सडक छ । नगरपालिकाको सबै वडामा सडक पु¥याउने योजना अघि सारेका छौँ । भौगोलिक रूपमा सबैभन्दा विकट १ नम्बर वडामा पनि हेलिकोप्टरबाट डोजर ओसारेरै सडक खन्ने तयारीमा छौँ । पहिले सदरमुकामसम्म पुग्नलाई १ दिनभर हिँड्नुपर्ने बाध्यता टरेको छ । मुख्य सडक चिसापानी राडिज्युला सडक पिच हुने प्रक्रियामा छ । मुसीकोट, नदुवा राडी सडक खण्डलाई विस्तारै विस्तार गर्ने योजनामा छौँ ।


नगरबासीलाई स्थानीय सरकार सबैभन्दा नजिकको सरकार भएको महसुस हुने गरी काम गरिरहेका छौँ । स्थानीय सरकार भनेको जनताको सुखदुःखको साथी हो । स्थानीय सरकारले नै नागरिकलाई सरकारको अनूभूति दिलाउने हो । स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय सरकारलाई धेरै अधिकार दिएको छ । सोहीअनुसार काम गर्ने हो भने हामीले नगरबासीलाई परिवर्तनको अनुभूति दिलाउन सक्छौँ । त्यसमा स्थानीय बासिन्दाको साथ, सहयोग र सहकार्य अपरिहार्य छ । 

हामीले नगरपालिकामा राम्रो काम गरेकैले नागरिक पनि खुसी छन् । कोरोना महामारीमा पनि नागरिकलाई स्थानीय सरकार भएको अनुभूति दिलाउन सफल भएजस्तो लाग्छ । हामी त्यतिबेला प्रत्यक्ष रूपमा जनताको स्वास्थ्यलाई ध्यानमा राखेर खटिएका थियौँ । प्रदेश, संघ सरकारको सहयोगबिनै हामीले १० दिनमै कोरोना अस्पताल निर्माण गरेर ८० जनालाई उपचार दिएका थियौँ । 


जनप्रतिनिधि जहिले पनि जनताको सेवक हो । सधँै सेवामुखी हुनुपर्छ । जनप्रतिनिधिको प्रमुख दायित्व भनेकै लोककल्याणकारी काम गर्नु हो । तर, अस्वाभाविक ढंगले भत्ता बढाएर लोकप्रिय बन्न खोज्नु गलत काम हो । चुनावी मैदानमा जाँदा जनतालाई दिएका आश्वासन कतिपय पूरा भए पनि कतिपय हुने क्रममा छन् । संघीयताको वास्तविक अनुभूति दिलाउन स्थानीय तहको अहं भूमिका छ । चुनावताका भोट माग्ने बेलामा होस् या सार्वजनिक कार्यक्रममा । आफूले गर्छु भनेका काम, प्रतिबद्धता जसले पनि पूरा गर्नुपर्छ । समृद्ध नगर निर्माणको अवधारणाअनुसार शिक्षा, स्वास्थ्य, रोजगार, यातायात, कृषि, सडकलगायत थुप्रै योजना छन् । युवालाई स्वरोजगार बनाउन घरेलु तथा साना उद्योग स्थापनामा जोड दिएका छौँ ।

 

स्थानीय स्तरमै उत्पादनलाई जोड दिन उद्योग स्थापनाको काम भइरहेको छ । आयआर्जन, आर्थिक स्तर वृद्धिका काम प्रतिबद्धताअनुसार भइरहेका छन् ।
सुशासनयुक्त समृद्ध नगर निर्माणका लागि हामीले समृद्ध गाउँ सहरको रहर, स्वस्थ सफा सुशासनयुक्त न्यायिक र समाजवाद उन्मुख आठबिसकोट नगर नारा अघि सारेका छौँ । स्वस्थ र सफा सहर बनाउने अभियान सुरु गरेका छौँ । यसअन्तर्गत प्रत्येक वडामा स्वास्थ्य कार्यालय निर्माण गरिएको छ । नागरिकको आधारभूत आवश्यकता पूर्तिका लागि कृषिका योजना अगाडि बढेका छन् । आर्थिक, सामाजिक रुपान्तरणका लागि कृषि क्षेत्रलाई बढी जोड दिएका छौँ ।

 

नगरपालिका सञ्चालनका लागि सबैभन्दा आन्तरिक स्रोतको बढी महत्त्व हुन्छ । आन्तरिक स्रोत भएन भने स्थानीय तहमा विकास हुनै सक्दैन । त्यसका लागि उत्पादनमा जोड दिनुपर्छ । 


आठबिसकोटको सन्दर्भमा कर्मचारी प्रशासन चुस्तदुरुस्त छ । हामी कार्यक्षेत्रको मूल्यांकन गर्छौं । कहीँकतै गुनासो आएको छैन । स्थानीय तहले आफ्नो गाउँ वा नगर कस्तो बनाउने भन्ने कुरा उनीहरूको कार्यसम्पादन क्षमता र उपलब्धिले निर्धारण गर्छ । संवैधानिक रूपमा स्थानीय सरकार भइसकेकाले हामी नगरबासीसँगै अगाडि बढेका छौँ । 


(केसीसँग पालिका खबरका लागि अर्जुन विष्टले गरेको कुराकानीमा आधारित)