close

स्थानीय तहको निर्वाचन प्रक्रिया तत्काल सुरु गर्न माग

स्थानीय तहको निर्वाचन प्रक्रिया तत्काल सुरु गर्न माग

Trulli
ADVERTISEMENT

काठमाडौं–नेपालको संविधानबमोजिम पुनर्संरचित स्थानीय तहको निर्वाचन भएको पाँच वर्षे कार्यकाल समाप्त हुँदै छ ।गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघ संयुक्त विज्ञप्ति निकालेर निर्वाचन प्रक्रिया तत्काल सुरु गर्न सरकार र निर्वाचन आयोगसँग माग गरेका छन् ।

 

स्थानीय तहको निर्वाचन ऐन, २०७३ बमोजिम तीन चरणमा भएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको अवधि क्रमशः ७ जेठ ०७९, २१ असार र ७ असोजमा सकिने भएकाले दोस्रो कार्यकालका लागि तत्काल निर्वाचन प्रक्रिया सुरु ती संस्थाले सरकार र आयोगको ध्यानाकर्षण गराएका हुन् ।

 

संविधान र स्थानीय तह निर्वाचन ऐनले एक दिन पनि जनप्रतिनिधिविहीन स्थानीय तहको परिकल्पना नगरेको ती संस्थाको भनाइ छ । स्थानीय तहको कार्यभार प्रदेश वा संघीय सरकारले सञ्चालन र व्यवस्थापन गर्ने व्यवस्था छैन ।

 

संविधानले नै जनप्रतिनिधिबिनाको स्थानीय सरकार र कार्यपालिकाको व्यवस्था नगरेको र म्याद थपको व्यवस्था पनि नभएकाले निर्वाचन प्रक्रिया तत्काल थाल्नुपर्ने उनीहरूको माग छ ।

 

कथमं कदाचित समयमै निर्वाचन नभए संवैधानिक संकट आउने र यसले वार्षिक नीति तथा कार्यक्रम र बजेट स्वीकृत गर्ने, स्थानीय सञ्चित कोष व्यवस्थापन, बजेट खर्चको अख्तियारी दिने, कानुन निर्माण प्रक्रिया, योजना तर्जुमा, कार्यान्वयन र अनुगमन प्रणाली अवरुद्ध हुने अवस्था आउन नदिनेतर्फ ती संस्थाले सचेत गराएका छन् ।

 

त्यसैगरी प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष र वडाध्यक्षले गर्दै आएका सिफारिसलगायत अन्य काम नहुँदा सेवा प्रवाह अवरुद्ध भई लोकतन्त्र र संघीय शासन प्रणालीप्रति जनमानसमा नकारात्मक प्रभाव पर्नेतर्फ उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । आवधिक निर्वाचन लोकतन्त्रको मेरुदण्ड भएकाले विगतमा निर्वाचन नगर्दा स्थानीय निकाय जनप्रतिनिधिविहीन हुनुपरेको उनीहरूले औँल्याएका छन् ।

 

स्थानीय लोकतन्त्रको संस्थागत विकासमा ०५९-०७४ प्रतिकूल रहेको उनीहरूले स्मरण गराएका छन् । स्थानीय सरकारका सबै जनप्रतिनिधिको समयमै आवधिक निर्वाचन सम्पन्न होस्, एक दिन पनि स्थानीय सरकारजन प्रतिनिधिविहीन नहोस् भन्ने चाहना रहेको उनीहरूको तर्क छ ।

 

संविधान र विद्यमान कानुनअनुसार स्थानीय तहको निर्वाचन आगामी जेठभित्र अनिवार्य गरिसक्नुपर्नेछ । निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले कम्तीमा १ सय २० दिनको समय चाहिने बताइरहेको सन्दर्भमा तत्काल निर्वाचन मिति घोषणा गर्न उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।

 

संघीय प्रणाली मातहत सरकारमा जनप्रतिनिधिबेगरको कार्यकारी निकाय कल्पनै गर्न नसकिने र स्थानीय तहको कार्यकारी निकाय अविच्छिन्न उत्तराधिकारवाला संस्था भएकाले संवैधानिक संकट आउनेतर्फ ध्यानाकर्षण गराइएको छ ।

 

संविधानको कार्यान्वयन र संघीयताको संस्थागत विकासका लागि तोकिएको समयमै आवधिक निर्वाचन गर्नुको विकल्प नभएकाले निर्वाचनको वातावरण सिर्जना गर्न आयोग र सबै राजनीतिक दल गम्भीर हुनुपर्नेमा उनीहरूको जोड छ ।

 

राष्ट्रिय महासंघ अध्यक्ष होमनारायण श्रेष्ठ, नेपाल नगरपालिका संघ अध्यक्ष अशोककुमार व्याञ्जु र जिल्ला समन्वय समिति महासंघ अध्यक्ष नवराज गेलालले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।