close

‘१२ वटै वडामा बाह्रैमास गाडी गुड्ने सडक बनाएका छौँ’

‘१२ वटै वडामा बाह्रैमास गाडी गुड्ने सडक बनाएका छौँ’

Trulli
ADVERTISEMENT

वंशलाल तामाङ, अध्यक्ष, इन्द्रावती गाउँपालिका, सिन्धुपाल्चोक 


इन्द्रावती गाउँपालिका भौगोलिक हिसाबले २४०० मिटरदेखि ७ सय मिटर उचाइमा अवस्थित छ । हिमाल, पहाड र तराईमा भौगोलिक विविधता छ । जनजातिहरूको विविधतायुक्त भएको गाउँपालिका पनि हो यो । सीमान्तकृत माझी दनुवारदेखि ब्राम्हण क्षेत्रीसम्मको बसोबास छ । धार्मिक पर्यटकीय दृष्टिकोणले इन्द्रावती प्रख्यात ठाउँ हो । प्रचारप्रसार गर्न सकेको अवस्थामा उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्ने ठाउँहरू छन् ।

 

नौलिंगेश्वर महादेव, जलवायु सम्मेलनस्थल गुफा डाँडा, रणनैनेश्वर महादेव, इन्दावतीको पहिचानको रुपमा लिएका छौं । हामीले अहिले खेलकुदको हब बनाउन सक्छौँ कि भनेर पनि काम गरिरहेका छौं । रंगशाला तयार भएको छ । धार्मिक र खेलकुद पर्यटनका लागि विकसित गर्न सकेका छौँ । यहाँका ६८ प्रतिशत जनसंख्या कृषि पेसामा हुनुहुन्छ । यहाँबाट कृषिउपज निर्यात गराउनेतर्फ पनि हामीले पहल गरेका छौं ।

 

पहिलो सरकार भएका कारणले कानुन सम्मत, विधि सम्मत हिसाबले गर्नुपर्ने चुनौती थियो ।  संविधानले स्थानीय तहलाई २२ वटा एकल अधिकार दिएको छ । त्यसलाई कार्यान्वयन गर्नका लागि कानुन बनाउन पर्छ । सुरुमा कानुन नहुँदा कार्यसम्पादनमा समस्या भयो ।

 

दोस्रो हामी धेरै लामो समयपछि नयाँ व्यवस्थामा रूपान्तरण भएका छौंँ । जनताले नयाँ व्यवस्थालाई आत्मसात् गरिसकेका थिए । काम कसरी हुन्छ ? के के हुन्छ ? बजेट तर्जुमा कहिले कसरी हुन्छ ? विनियोजन कसरी हुन्छ भन्नेबारे अन्योल थियो । यो नै चुनौनीपूर्ण थियो । तर, अहिले भने जनता अभ्यस्त भइसकेका छन् । 

 

जनतामा जाँदा दुई खालको घोषणा पत्र थियो । पार्टीको केन्द्रले देशभरका सबै स्थानीय तहलाई मध्यनजर गरेर बनाएको घोषणापत्र र अर्को स्थानीय स्थानको विशेषतालाई÷मौलिकतालाई मध्यनजर गर्दै बनाइएको घोषणापत्र ।भूकम्पले निजी आवास, सार्वजनिक भवनहरू  क्षतिग्रस्त थियो । पहिले जनतालाई सुरक्षित राख्नका लागि निजी आवास निर्माण गर्ने भन्ने थियो । हामीले त्यसलाई फोकस गरेका थियौं । 

 

आर्थिक विकासको कुरा गर्दा विकासका लागि जनतालाई पहुँचमा पुर्‍याउनुपर्ने थिया्े । त्यसका लागि सडक बस्तीसँग जोड्नुपर्ने थियो । सबै वडा, बस्तीलाई सडकसँग जोड्छौं भनेका थियौं । अर्को खानेपानी अस्तव्यस्त थियो । यति दुःख थियो कि ३ घण्टादेखि डोकोमा पानी भरेर खानुपर्ने अवस्था थियो । हामीले घर घरमा पानीको धारा व्यवस्था गर्छौँ भनेका थियौं । विद्युतीकरण विजोग थियो । रुखमा तारहरू झुण्डिएको थियो । सुरक्षित र काठेपोलमुक्त गाउँपालिका बनाउँछौं भनेका थियौं ।

 

अहिले १२ वटै वडामा सार्वजनिक यातायात पुग्छ । बर्खामा पनि समस्या छैन । सडक गुरुयोजना, मापदण्ड बनाएका छौं । हाम्रा गाउँपालिकाका कुनै पनि स्थानमा अब नयाँ ट्रयाक खोल्नुपर्ने अवस्था छैन । अब स्तारोन्नतिको मात्रै काम हुनसक्छ । केही सडक कालोपत्रे भएको छ । हाइवेमा सबै वडालाई जोड्ने योजनाका साथ कामहरू गरेका छौं । सडकलाई रणनीतिक योजना दिएर काम गरेका छौं । २ सय ६२ किमी सडक बनाएका छौं । त्यसलाई कालोपत्रे गर्न भने बाँकी छ । केही कालोपत्रेसमेत भएका छन् ।

 

बृहत इन्द्रावती खानेपानी आयोजना सुरु भएको छ । त्यो योजनाले ४४ सय घरपरिवारलाई पानी खुवाउन पुग्छ । घरघरमा धारो पु¥याउँछौ भन्ने घोषणा मुताबिक यो योजना अघि सारिएको हो । अहिले हाम्रो कार्यकाल सकिने बेलामा करिब ८५ प्रतिशत घरमा खानेपानी पुगेको छ । भूकम्पले ध्वस्त भएका सबै विद्यालय भवन बनेका छन् । स्वास्थ्य क्षेत्रमा निकै सुधार भएको छ । १५ शय्या अस्पताल भवन छ । २ जना मेडिकल अफिसर छन् । २५ प्रकारको ल्याब टेस्ट हुन्छ ।

 

सबै वडामा स्वास्थ्य चौकी भवन बनेका छन् । पाँच वडामा सामुदायिक स्वास्थ्य एकाइ बनेका छन् । जनशक्ति पनि पु¥याएका छौं । प्रशासनिक भवन पनि बनेको छ । गाउँपालिकामा खाद्य सुधार तथा पोषणा कार्यक्रम सञ्चालन भइरहेको छ । जसले गरिबीको रेखामुनि रहेका जनताहरूलाई पोषणमा सुधार ल्याउने कार्यक्रम गरिरहेको छ । उहाँहरूलाई व्यवसायिक बनाउने आर्थिक रूपले राम्रो बनाउन मद्दत पुर्‍याउँछ ।

 

पशु बीमा गरेका छौं । यो कार्यक्रममा बीमामध्येको २५ प्रतिशत किसानले राख्नुपर्ने नियम हुन्छ । हामीले यस्तो देख्यौं कि बीमावापतको त्यो पैसा तिर्न नसक्ने किसानहरू पनि हुनुहुन्छ । त्यसलाई मध्यनजर गर्दै आधा गाउँपालिकाले तिरिदिने व्यवस्था गरेका छौं । बीमा कम्पनी, किसान र गाउँपालिका बसेर त्रिपक्षीय सम्झौता गरेका छौँ । यसले गाउँमा अहिले दुध उत्पादन बढेको छ । सोअनुसार हामीले प्रतिलिटरमा २ रुपैयाँ अनुदान दिइरहेका छौं । शिक्षा क्षेत्रमा पनि राम्रो सुधार भइरहेको छ ।

 

भौतिक पूर्वाधारमा सिपाघाटबाट ज्यामिरेमाने हुँदै नवलपुरसम्मको सडकलाई मेरो आफ्नै कार्यकालमा कालोपत्रे गर्छु भन्ने लक्ष्य थियो । अर्को सालमात्रै त्यो कालोपत्रे हुनेभयो । बजेट अभावका कारण यो वर्ष गर्न सकिएन । सबै वडालाई चक्रपथको अवधारणाबाट एकीकृत गर्ने योजना थियो । यो गर्न पनि सकिएन । वडादेखि वडासम्म सडक पुगेको छ । तर त्यसको स्तरोन्नति भने गर्न सकिएन । प्लानिङ गरेरै कार्यान्वयन गर्न नसकेको नौलिंगेश्वर महादेवको गुरुयोजना हो । नौलिंगेश्वरी धार्मिक पर्यटकीयस्थल हो । यसको प्रचार गरेर अझै पर्यटक ल्याउने योजनाका साथ गुरुयोजना सुरु गरिएको थियो । नौलिंगेश्वरी तीन स्थानीय तह, इन्द्रावती, मेलम्ची र पाँचपोखरीको संगमस्थल हो । गुरुयोजना बन्यो । अरु पालिकाले प्राथमिकतामा नपारेकाले सम्पन्न हुन सकेन ।