close

‘प्रदेश र संघीय सरकारबाट सहयोगभन्दा बढी असहयोग नै भएको छ’ 

‘प्रदेश र संघीय सरकारबाट सहयोगभन्दा बढी असहयोग नै भएको छ’ 

Trulli
ADVERTISEMENT

लालकिशोर साह, नगरप्रमुख, जनकपुरधाम उपमहानगरपालिका, धनुषा 


कर चाहिँ राज्यलाई स्थानीय तहबाट जाने तर आर्थिक र प्रशासनिक अधिकार संघबाट विनियोजन हुने समस्याले पनि जनताको अपेक्षा अनुरूपको काम गर्न बाधा पुगिरहेको छ ।  कर्मचारी चाहिँ संघ सरकारबाटै पाउने व्यवस्थाले गर्दा महिनौंसम्म स्थानीय तहमा प्रशासकीय अधिकृत नै हुँदैनन्, भएको बेलामा जनप्रतिनिधिलाई टेर्दै न टेर्ने भएको कारण जनताले अपेक्षा गरेअनुरूपको काम गर्न निकै समस्या भोग्नुपर्ने अवस्था रहेको छ । संघले एक त आफैँ कानुन बनाउँदैन, स्थानीयले बनाउँदा कार्यान्वयन नै गर्न नदिने बाधा अवरोध अवरोध गर्दै आएको छ । स्थानीय तह प्रमुखलाई काम गर्न दिने छुट र वातावरण निर्माण गर्नुपर्ने अवस्थामा संघले स्थानीय तहलाई आफ्नो एकाउन्टका रूपमा प्रयोग गर्दै आइरहेको छ । 

 

मैले उपमहानगरपालिकालाई सबैभन्दा ठूलो पहिचान पर्यटकीय रूपमा धाममा परिणत गराएको छु, जुन अहिले देश–विदेशमा जनकपुरधामको रूपमा चिनिन थालेको छ । मैथिली भाषामा नगरको एउटै स्थानीय गान तयार पारेर कार्यान्यवयनमा ल्याएको छु । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नगरको सीमामा सहिद गेट निर्माण गराएको छु । सिटीका भवन र उपमहानगरको पोसाक धार्मिक रंग केसरिया कार्यान्वयनमा ल्याएका हौं ।

 

जहाँसम्म सामथ्र्यको कुरा उपमहानगरभित्र ४० किलोमिटरको नालासहितका बाटो निर्माण गरिएको छ । उद्योग, व्यवसायको वातावरण निर्माण गरेका छौं, बढीभन्दा बढी पर्यटक भित्र्याउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण सफल गरायौं । 

 

सीमित स्रोत साधनका बाबजुद भ्याए जतिको जनताको अपेक्षा र अप्ठयाराहरू समाधान गर्दै आएका छौं । संघीय सरकारको समन्वयको आभावको कारण समस्या भोग्नु परिरहेको छ । अधिकार र सजिलो पहुँचका आधारमा जनताहरू आफ्ना अपेक्षा लिएर आउने गर्छन्, धेरै यस्ता काम हुन्छन् जसमा संघ र प्रदेशको समन्वय आवश्यक हुन्छ । समन्वय आभावले जनताको त्यस्ता अपेक्षा पूरा गर्न समस्या हुन्छ । 

 

निर्वाचनका बेला आफूले घोषणा पत्रमा नगरलाई धामका रूपमा कायम गर्नेगरी पहिचान दिने, साँघुरो सडकलाई फराकिलो र नगर सफासुग्घर बनाउने, शिक्षालाई गुणस्तरीय बनाउन, सबैको पहुँच हुने गरी स्वास्थ्य क्षेत्रलाई बनाउने र मधेस आन्दोलनमा भएका सहिदलाई सम्मानको पहिचान र यहाँ उद्योग व्यवसाय सञ्चालनको वातावरण निर्माण गर्ने लगायतका वाचा गरेका थियौं । 

 

आफूले गरेका वाचाअनुरूप जनकपुरलाई धार्मिक पर्यटकीय नगरका रूपमा पहिचान स्थापित गर्न जनकपुरधामको रूपमा स्थापित गर्न सफल भएका छौं । वर्षौंदेखि साँघुरो सडकलाई फराकिलो बनाउनुका साथै अन्डरग्राउन्ड नाला निर्माण गरेका छौं । मधेसीको सम्मानका लागि नगरको मुख्यद्वारमा सहिद गेट निर्माण गरेका छौं यसका साथै सहरी स्वास्थ्यसहित हरेक वडामा स्वास्थ्य संस्था शाखा, नगरका आधा दर्जनभन्दा बढी विद्यालयलाई नमुना विद्यालयका रूपमा बनाउन सफल भएका छौैं । 

 

नगरभित्र उपमहानगरको आफ्नो मेडिकल कलेज र स्वास्थ्य प्रतिष्ठान गर्ने प्रमुख दुइटा चाहना थियो, तर ती कामहरू स्थानीय तहको बजेटबाट सम्भव नहुने र संघीय सरकारको असहयोगका कारण गर्न सकेनौं। विमानस्थलको स्तोरन्नति र बाटोघाटोको निर्माण त गर्यौं तर सोचेअनुरूपको गर्न गर्न सकेनौं । यहाँका विद्यालयहरूमा पूर्वाधार निर्माण गरिए पनि अपेक्षाअनुसार गर्न सकेनौं । 

 

प्रदेश र संघीय सरकारबाट सहयोगभन्दा बढी असहयोग नै भएको छ । जनसंख्या र भौगोलिक अवस्थामा आवश्यक बजेट नदिनु, कानुन निर्माण र गर्ने काममा अवरोध गर्ने लगायतका असहयोग हामीले पाएका छौं । केही हदसम्म सहयोग भए पनि त्यो एकदमै न्यून भएको कारण त्यसलाई गणना गर्न नसक्ने अवस्था छ । 

 

अब आउने नेतृत्वले गत नेतृत्वले गरेको कामलाई संस्थागत गर्दै निरन्तरता दिनुपर्छ । पछिल्लो अधुरा योजनाहरूलाई पूरा गर्नुपर्ने, एउटा दीर्घकालीन योजना बनाएर काम गर्नुपर्ने र संघ तथा प्रदेश सरकारसँग समन्वयको प्रयास गर्नुपर्ने । आउने नेतृत्वहरूले कार्यपालिका बोर्डमा रहेका सदस्यहरूलाई इमान्दारीपूर्वक अधिकार कार्यान्वयनमा ल्याउन प्रयास गर्नुपर्छ ।