close

मेयर बालेनको ठमेल भ्रमण, फोहर व्यवस्थापनमा चासो

मेयर बालेनको ठमेल भ्रमण, फोहर व्यवस्थापनमा चासो

Trulli
ADVERTISEMENT

काठमाडौं । राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेलको फोहरमैला व्यवस्थापन तथा सौन्दर्यकरणका लागि काठमाडौँ महानगरपालिका (कामनपा) ले चासो देखाएको छ ।

महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाह (बालेन)ले शुक्रबार ठमेल क्षेत्रको स्थलगत अवलोकन गर्दै त्यस क्षेत्रमा रहेका समस्या समाधानका लागि सरोकारवालासँग छलफल गरेका हुन् ।

ठमेल पर्यटन विकास परिषद्को आयोजनामा ठमेल भ्रमण गरेका नगरप्रमुख शाहले ठमेलको छाँया सेन्टर परिसरको सडकमा पर्यटन व्यवसायी तथा घरधनीसँग अन्तरक्रिया समेत गरे । 

सो अवसरमा परिषद्ले ठमेलको प्रमुख समस्याको रुपमा रहेको फोहर व्यवस्थापन, तार तथा होर्डिङ बोर्ड, सिसी क्यामरा व्यवस्थापन, ढल, सडक तथा सडकबत्ती व्यवस्थापनलगायत समस्या समाधानका उपायसहित १० बुँदे ज्ञापनपत्र नगरप्रमुख शाहलाई बुझाएको छ ।

परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल सुधार्ने माग र सुझावसहितको ज्ञापनपत्र नगरप्रमुख शाहलाई हस्तान्तरण गरे ।

ज्ञापनपत्र बुझ्दै नगरप्रमुख शाहले ठमेल क्षेत्रको समस्याबारे कामनपाले वडा कार्यालयसँगको समन्वयमा थप अध्ययन गरेर समस्याको समाधान गरिने विश्वास व्यक्त गरे । 

परिषद्का अध्यक्ष शर्माले ठमेल क्षेत्रको समग्र समस्याको अध्ययन गरी ज्ञापनपत्र बुझाइएको बताए । नगरप्रमुख शाहलाई ठमेलको स्थलगत रुपमा समस्याको अवगत गराइएको थियो ।

ज्ञापनपत्रमा सडक बालबालिका, सडकमा माग्ने र ठेलागाडा व्यवस्थापन, सार्वजनिक शौचालय व्यवस्थापन, ठमेल सडक महोत्सव, परिषद्को भवन निर्माण गर्न जग्गा व्यवस्थापन, तालिमलगायत माग सम्बोधन गरिदिन महानगरलाई आग्रह गरिएको छ ।