close

यस्ता छन्, भ्रष्टाचार न्यूनीकरणका लागि विश्वका पाँच मेयरले गरेका सह्रानीय कार्य

यस्ता छन्, भ्रष्टाचार न्यूनीकरणका लागि विश्वका पाँच मेयरले गरेका सह्रानीय कार्य

Trulli
ADVERTISEMENT

काठमाडौं । आमजनताको नजरमा राजनीति सबैभन्दा बढी भ्रष्टाचार हुने क्षेत्र हो । संसारको भ्रष्टाचार सूचक हेर्ने हो भने भ्रष्टाचारको अवस्था चिन्ताजनक छ ।  व्यक्ति र व्यावसायिक स्वार्थका लागि वार्षिक पन्ध्र खर्बभन्दा धेरै घूस लिने गरेको सूचकको अनुमान छ । 

संसारमा कुल गार्हस्थ उत्पादनको करिब पाँच प्रतिशत रकम भ्रष्टाचारका कारण गुम्छ । अझ विकासोन्मुख देशमा विकास निर्माणका नाममा कुल उत्पादनको दश गुणाभन्दा बढी भ्रष्टाचार हुने गर्छ । 

तर, केही यस्ता जनप्रतिनिधि छन् । जसले जवाफदेही र पारदर्शी सेवा प्रवाहलाई प्रमुख प्राथमिकतामा राख्छन् । 

भ्यालेन्टिना क्यासियन 
मोल्डोभाको स्ट्रसेनी सहरमा पहिलो महिला मेयर बनेकी भ्यालेन्टिना क्यासियनले सन् २०११ यता मेयरको भूमिका निर्वाह गरिरहेकी छन् । दोस्रो कार्यकालका लागि पनि मेयर बनेकी उनी स्थानीय तहमा भ्रष्टाचारको शृङ्खला तोड्न काम गरिरहेकी छन् । 

यसका साथै स्थानीय क्षेत्रको विकासका लागि विदेशी स्रोतको अधिकतम प्रयोग गरिरहेको उनी बताउँछिन् । स्थानीय सरकारको सेवाको गुणस्तर तथा संस्थागत क्षमता बढाउने काम गरिरहेकी छन् ।  

आफ्नो नगरपालिकामा पारदर्शिता बढाउन धेरै मिहिनेत गरेको उनी बताउँछिन् । ‘नगरपालिकाको वेबसाइटमार्फत् सार्वजनिक खरिद योजना, खरिदको सूचना, टेन्डर र पुरस्कारका सूचना सार्वजनिक गरेका छौँ । सार्वजनिक खरिद योजनाका सम्पूर्ण विवरण वेबसाइटमा राख्छौँ,’ उनले भनिन् । 

युएनडिपीको सहयोगमा नगरपालिकाको हलमा लाइभ गर्ने प्रणाली जडान गरेर नागरिकलाई सार्वजनिक सुनुवाइको पहुँचमा पु¥याएको उनी बताउँछिन् । 
अनधिकृत निर्माण र गैरकानुनी व्यापारविरुद्धबारे जनताले रिपोर्ट गर्नसक्ने व्यवस्था मिलाएकी छन् । आफू मेयर भएयता नागरिकको मेयर र सरकारी कर्मचारीप्रतिको विश्वास बढेको उनले महसुस गरेकी छन् । 

‘सेवा प्रवाहमा गरेको पारदर्शिताका कारणले जनताको विश्वास जितेको छु,’ उनले भनिन्, ‘२०१५ को स्थानीय चुनावमा ७४ प्रतिशत मत प्राप्त गरेर पहिलो चरणमा मेयर चुनिइयो ।’

सन् २०११ मा बाहिरी सहयोगविनै उनी एक्लै भ्रष्टाचार विरोधी योजना अघि बढाएकी थिइन् ।  तर, एक्लो प्रयासले पूरा भ्रष्टाचारको प्रवृतिको अन्त्य गर्न नसक्ने उनले महसुस गरिन् । 

मासिक १३/१४ हजार रुपैयाँ कमाउने एउटा निजामतीले करोडौँ पर्ने चल र अचल सम्पतिको व्यवस्थापन गर्न सक्दैनन् । ‘भ्रष्टाचार कर्मचारीलाई हटाउनेभन्दा पनि भ्रष्टाचार हुने क्षेत्रको पहिचान गरी भ्रष्टाचारविरुद्ध योजना लागू गर्न खटाउने निर्णय गरेँ,’ उनले भनिन् ।  

सन् २०१६ देखि  स्ट्रासेनी नगरपालिका मोल्डोभाको स्थानीय तहमध्ये भ्रष्टाचारविरोधी आइसल्याण्ड अफ इन्टेग्रिडी कार्यक्रम लागू गर्ने एकमात्र स्थानीय तह बन्न सफल भएको छ । 

एस कोचेभ्स्की  
सन् २००० देखि २००९ सम्ममा पहिलो कार्यकालमा दक्षिण म्यासेडोनियाको भेलेस नगरपालिकाका मेयर बनेका एस कोचेभ्स्की तेस्रो कार्यकालका लागि पनि मेयर बनेका छन् । शहरको व्यवस्थापन तथा सेवा प्रवाहमा गरेको पारदर्शिताका कारण जनताले उनलाई रुचाएका हुन् । 
देशकै धेरै ऋण तिर्ने तथा पारदर्शी रूपमा आफ्नो बजेट व्यवस्थापन गर्ने केही नगरपालिकामध्ये एक बनाउन एस सफल भएका छन् । 

पेसाले सिभिल इन्जिनियर उनी नगरपालिकाको पूर्वाधार विकासका परियोजना कार्यान्वयन गर्न आफैँ खटिन्छन् । देशमै पहिलोपटक स्थानीय भ्रष्टाचारविरोधी कार्ययोजना भित्र्याएका उनी नैतिकताको अभ्यास गर्ने र भ्रष्टाचारको अवस्था मापन गर्ने दक्षिण म्यासेडोनियाका पहिलो जनप्रतिनिधि बने । 

नगरपालिकाको काममा जवाफदेही र एकरुपता ल्याउन नगरपालिकाले दिने सेवामा सुधार ल्याउन गुणस्तर व्यवस्थापन मापनको व्यवस्था गरेका छन् । ‘नगरपालिकाको वेबसाइटमा नगरपालिकाको खरिद योजना, विभागका काम र योजनाबारेमा प्रस्ट उपलब्ध गराएका छौँ,’ उनले भनिन् ।  

विद्युतीय सेवामार्फत् आवश्यक सेवा लिन आवश्यक कर्मचारीको सम्पर्क विवरण तथा  करको विषयमा अनलाइनबाट जानकारी लिनसक्ने गरी व्यवस्था मिलाएका छन् । 

देशकै पारदर्शी नगरपालिकाको रुपमा चिनिनु आकस्मिक घटना नभएको उनी बताउँछन् । सन् २००५ देखि सार्वजनिक बहसमार्फत् नगरपालिकाको बजेट ल्याएका छन् । 

स्थानीयस्तरका गैरसरकारी संस्था, व्यापारिक समुदायको स्थानीय आर्थिक परिषद्ले नगरपालिकाको विकासका लागि सान्दर्भिक मुद्दा र आवश्यक सिफारिससमेत गर्छन् ।

आफ्नो कार्यकालमा गर्व गर्नलायक धेरै काम गरिरहेको उनी बताउँछन् । सहरमा सुन्दर क्षेत्र र पार्क बनाएर परदृष्टिमा सुधार गरेका छन् । खेलकुदको सुविधा, पुस्तकालयको मर्मत, कला प्रदर्शनीकेन्द्र, साना पुलको निर्माणजस्ता सुविधा उपलब्ध गराएका छन् । 

त्यसैगरी, उनीहरुले पूर्वाधार स्तरोन्नतिका लागि शहर र आसपासका स्थानमा सडक, खानेपानीको आपूर्ति ढल निकास प्रणालीको विकासमा योगदान पु¥याएका छन् । 

उनी भन्छन्, ‘नागरिक सेवाकेन्द्रले गरेका कामको अभ्यासमा ३६ नगरपालिका समावेश हुँदा गर्व महसुस भएको छ ।’

भादिम गाएभ
युक्रेनको नोभोप्स्कोभ एटिसिमा भादिम गाएभले सन् २०१५ देखि मेयर पदमा रहेर सेवा प्रवाह गरिरहेका छन् । व्यावसायिक पृष्ठभूमिबाट आएकाले निर्वाचन अघिदेखि नै आफूले नागरिकको जीवनस्तर सुधारबारे सोच्ने गरेको उनी बताउँछन् । 

हाल पूर्वाधार विकासका लागि काम गरिरहेको बताउँदै स्थानीय तहको जनप्रतिनिधिका नाताले आफूमा जनताको विश्वास जित्नुपर्ने थप जिम्मेवारी रहेको बताए । 
नगरको विकासका लागि उनले ‘सहभागितामूलक बजेट’ कोषको अवधारणा अघि सारेका थिए । जसका कारण नगरपालिकाको विकासमा सहयोग पुगेको उनले महसुस  गरेका छन् । 

समुदायले सुरु गरेका साना स्थानीय योजनाका लागि निश्चित बजेट कोष चाहिन्छ । जनताले फोन, इमेलबाट आफ्नो आवश्यक विकासको माग गर्छन् र महत्त्वपूर्ण आवश्यकता हेरेर बजेट छुट्याउँछन् । 

यो कोषबाट व्यवस्थित पार्किङ क्षेत्र, बेन्चसहितका मनोरञ्जन क्षेत्र, खेलमैदान बनाएको उनले बताए । नागरिकले वेबसाइटमार्फत् नगरपालिकाको गतिविधि तथा कारोबारको निगरानी गर्नसक्ने व्यवस्था मिलाएका छन् । नगरपालिकाको राजस्व आम्दानी र खर्चबारे जानकारी हरेक जनताले लिन पाउँछन् । जनतालाई समुदायिक निर्णयमा सक्रिय सहभागी गराइरहेको उनी बताउँछन् । 

‘हाम्रो सामुदायको संकेत गर्ने चिन्ह र झण्डा निर्धारण गर्नुपर्ने थियो । जसका लागि व्यापक सामूहिक छलफल र सहभागितामूलक छलफल समावेश प्रक्रियाबाट निर्णय गरियो,’ उनी सम्झन्छन्, ‘हरेक नागरिकले नगरपालिकाको झण्डा र चिन्हको खाकामा मतदान गर्नसक्ने व्यवस्था मिलाइएको थियो ।’ 

यस्तो अभ्यास प्रजातान्त्रिक र पारदर्शी प्रक्रिया रहेको उनी बताउँछन् ।  समुदायसँग नगरपालिकाको सहकार्यबाट भएको कामको प्रतिनिधि नगरपालिकाको प्रतीक र झण्डा बनेको छ । 

नोभोप्स्कोभ एटिसिको सडकमा बत्ती थिएनन् । पैदल यात्रु हिँड्ने बाटो थिएन । बालबालिकाका लागि खेलमैदान थिएनन् । अहिले भादिमले ‘न्यानो ऋण’ कार्यक्रममार्फत नगरबासीलाई ऊर्जा उत्पादन गर्ने प्रविधि उपलब्ध गराएका छन् । 

पालिकामा साइक्लिङ, विन्टर स्किइङ, स्केटिङ, पावरलिफ्टिङ, वेइट लिफ्टिङ, फुटबल प्रतियोगिता हुन थालेको छ ।  
सबै उमेर समूहका खेलकुद पारखीका लागि कार्यशाला, कलात्मक उत्सवजस्ता कार्यक्रम सञ्चालन भएको छ । सामुदायिक एकता, स्वस्थ जीवनशैलीलाई बढवा दिने कार्यक्रम सञ्चालनमा ल्याइएका छन् । 

‘आइदार पार्कमा साँझमा मानिस रमाएको देख्दा हामीले राम्रो काम गरेछौँ भन्ने महसुस हुन्छ । सबै उमेर समूहका मानिस पार्कमा डुलेर र आराम गरेर रमाइरहेका हुन्छन्,’ उनी सुनाउँछन्,‘यो पार्क बेन्चसहितको आरामका सामग्री, खेल मैदान, फुटपाथसहित आरामदायी, उज्ज्यालो र सुसज्जित छ ।’

निनो टिभात्ज्भाद्जे 

कुटाइसि जर्जियाको दोस्रो ठुलो शहर हो । निनो टिभात्ज्भाद्जेले सन् २०१७ को डिसेम्बरदेखि कुटाइसि नगरपालिकाको उपप्रमुखको जिम्मेवारी सम्हालिरहेकी छन् । 

उपप्रमुख बनेदेखि नगरपालिकाको सामाजिक समस्या, पर्यटन विकास र अन्तर्राष्ट्रिय अन्तरसम्बन्धमा समन्वय गर्ने काम गरिरहेको उनी बताउँछिन् । नागरिकको कल्याण र जनताका माग सम्बोधनका लागि काम उनलाई रोचक लाग्छ । जनतालाई हरेक दिन भेट्दा उनीहरूको प्रमुख समस्या र यसको अवस्थाबारे ज्ञान बढाउने उनी बताउँछिन् । 

२०१८ फेब्रुअरीमा कुटैसी सहरले भ्रष्टाचारविरोधी रणनीति र कार्य योजना ल्यायो । यस्तो योजना ल्याउने जर्जियाको पहिलो नगरपालिका कुटैसी बन्यो ।  
यो रणनीति आइल्याण्ड अफ इन्टिग्रिटी (भ्रष्टचारविरोधी विधि) को परिवर्तित पद्धतिमा आधारित छ । जुन पद्धति युएनडिपीको सहयोगमा ब्ल्याक सी क्षेत्रको सहर आसपासमा लागू गरिएको छ ।

पहिलेको तुलना नगरपालिकामा जनसहभागिता बढेको उनी महसुस गरेकी छन् । उनी भन्छिन्, ‘अपाङ्ग नागरिकले कार्यालय नआई सम्पर्क गर्दा खुसी व्यक्त गर्छन् । जनतामा हाम्रो सेवाको पहुँच कत्तिको पुगेको छ त्यसबारे आधारभूत सर्वेक्षण गर्दैछौँ ।’

निनो भ्रष्टाचारको रोकथाममा केन्द्रित भएर काम गरिरहेकी छिन् । भ्रष्टाचारको मनोवृत्तिका कारण केही स्थानीय तहले भ्रष्टाचारविरोधी कागजपत्र बनाउन डराइरहेका छन् उनको अनुभव छ ।

डिएना ग्यासपर्यान 

डिएना ग्यासपर्यान अर्मेनियाको इच्मिएड्जिन नगरपालिकाका मेयर हुन् । 

२०१८ को जुनमा तत्कालीन मेयरले राजीनामा दिएपछि प्रधानमन्त्रीको निर्देशनमा उनी इच्मिएड्जिनको कार्यबाहक मेयर बनिन् । त्यही वर्ष १२ जना प्रतिस्पर्धीमध्येमा ५१.५ प्रतिशत मत ल्याउँदै नगरपालिकाको प्रमुखमा निर्वाचित भइन् । अर्मेनियामा पहिलोपटक महिला मेयर निर्वाचित भएकाले त्यो क्षण इतिहासमै महत्त्वपूर्ण रहेको उनले महसुस गरेकी छन् । 

शहरको विकासका लागि नीति बनाउन महत्त्वपूर्ण भूमिका खेलेको उनी बताउँछिन् । पहिले नगरपालिकाको वेबसाइटबाट जनताले आवश्यक विकासको माग गर्नसक्ने व्यवस्था थियो । 

हाल नगरपालिकाको कार्यालयमा नआई सामाजिक कामका लागि आवेदन दिन तथा सामाजिक शुल्क विद्युतीय माध्यमबाट तिर्नसक्ने बताएकी छन् । 
अनुमति तथा इजाजतपत्र दिने प्रक्रियालाई सेवाग्राहीमुखी र पारदर्शी बनाएको उनी बताउँछिन् । 

युएनडिपीको सहयोगमा प्रहरीलाई वडी क्यामेरा र सामाजिक विभागमा सुरक्षा क्यामेरा उपलब्ध गराएकी छिन् । यसले नगरपालिकामा पारदर्शिता बनाउने प्रयासलाई मद्दत गरेको छ ।

उच्च तहमा रहेर काम गरिरहेका कर्मचारीमा नगरपालिकाको निर्णयमा सहभागी थिएनन् । कर्मचारीको मासिक तलब न्यून थियो । कर्मचारीको समस्या समाधान गर्नु उनका लागि पहिलो चुनौती बन्यो । अघिल्लो मेयरले एकल निर्णय गर्थे । 

‘मैले सबैभन्दा पहिले कर्मचारीलाई उनीहरूलाई खटाइएको क्षेत्रअनुसार जिम्मेवारी दिए,’ उनी भन्छिन्,‘उनीहरूलाई काम गर्न सहज वातावरण बनाउने, आफ्नो धारणा राख्न, निर्णय गर्न र उनीले गरेको निर्णयप्रति जिम्मेवार रहने अधिकार दिएँ ।’

नगरपालिकाको आधिकारिक फेसबुक पेजमा फलोअर्स दोब्बर हुनुले नगरपालिकाको कामप्रति नागरिकको चासो बढेको प्रस्ट पारेको छ । डिएना आफैँ पनि आधिकारिक फेसबुक पेजमा नगरपालिकाको समाचार र योजनाबारेमा जानकारी दिन्छिन् । उनको १३ हजारभन्दा धेरै फलोअर्स छन् । नगरपालिकाको विकास योजनामा जनताको सहभागिताका लागि सार्वजनिक सुनुवाइ सुरु भएको छ । 

उनी भन्छिन्, ‘हरेक बिहीबारका लागि खुला ढोका नीति ल्याएका छौँ । जसमा इच्छा भएका नागरिकले मेयरलाई प्रत्यक्ष भेटेर आफ्नो समस्या राख्न सक्नुहुन्छ ।’
साथै पूर्वप्राथमिक शिक्षा दिने शैक्षिक संस्थाको सुधारका लागि काम गरेकी छन् । 

बच्चाहरूलाई दिइने खानेकुराको मेन्यु स्वस्थ खानाको मात्र राख्ने, शैक्षिक संस्थाको अवस्था सुधार गर्ने, खेलकुद र शैक्षिक सामग्री उपलब्ध गराउनेजस्ता काम गरेकी छिन् ।

युएनडिपी युरेसियाबाट पालिका खबरका लागि रञ्जिता उप्रेतिद्वारा अनुवादित