close

वडाध्यक्षको पारिश्रमिक विपन्नको स्वास्थ्य बिमामा

वडाध्यक्षको पारिश्रमिक विपन्नको स्वास्थ्य बिमामा

Trulli
ADVERTISEMENT

चितवन ।  इच्छाकामना गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीले आफ्नो  भत्ता रकमबाट विपन्न परिवारको  बिमा गराउने भएका छन् । उनले आफ्नो पदबाट पाउने भत्ता रकमबाट विपन्न व्यक्तिको बिमा गराउन लागेको हुन् । 

वडाध्यक्ष उप्रेतीले उनको  लागि उपलब्ध गराइएको मोटरसाइकल र पेट्रोल खर्चसमेत नलिएको जनाइएको छ । 
 
'मैले कार्यभार सम्हालेको दिन नै मासिक उपलब्ध हुने पारिश्रमिक सुविधा नलिने घोषणा गरेको हुँ । उक्त रकमले विपन्न परिवारको स्वास्थ्य बिमा गर्दै छु,' उनले भने, 'वडाको सवारी साधन प्रयोग गरेको छैन । म आफ्नै सवारी प्रयोग गर्छु, तेल खर्च पनि लिएको छैन ।' 

यसैबीच वडा नम्बर ४ ले वृद्धभत्ता घर–घरमै पुगेर वितरण गर्दै आएको छ । उनले भत्ता वितरण गर्न जाँदा लाग्ने खर्चको बिल भर्पाईसमेत कार्यालयमा पेस नगरेको बताए । 'हामीले घर–घरमा पुगेर वृद्धभत्ता वितरण गरेका छौँ । सोबापत हुने खर्चसमेत कार्यालयमा पेस गरेका छैनौँ,' उनले भने, 'ग्लोबल आइएमई बैंकले टोलटोलमा कर्मचारी खटाएर वृद्धभत्ता वितरण गर्न हामीलाई सहयोग गरेको छ ।'
 
लामो समयदेखि सामाजिक कार्यमा सक्रिय रहँदै आएका उनले असहाय रोगीको उपचारका लागि आर्थिक सहयोग गर्दै आएका छन् ।  साथै उनले शिक्षा, खेलकुदलगायतका क्षेत्रमा पनि सहयोग गर्दै आएकाे बताए । 

आफूले आगामी दिनमा पनि वडाध्यक्षबापत पाउने सेवा सुविधा नलिने उनकाे जिकिर छ । 'मैले शिक्षा, स्वास्थ्य, खेलकुदलगायतका क्षेत्रमा सहयोग गर्दै आएको हुँ । म आगामी दिनमा पनि सेवा सुविधा लिने छैन । नसक्ने अवस्था भए अर्को कुरा, म सकेको दिन्छु । लिन आएको होइन', वडाध्यक्ष उप्रेतीले भने ।