close

पर्यटन सम्मेलनमा भाग लिन उपप्रमुख डंगोल चीन प्रस्थान

पर्यटन सम्मेलनमा भाग लिन उपप्रमुख डंगोल चीन प्रस्थान

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल छाङ्सा फ्राग्रान्ट टुरिजम समिटमा भाग लिन सोमबार चीन प्रस्थान गरेकी छिन्। सम्मेलन मंगलबारदेखि शुक्रबारसम्म चल्नेछ । सम्मेलनका लागि वल्र्ड टुरिजम सिटीज फेडेसेसन (डब्लुटीसीएफ) को निमन्त्रणा अनुसार ४ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उनी सिचुवान एअरलाइन्सबाट प्रस्थान गरेकी हुन्। उनीसँग कार्यपालिका सदस्य मैयालक्ष्मी महर्जन, प्रमुखको सचिवालय प्रमुख नुरनिधि न्यौपाने र अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख सुदर्शन भट्टराई छन्। महानगरको उपप्रमुखको कार्यभार सम्हालेपछि डंगोलको यो पहिलो अन्तरराष्ट्रिय भ्रमण हो ।  

सम्मेलनमा पर्यटनका आपसी हित र सीप, क्षमता विकास, सिकाइ तथा अनुभव आदान प्रदान हुनेछन् । सहरी पर्यटन, कोविडपछिको पर्यटन पुनःस्थापना, मेयर्स डाइलग, पर्यटन विकासका नयाँ सूचक, सांस्कृतिक पर्यटन लगायतका विषयमा प्रस्तुतिकरण, छलफल, स्थलगत अवलोकन भ्रमणसहित कार्यक्रम सम्मेलनको तालिकामा राखिएका छन् । बिजनेस टु बिजनेस (बीटुबी), पर्यटन व्यापार, पर्यटनमा लगानीमा विषयमा अन्तरक्रिया र छलफल हुनेछ ।  बुधबार उपप्रमुख डंगोलले सम्मेलनमा काठमाडौँको सहरी पर्यटनको सम्भावनाका लागि लोक तथा सांस्कृतिक जीवन, कला, साहित्य र सिर्जनाका विषयमा प्रस्तुतिकरण गर्नुहुनेछ । पर्यटन पूर्वाधार र महानगरको अनुभवका विषय प्रस्तुतिकरणमा समेटिनेछन् । 

सम्मेलनबाट प्राप्त हुने प्रतिवेदनबाट पर्यटन उद्योगको विश्वव्यापी, क्षेत्रीय,  राष्ट्रिय तथा सहर स्तरीय परिप्रेक्ष्य निर्धारण हुनेछन् । सम्मेलनले पर्यटन विकासका मूख्य ५ विशेषता निर्धारण गर्नेछ । विकास ढाँचामा आएको परिवर्तन र पर्यटन, पर्यटकीय दृष्टिले महत्वपूर्ण देश तथा सहरका विशिष्ट विशेषता थाहा पाउनु सम्मेलनबाट अपेक्षा गरिएको नतिजा हो । 

सम्मेलनको नारा ‘विश्व पर्यटन पुनरुत्थानका लागि सहरको शक्ति’ राखिएको छ ।   

बेइजिङको पहलमा बनेको विश्व पर्यटन सहर महासंघ सहरहरूमा केन्द्रीत विश्वको पहिलो अन्तर्राष्ट्रिय पर्यटन संगठन हो । पर्यटनबाट सहरी अर्थतन्त्रमा योगदान गर्नु, सहरी पर्यटन उद्योगबाट सहरी गतिविधिलाई जीवन्त बनाउनु यसको दृष्टिकोण हो । अर्थतन्त्रको स्वस्थ्य प्रगतिका लागि विश्व पर्यटनको योगदान ठूलो रहन्छ । यसलाई योगदान पुर्याउने  अनुसन्धान र निष्कर्ष संगठनका क्रियाकलाप हुन् । उपप्रमुख डंगोल शनिवार नेपाल फर्कने कार्यक्रम रहेको जनाइएको छ।