close

बर्दगोरियामा जनप्रतिनिधिकाे एक वर्ष

बर्दगोरियामा जनप्रतिनिधिकाे एक वर्ष

Trulli
ADVERTISEMENT

कैलाली। बर्दगोरिया गाउँपालिकाले दोस्रो कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिले एक वर्षमा गरेको विकासको कामको जानकारी गराएको छ। २०७९ वैशाख ३० को स्थानीय निर्वाचनबाट  कर्ण बहादुर कुँवर गाउँपालिका अध्यक्षको जिम्मेवारीमा छन्।

उनको नेतृत्वमा वडा नम्बर १ देखि ६ सम्मका सम्पूर्ण कच्चिबाटाहरु ग्राभेल सहितको  बाटो मर्मत गरिएको स्वकीय सचिव देवेन्द्र शाहीले बताए।

विगत ५/७ वर्षदेखि बन्द अवस्थामा रहेको बौनियाँ खानेपानीलाई संचालन गरेको उनले बताए। हालसम्म कम्तिमा पाँचसय घरधुरीमा खानेपानीको धारा जडान सम्पन्न, वितरण कार्य जारी भएको छ। उनको अनुसार वर्षौँदेखि व्यवस्थापन हुन नसकेको बौनिया बजारको नाला सफाई, उज्यालो पालिका अभियान अन्तर्गत दानुवाफाटामा विद्युत् लाइन जडान, पूर्वपश्चिम महेन्द्र राजमार्गमा १०० वटा पोल बत्ती जडान र ६ वटा हाई–मार्स लाइट जडान गरिएको छ।

भूमिहीन दलित, भूमि सुकुम्बासी र अव्यवस्थित बसोबास गर्दैआएका पालिकाका नागरिकहरुलाई लालपुर्जा उपलब्ध गराउने अभियान सञ्चालन गरिएको उनले बताए। जसअन्तर्गत जग्गा नापजाँच को काम सुरु अबको केही दिनमै वडा नं ३ मा रहेका केहि भूमिहीन सुकुम्बासीहरुलाई लालपुर्जा वितरण गर्ने तयारी गरिएको छ।

पछिल्लो एक वर्षमा नदी कटानबाट प्रभावित क्षेत्रहरुमा धार परिवर्तन र तटबन्धनको कार्य जारी, ज्येष्ठ नागरिक र एकल महिलाले पाउने सामाजिक सुरक्षा भत्तालाई आफ्नै वडाको वडा कार्यालय र टोलहरु बाट उपलब्ध गराउने गरी व्यवस्थापन सम्पन्न भएका छन्। यस्तै पालिका अन्तर्गतका दृष्टिविहीन र अपांगहरुलाई पालिका अध्यक्ष कुँवरले आफूले पाउने तलब भत्ताको रकमबाट नगदसहित चिसो महिना मा बल्याङ्केट वितरण गरेको उनले बताए। 

यस्तै, वडा नम्बर ३ र ५ मा बर्थिङ सेन्टर सञ्चालनमा ल्याउन भौतिक संरचना पूर्णरुपमा तयार भइसकेको स्वकीय सचिव साहीले जानकारी दिए। पालिकामा कार्यरत करारमा रहेका कर्मचारीहरुले पाउनुपर्ने महंगी भत्ता स्वरुप जनही रु २००० का दरले वृद्धि गरिएको छ। 

शिक्षा क्षेत्रअन्तर्गत गाउँपालिकामा सामुदायिक क्याम्पस स्थापनाको कार्य अन्तिम चरणमा पुगेको छ।  पालिकामा रहेका १७ वटा सामुदायिक विद्यालयहरूमा कक्षा १ देखि १० सम्म पठनपाठन पूर्ण रुपमा निःशुल्कको व्यवस्था मिलाइएको छ। पालिका अन्तर्गतका संस्थागत विद्यालयहरुलाई कम्तिमा पाँच वर्षसम्म पाठ्यक्रममा बदल्न स्थानीय सरकारको निर्देशनका साथै शिक्षा निमावली, शिक्षा एन र पालिकाको पाठ्यक्रम जारी भएको छ। 

देशमै नमुनाको रुपमा १५ शैया बर्दगोरिया अस्पताल को समुद्घाटन अध्यक्षको पहिलो वर्षमै गरिएको उनले बताए। पालिकाको लगानीमै वार्ड नं ३ र ४ जोड्ने झोलुङ्गे पुल सञ्चालनमा र वडा नम्बर ६ देखि घोडाघोडी नगरपालिका वडा नम्बर २ जोड्ने झोलुङ्गेपुलको निर्माणकार्य जारी रहेको उनले जानकारी दिए। 

पालिका भित्रका सम्पूर्ण बाटाहरुलाई पानीपिच गराउने उद्देश्यका साथ गाउँपालिकाले आफ्नै स्रोत बाट साधन खरिद गरी अन्तर पालिका जोड्ने बाटाहरुमा पानीपिचको काम सञ्चालन गरेको छ । उता, मोहन्याल गाउँपालिकासंग रहेको सीमा विवाद मा दुईपक्षिय अनुगमन र छलफल भएको छ। बर्दगोरियाले नेपाल खानेपानी,विश्व बैंक र गाउँपालिकाको ७५ लगानीमा पाँच वर्षभित्र कार्य सम्पन्न हुने गरी ७० करोडको खानेपानी, ढल निकास र सरसफाई आयोजनामा सम्झौता गरिएको उनले जानकारी दिए। 

बर्दगोरियाको वडा नम्बर २,३,४ र ६ मा कालोपत्रे सहितको रिङरोड र बाटो निर्माण कार्य जारी रहेको छ। बौनिया देखि जोशीपुर हुँदै भजनी जाने कालोपत्रे बाटोको मर्मतका लागि टेन्डर संझौता सम्पन्न भएको असार मसान्त सम्ममा काम सम्पन्न हुनेमा ढुक्क रहेको उनले बताए। गाउँपालिकाले कृषि पेशालाई व्यवसायिक बनाउनका निमित्त निशूल्क माछा भुरा र ५० प्रतिशत अनुदानमा बिउबिजन वितरण गरेको छ। 

स्वास्थ्य स्वस्थ बनाउनका निमित्त योगशिविर लाई सहयोग गर्नुका साथै धर्म संस्कृति र संस्कारको जगेर्ना गर्न मठ मन्दिर र भवन निर्माण तथा अनुदानका रूपमा पालिकाले  आवश्यक आर्थिक सहयोग विनियोजन गरेको उनले जानकारी दिए।

पालिकालाई पहिचान गराउनका निमित्त सुदूरपश्चिमका ५४ वटा गाउँपालिका र छिमेकी नगरपालिकाहरुलाई आमन्त्रित गरी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको प्रमुख आतिथ्यमा गाउँपालिका सम्मेलन सम्पन्न समेत भएको छ। युवाहरुलाई खेलकुतसँग आबद्ध गर्दै विभिन्न विधामा खेलकुद सञ्चालन र खेलकुद सामग्री वितरण भएको उनले बताए। साथै, असार मसान्तभित्र पालिका आफ्नै नयाँ भवनमा सार्ने उद्देश्यका साथ सम्बन्धित कम्पनीलाई दबाबका दिँदै आएको छ। पालिका प्रशासकीय भवन निर्माणको काम अन्तिम चरणमा पुगिसकेको उनले बताए।