close

चिटिक्कै सजिएर मेयरसाब काेदाे राेप्न थालेपछि...

चिटिक्कै सजिएर मेयरसाब काेदाे राेप्न थालेपछि...

Trulli
काेदाे दिवसकाे अवसरमा काेदाे राेप्दै मण्डनदेउपुरका नगरप्रमुख तथा कर्मचारी
ADVERTISEMENT

काभ्रेपलाञ्चोक - चिटिक्क परेको सुट र पाइन्ट । टाउकोमा ढलक्क ढल्किएको ढाका टोपी । नयाँ कपडाको जुत्तासहित हातमा कोदोकाे बीउ । सोही बीउ रोप्न आतुर छन्, मण्डनदेउपुर नगरपालिकाका नगरप्रमुख टोकबहादुर वाइबा । उनीसँगै लस्करै छन्, पालिकाका केही कर्मचारी । पृष्ठभूमीमा केही किसान कोदो बीउ ओसार्दै छन् । र क्यामेरा म्यान सो दृश्यलाई कैद गर्न तयार देखिन्छन् । 

यो  दृश्य मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर ६ स्थित कालिकास्थानको एक बारीको पाटोको हाे। दृश्यमा देखिएका सबै जना कोदो रोप्न व्यस्त देखिन्छन् । तर अधिकांश टिलिक्क सजिएर । लाग्छ, यहाँ केही कलाकारसहित कुनै फिल्मको सुटिङ भइरहेको छ । तर त्यस्तो होइन । यहाँ त 'तेस्राे कोदो दिवस' काे अवसरमा  जनप्रतिनिधि तथा विशिष्ट व्यक्तिसहितकाे टाेलीले कृषककाे बारीमा काेदाे राेपिरहेकाे छ। 

टेलिफोन सम्पर्कबाट पालिकाखबरसँग जोडिएका नगरप्रमुख  वाइबाले असारको १५ गते धान दिवसकाे जस्तै साउन १५ मा कोदो दिवस मनाइने गरेको जानकारी दिए । राष्ट्रिय किसान महासंघले विगत ३ वर्षदेखि साउन १५ गतेलाई कोदो दिवस घोषणा गरेर विभिन्न कार्यक्रम गरी मनाउँदै आइरहेको उनले बताए । महासंघको आयोजनाको कार्यक्रममा उपस्थित भएर आफूले कोदो रोपेको नगरप्रमुख वाइबाकाे भनाइ छ।

केन्द्रिय समावेशी आयोगका अध्यक्ष प्रमुख अतिथि, नगरपालिकाको प्रमुख विशेष अतिथि, कृषि तथा पशुपन्छि विकास मन्त्रालयका डिजि विशेष अतिथिको रुपमा उपस्थित भएर मण्डनदेउपुरको वडा नं ६ मा कोदो दिवस मनाइएको उनले जानकारी दिए । 

‘खेतबारीमा किसानहरु काम गर्न जाँदा पुराना कपडा लगाएर जान्छन् । तपाईहरु त सुटबुटमा जानुभएछ नी’ भनेर पालिकाखबरले प्रश्न गर्दा नगर प्रमुख वाइबाले भने, ‘खेतमा जाँदा तपाईँले भन्नै परेन हामी पुरानाे कपडा लगाउँछाै‌ँ । बारीमा जानको निमित्त त के भयो र ?'

नगरप्रमुख वाइबालाई थप प्रश्न गर्न खाेज्दा उनले फाेन नै काटे ।  नगरप्रमुख वाइबासँग पुनः सम्पर्क गर्न खाेज्दा उनी हामीसँग सम्पर्कमा आउन चाहेनन् ।