close

‘पत्रकारज्यू, पालिका प्रमुखलाई मोबाइल किन्दिनुस् न’

‘पत्रकारज्यू, पालिका प्रमुखलाई मोबाइल किन्दिनुस् न’

Trulli
ADVERTISEMENT

स्थानीय जनप्रतिनिधिले तलब पाउँदैनन्; भत्ताको भरमा जनताको सेवामा अहोरात्र खट्नुपर्छ । केही गाउँपालिकाका प्रमुखले केही महिना पाएका भत्ताको रेकर्ड हेर्ने हो भने साच्चै घरबाट खर्च पेल्नुपर्छ । त्यसैले भ्रष्टाचार नगर्ने इमानदार जनप्रतिनिधिका लागि पालिकाको भत्ता न्यूननै हुन्छ । 

त्यसमाथि भगिनी सम्बन्ध भएका पालिका, छिमेकी स्थानीय तह, प्रदेश र संघको आयोजनामा भइरहने गोष्ठी, भेला, समारोह आदिमा पालिकाको प्रतिनिधित्व गरिरहनुपर्छ । यस्ता कार्यक्रममा जाँदा स्वयंले नै खर्च बेहोर्नुपर्ने समेत हुन्छन् । जनप्रतिनिधिहरूको भत्ता तथा सुविधा पालिकाको आन्तरिक स्रोतका आधारमा समेत तलमाथि हुनसक्छ । त्यसैले सेवासुविधा तथा भत्ता तलब स्केलजस्तो एकरुपता हुँदैन ।

त्यसैले इमानदार जनप्रतिनिधिलाई आधारभूत आवश्यकता पूरा गर्न हम्मेहम्मे पर्छ । इमान्दार जनप्रतिनिधिमध्ये एक हुन्, रोङ गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बो । पालिकाको विकास र जनताको सेवाका लागि काम गरिरहँदा उनलाई आफ्नो आवश्यकता पूरा गर्नै मुश्किल भएको छ । मोबाइल बिग्रिँदा पनि उनले अर्को खरिद गर्न सकेका छैनन् । 

सोमबार दिउँसो करिब २:३० बजेतिर पालिकाखबरले टेलिफोन गरेर चालु आर्थिक वर्षमा के-कस्ता कार्यक्रमहरु सञ्चालन भएको छ भन्ने प्रश्न गर्दा उनले सुरुमै मेरो फोन जुनसुकै बेला अफ हुन सक्छ भनेर जानकारी गराए । उनले भने ‘म कुरा त गर्छु तर बीचमै फोन काटियो भने चैँ मेरो मोबाइल स्वीच अफ भयो भनेर बुझ्नुस् है ।’ 

त्यसपछि हाम्रो कुराकानी सुरु भयो । पालिकाखबरको प्रश्नको जवाफ उनले दिँदै गए । कुराकानीकै बीचमा उनले फेरि मोबाइलकै प्रसङ्ग निकाले र सोधे, ‘तपाईको मिडियाले पालिकाका प्रमुखलाई मोबाइल उपहारमा दिँदैन ?’ यस प्रश्नले केही अन्यौल बनायो र उनको कुरा बुझेर उत्तर दिएँ, ‘हामीले मोबाइल दिने गरेका छैनौं, अध्यक्षज्यू ।’ उनले जवाफमा भने, ‘यदि दिनसक्नुहुन्छ भने भने मलाईलाई पनि उपलब्ध गराइदिनु पर्‍यो । लास्टै गरिब पो भइयो त ।’ 

प्रसङ्गलाई विषयबस्तुतिर मोड्दै पुनः प्रश्न गर्न लागेँ । उनले प्रश्नको जवाफ दिइरहेका थिए । हाम्रो टेलिफोन संवाद सुरु भएको करिब पाँच मिनेट जति भएको थियो उनको फोन बीचैमा काटियो । अनि मैले पुन: डायल गरेँ तर उनको फोन अफ थियो अनि प्रष्ट भइयो कि ‘अध्यक्ष ज्युको मोबाइल साँच्चै नै बिग्रिएको रहेछ ।