close

मनकारी वडाध्यक्ष : निजी मोटरसाइकल स्वास्थ्य चौकीलाई दिएर आफू पैदल

मनकारी वडाध्यक्ष : निजी मोटरसाइकल स्वास्थ्य चौकीलाई दिएर आफू पैदल

Trulli
ADVERTISEMENT

डोटी - बोगटान फुड्सिल गाउँपालिकाको वडा नम्बर ७ का वडाध्यक्ष चन्द्रभान सुनारले आफ्नो निजी मोटरसाइकल स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेका छन् । वडाध्यक्ष सुनारले सोमबार वडा नम्बर ७ मा रहेको स्वास्थ्य चौकीलाई मोटरसाइकल हस्तान्तरण गरेका हुन् । 

वडाध्यक्ष सुनारको अनुसार स्थानीय बासिन्दाको स्वास्थ्य उपचारमा सहज वातावरण सृजना गर्नको लागि मोटरसाइकल हस्तान्तरण गरेको हो । उनले स्वास्थ्य चौकीमा कुनै पनि सवारी साधन नभएकाले आफ्नो निजी मोटरसाइकल वितरण गरेको पालिकाखबरलाई बताए । 

राती कोही बिरामी भएमा स्वास्थ्यकर्मी सोही मोटरसाइकलको प्रयोग गरी उपचारको लागि घरमा जान सक्ने उनको भनाइ छ । 'स्वास्थ्य चौकीलाई केही वर्ष पहिले भारतको सहयोगमा एम्बुलेन्स वितरण गरेको थियो । सो सञ्चालन गर्नको लागि आवश्यक बजेट नभएपछि गाउँपालिकालाई हस्तान्तरण गरियो,' उनले भने, 'केही मर्मत गरी पालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याए पनि बढी खर्च भएपछि पुनः थन्किएको छ ।' 

उनले आगामी केही दिनमा पालिकामा नयाँ एम्बुलेन्स आउने बताए । एम्बुलेन्स ल्याउनका लागि आवश्यक पहल भइरहेको उनले दाबी गरे । आफू जनताको सेवा गर्न आएकोले स्थानीयको सहजताको लागि मोटरसाइकल वितरण गरेको उनले सुनाए । 

वडाको भौगोलिकता सहज भएकाले आफू पैदलमार्फत वडा कार्यालय तथा जनताको घरमा जान सक्ने उनको भनाइ छ । 'वडाको भौगोलिक सहज छ । पैदलमार्फत आउजाउ गर्न सकिन्छ,' उनले भने, 'घरघरमा सडक नपुगे पनि टोल टोलमा जाने शाखा सडक निर्माण भएका छन् ।' 

आफूले तत्कालको लागि कुनै तयारी नगरेकोले पैदलमार्फत जनताको सेवामा रहने उनले बताए । उनका अनुसार स्वास्थ्य चौकीमा एक जना एमबिबिएस चिकित्सकसहित ५ जना कर्मचारी कार्यरत रहेका छन् ।