close

बालेनले अध्यक्ष नपाएपछि जंगिए चिरिबाबुसँग

बालेनले अध्यक्ष नपाएपछि जंगिए चिरिबाबुसँग

Trulli
ADVERTISEMENT

काठमाडौं- मेयर्स फोरमको मंगलबार बसेको पाँचौं बैठकमा उपस्थित भएका काठमाडौं महानगरपालिका नगरप्रमुख बालेन शाहले अध्यक्ष नपाएको ‘रिस’ देखाएपछि बैठकमा एक्कासी खैलाबैला मच्चियो ।

मेयर्स फोरमको बैठकको सुरुमै अध्यक्ष चिरिबाबु महर्जनले एजेण्डा प्रस्तुत गर्न लागेका थिए । फोरमका अध्यक्ष तथा ललितपुर महानगरपालिकाका नगरप्रमुख महर्जनलाई बालेनले आफूले बोल्ने भन्दै बीचमै रोकेका थिए ।

बैठकको एजेण्डा प्रस्तुत गरिरहरेका अध्यक्ष महर्जनले आफूले बैठकको अध्यक्षता गरिरहको र एजेण्डामा प्रवेश गरेपछि 'सबैजना बोलौंला, तपाईंलाई बोल्न नदिने भनेकै छैन,' भनेपछि नगरप्रमुख शाहले 'मलाई बोल्न नदिने भए म किन बस्ने ?' भन्दै बैठक छोडेर निस्किएकाे साेही बैठकमा सहभागी फोरमका महाचिव तथा चन्द्रगिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले पालिकाखबरलाई बताए ।

उनका अनुसार मेयर फोरम सचिवालय बैठक बसी एजेण्डा तयार गर्ने गरिन्छ । पाँचौं बैठकका लागि पनि एक हप्ताअघि नै एजेण्डा तयार पारिएको थियो । अध्यक्षले एजेण्डा प्रस्तुत गरेपछि सबैले बोल्ने अभ्यास अघिल्लो कार्यकालदेखि नै रहेको महासचिव गिरिले बताए । 

अघिल्लो कार्यकालमा काठमाडौंका नगरप्रमुखले फोरमको अध्यक्षता गरेका थिए । अघिल्लो कार्यकालमै आलोपालो अध्यक्षता गर्ने सहमतिअनुसार यसपटक ललितपुरलाई दिनुपर्ने महर्जनले माग गरेका थिए । काठमाडौं उपत्यकामा २ वटामात्र महानगरपालिका भएकाले अरु नगरपालिका पछाडि हटेका थिए । तर फोरमको अध्यक्षता काठमाडौंको नगरप्रमुखले नै पाउनुपर्ने बालेनको प्रस्ताव थियो । अरु सहभागीले अघिल्लो कार्यकालको सहमति सुनाएपछि बालेनले आफू फोरमको साधारण सदस्य मात्रै रहने बताएका थिए । 

दोस्रो कार्यकालमा पनि चार पटकसम्म बालेन बैठकमा सहभागी भएका थिएनन् । पाँचौं बैठकमा सहभागी भए पनि बोल्न नपाएको भन्दै सुरुमा निस्किएका सहभागीहरूले बताए । बैठकबाट बालेन निस्किएपछि काठमाडौंकी उपप्रमुख सुनिता डंगोल करिब डेढ घण्टासम्म बैठकमा बसेकी थिइन् ।

बैठकमा नेपवेष्ट नामको कम्पनीलाई उपत्यकाको फोहोर एकीकृत रुपमा व्यवस्थापन गर्न दिने भन्ने विषयमा छलफल भएको थियो । तर, नेपवेष्टलाई फोहोर व्यवस्थापन गर्न नदिने भनेर अघिल्लै बैठकमा निर्णय भइसकेकामा फेरि त्यस विषयलाई किन एजेन्डामा राखिएको भन्दै प्रश्न गर्न खोज्दा नदिएकाले बालेन उठेर हिँडेको बालेनको सचिवालयले जनाएको छ ।