close

फरार नगरप्रमुखको एक स्टाटसले पलाएको आशा

फरार नगरप्रमुखको एक स्टाटसले पलाएको आशा

Trulli
ADVERTISEMENT

बागलुङ- ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीले सामाजिक सञ्जालमा मंगलबार एक स्टाटस हाल्दै बचतकर्ताको रकम फिर्ता गर्ने वाचा गरेका छन् ।

६ महिनादेखि फरार रहेका नेपालीले सम्पत्ति बेचेर बचतकर्ताको रकम फिर्ता गर्ने वाचा गरेका हुन् । ‘सहकारीको समस्या समाधानका लागि सम्पूर्ण बचतकर्ताको नाममा आफू र श्रीमतीको नाममा भएको घरजग्गा मालपोत कार्यालयमा गई हस्तान्तरण गर्न चाहेकाले त्यसका लागि वातावरण बनाइदिन अनुरोध छ,’ उनले मंगलबार फेसबुकमा लेखेका छन् । उनी इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष एवं शेयरसदस्य हुन् । 

पोखरा र बागलुङमा रहेको इमेज सहकारी समस्यामा परेपछि उनी परिवारसहित गत जेठ ६ गतेदेखि फरार थिए । नेपालीसहितका सहकारीका ११ पदाधिकारीले दुई अर्ब दुई करोड ठगी गरेको आरोप छ । तर, नेपालीसहित पदाधिकारीविरुद्ध बागलुङ जिल्ला अदालतमा एक अर्ब ३८ करोड बिगोदाबीसहितको मुद्दा २५ असारबाट जिल्ला अदालत बागलुङमा विचाराधीन छ । अदालतमा मुद्दा चलिरहेको र प्रहरीले उनीहरूको खोजी तीव्र पारेका बेला नेपाली सामाजिक सञ्जालमा आएका हुन् ।

‘सहकारीमा समस्या परेपछि सेयर सदस्य र बचतकर्ताको विशेष भेला राखी ६ महिनाभित्र समस्या समाधान गर्ने भनिएको थियो । तर, केही बचतकर्ता ६ महिनासम्म पनि पर्खन सकेनन्, घरमा हतियारसहित आई डरधम्कीसँगै ज्यान मार्ने धम्की दिने काम भयो,’ उनले लेखेका छन्, ‘६ लाख बचत भएकाले पाँच करोडको घरजग्गा पास गर्न भनेर दबाब दिने कामसमेत भयो । डरधम्की र मुद्दा दर्ताका कारण बाहिर निस्केर काम गर्ने अवस्था भएन । केही समयका लागि घरबाहिर बस्न बाध्य भएँ ।’ 

नेपालीले बागलुङ, कास्कीको पोखरा र काठमाडौंमा १८ घर र ४४ स्थानमा जग्गा रहेको बताएका छन् ।  नेपालीविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा ५२५ र बागलुङमा एक हजार ५४३ जना गरी दुई हजार ६८ जना बचतकर्ताले जाहेरी दिएका थिए । 

नेपाली सम्पर्कविहीन भएसँगै पक्राउ पुर्जी जारी भएको थियो । उनी ढोरपाटन नगरपालिकामा एमालेबाट निर्वाचित नगरप्रमुख हुन् ।