close

‘साहित्य पदासीन अवस्थामा सार्वजनिक गर्न नसकिने’

‘साहित्य पदासीन अवस्थामा सार्वजनिक गर्न नसकिने’

Trulli
ADVERTISEMENT

काठमाडौं– प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले साहित्य लेखन विद्रोही हुने भएकाले लेखेका कुरा पदासीन भएका बेला सार्वजनिक गर्न नसकिने अवस्था रहेको बताएका छन् ।

 

सभ्यता अनुसन्धान केन्द्रले शनिबार राजधानीमा आयोजना गरेको कथाकार दाजु गुरुङको डायस्पोरिक कथाकृति ‘लाई–सी’ सार्वजनिक कार्यक्रममा उनले पदासीन अवस्थामा काँटछाँट गरेर सार्वजनिक गरी पछि फेरि मिलाउनुपर्ने अवस्थासमेत आउने गरेको अनुभव सुनाएका हुन् ।

 

प्रमुख आयुक्त थपलियाले मान्छे जहाँ बसे पनि चेतना उजागर गर्न नछाड्ने भएकाले साहित्य सिर्जना हुने गरेको बताउनुभयो । ‘लाई–सी’ भुइँपात्रलाई नबिर्सिएको कथासङ्ग्रहका रूपमा आएको सुनाए । 

 

हङकङका धेरै ठाउँको वर्णन गरिएको कथाकृति ‘लाई–सी’ मौलिक, स्पष्ट, विम्बात्मक कथा भएको प्रमुख निर्वाचन आयुक्त थपलियाको अनुभव थियो । लेखकले विदेश बस्दा भोगेका विषयलाई कथाका माध्यमबाट सार्वजनिक गरिएको कार्यक्रममा जानकारी गराइएको छ । कथाकार गुरुङले देशबाट पलायन भएपछि जोसुकै पनि भुइँमान्छे हुने गरेको उल्लेख गर्दै तिनका समस्या उजागर गर्न आफूले साहित्य लेख्ने गरेको बताए । परदेशमा समय कम हुने भएकाले साहित्य लेखनमा समस्या हुने गरेको उनको अनुभव छ ।

 

कथासङ्ग्रहको समीक्षा गर्दै प्रा केशव सुवेदीले कथाकारमा भाषामा खेल्न सक्ने असाधारण क्षमता देखिएको बताए । विभिन्न प्रवृत्तिविरुद्ध गरिएको व्यङ्ग्य कथामा प्रभावकारी देखिएको उनले सुनाए । कथाकारले १८ वटा कथामा डायस्पोराका महाख्यान प्रस्तुत गर्नुभएको जनाइएको छ ।

 

कार्यक्रममा पूर्वराजदूत उदयराज पाण्डे, नेपाल खुला विश्वविद्यालयका निमित्त उपकुलपति प्रा डा इन्द्रबहादुर कार्की, पूर्व सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई, डा नवराज खतिवडालगायत वक्ताले कथासङ्ग्रहलाई अङ्ग्रेजी र चिनियाँ भाषामा पनि अनुवाद गरिनुपर्नेमा जोड दिएका थिए ।