close

कीर्तिपुर नगरपालिकाद्वारा कीर्तिपुर सिंगिङ आइडल आयोजना

कीर्तिपुर नगरपालिकाद्वारा कीर्तिपुर सिंगिङ आइडल आयोजना

Trulli
ADVERTISEMENT

काठमाडौं– कीर्तिपुर नगरपालिकाले कीर्तिपुर सिंगिङ आइडल–११४२ आयोजना गरेको छ । नगरका युवालाई सांगीतिक क्षेत्रमा आकर्षित गर्ने उद्देश्यले सिंगिङ (गायन) प्रतियोगिता गरिएको हो ।


नगरभित्रका १५ वर्षदेखि ३० वर्षसम्मका गायक,गायिका सहभागी हुन सक्ने प्रतियोगिता नेपाल संवत् ११४२ नयाँवर्षको उपलक्ष्यमा आयोजना गरेको हो । नयाँ वर्ष ११४२ (म्हपुजा) को दिनमा पहिलो चरण सुरु गरिएको कार्यक्रम तेस्रो चरणमा सम्पन्न हुनेछ ।


कीर्तिपुर नगरप्रमुख रमेश महर्जनले नगरका युवालाई संगीततर्फ आकर्षित गर्न यो कार्यक्रम आयोजना गरिएको बताए । नगरप्रमुख महर्जनले प्रतियोगितमा प्रथम हुनेलाई नगद ५० हजार, द्वितीयलाई ४० हजार र तृतीयलाई ३० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरे । इच्छुक कुनै व्यक्ति वा संस्थाले आफ्नो तर्फबाट पनि पुरस्कार दिन चाहने त्यसलाई स्वीकारेर विजयी कलाकारलाई उपलब्ध गराइने उनको भनाइ छ । 

 

प्रतियोगितामा सहभागी हुन नगरपालिकाले उपलब्ध गराएको अनलाइन प्लेटफर्म वा वा नगरपालिकाको वेबसाइटमा लिंक क्लिक गरेर फर्म भर्न सकिनेछ भने नगर सन्देशको इमेलमा पनि पठाउन सकिनेछ ।

 

प्रतियोगितामा नेपालभाषा (नेवाःभाषा), नेपाली ( खस) भाषा र तामाङ भाषामा गीत गाउन सकिनेछ । प्रतियोगितामा सहभागी हुन गत ६ कात्तिक शनिबारसम्मको समय तोकिएको थियो । प्रतियोगितामा नगरका १९ गायक, गायिका सहभागी थिए भने सहभागीले पठाएको गीतलाई अडिसन राउन्डअन्तर्गत ‘कीर्तिपुर सिंगिङ आइडल– ११४२’ युट्युब च्यानलमा अपलोड गरिएको छ ।     यसमा ११ पुरुष र ८ महिला ४ वटा नेपालभाषा र १५ वटा खस नेपाली गीतसहित सहभागी भएका छन् ।            


प्रतियोगितामा नेपालभाषा (नेवाःभाय्), खस नेपाली भाषा र तामाङ भाषामध्ये कुनै एक भाषामा सहभागी हुन सकिने बताइए पनि तामाङ भाषाबाट कोही पनि सहभागी नभएको नगरपालिकाले बताएको छ । पहिलो चरणमा सहभागी सबैको गीत कीर्तिपुर सिंगिङ आइडल–११४२ को युट्युब च्यानलमा अपलोड गरिसकिएको छ भने सबै प्रतियोगी दोस्रो चरणमा प्रवेश गरे ।


दोस्रो चरणमा सहभागी सबैले काराओके  (ट्राय्क) मा गीत गाएका थिए, जसका लागि नेपालभाषा एकेडेमी हल, न्यामासिमामा अभ्यास कक्षा सञ्चालन गरिएको थियो । अभ्यास कक्षामा सबै प्रतियोगीले आफूले रोजेको ट्राय्कमा गीत प्रस्तुत गरेका थिए ।

 

आयोजक कमिटी संयोजक हरिशरण साय्मि र सदस्य ज्ञानेश्वर ‘निभाः’, सतिश महर्जन, तीर्थ माली, कृष्णहरि महर्जनलगायतले प्रतियोगीलाई आवश्यक सल्लाह सुझाव दिए ।  कीर्तिपुर सिंगिङ आइडल–११४२ को दोस्रो (काराओके) राउन्ड १० मंसिरमा सम्पन्न भएको छ ।

 

नेपालभाषा एकेडेमी हलमा भएको सो प्रतियोगितामा १८ सहभागी प्रतियोगीले आ–आफ्नो प्रस्तुति पस्किए । काराओके राउन्डबाट अब उत्कृष्ट १० स्थान (टप टेन) छानिनेछ । प्रतियोगिता नेवाःएचडी टेलिभिजन, कीर्ति अनलाइनलगायत मिडिया पार्टनरबाट प्रसारणपछि उत्कृष्ट १० को नतिजा घोषणा गरिनेछ ।


प्रतियोगितमा प्रशान्त सुवेदी, जोन महर्जन, नसना महर्जन, सनिश महर्जन, दिवेन वज्राचार्य, रसिक मालाकार, अतुल मानन्धर, संयोग बस्नेत, निकेश मानन्धर, नफिसा महर्जन, रुपा शाही, रितिशा महर्जन, समृद्धि महर्जन, सुदेश महर्जन, निर्जल महर्जन, कृपा बाँस्कोटा, एकता महर्जन र स्नेहा नकर्मीले भाग लिएका थिए ।


प्रतियोगिताको निर्णायक मण्डलमा आयोजक समिति संयोजक हरिशरया साय्मि र सदस्यहरू ज्ञानेश्वर ‘निभाः’, तीर्थ माली, सतिश महर्जन, न्हुच्छे दर्शनधारी, सन्तोष महर्जन, कृष्णहरि महर्जन, राजु महर्जन, रुविन श्रेष्ठ, दीपा महर्जन र रत्नशोभा महर्जन रहेका थिए ।