close

दिक्तेल रुपाकोट मझुवागढीमा महिला स्वास्थ्य स्वयंसेविकाको लोकदोहोरी

दिक्तेल रुपाकोट मझुवागढीमा महिला स्वास्थ्य स्वयंसेविकाको लोकदोहोरी

Trulli
ADVERTISEMENT

खोटाङ–१८औँ महिला स्वास्थ्य स्वयंसेविका दिवस अवसर पारेर अन्तरस्वास्थ्य स्वयंसेविकाको स्वास्थ्य लोकदोहोरी प्रतियोगिता सम्पन्न भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका स्वास्थ्य शाखाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी खोटाङको सहकार्यमा १८औँ महिला स्वास्थ्य स्वयंसेविका दिवस अवसर पारेर महिला स्वयंसेविकाको क्षमता अभिवृद्धि गर्ने र लोकदोहोरीमार्फत स्वास्थ्य सन्देशमूलक जनचेतना जगाउने उद्देश्यले स्वास्थ्य लोकदोहोरी प्रतियोगिता आयोजना गरिएको हो । 


कार्यक्रम उद्घाटन गर्दै नगरप्रमुख दीपनारायण रिजालले नगरपालिकालाई स्वास्थ्यमैत्री नगर बनाउन स्वयंसेविकाको उल्लेखिय भूमिका रहेको बताए । उनले भने, ‘स्वास्थ्य स्वयंसेविकालाई सरकारले प्रदान गर्ने सेवा–सुविधा न्यून भएकाले उनीहरूलाई प्रोत्साहन गर्दै १ हजार रुपैयाँ सेवा–सुविधा नगरले व्यवस्थापन गरेर कार्यान्वयनमा ल्याएको छ ।’ 


अन्तरस्वास्थ्य दोहोरी लोकगीत प्रतियोगितामा खाल्ले स्वास्थ्य चौकी प्रथम, स्वास्थ्य चौकी विजयखर्क दोस्रो, वडा स्वास्थ्य केन्द्र बुवालुङ र स्वास्थ्य नगर शाखा दिक्तेल तृतीय भए । प्रथम हुनेलाई २ हजार, द्वितीयलाई १ हजार ५ सय र तृतीय हुनेलाई १ हजार रुपैयाँका दरले पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । 
त्यस्तै, अवकाश प्राप्त वडा नम्बर १३ नुनथलाकी स्वयंसेविका कुमारी राईलाई सम्मान गरिएको छ । 


सरकारी तथ्यांकअनुसार हाल नेपालभर ५२ हजार महिला स्वयंसेविका कार्यरत छन् । स्वयंसेविकाले परिवार नियोजनबारेको चेतना, अस्थायी साधन वितरण, झाडापखाला, श्वासप्रश्वाससम्बन्धी रोगको प्राथमिक उपचार, खोप कार्यक्रम सञ्चालन, स्वास्थ्य शिक्षालगायतका काम गर्दै आएका छन् ।  


कार्यक्रममा नगर उपप्रमुख वीणादेवी राई, नेपाल रेडक्रस सोसाइटी खोटाङ सभापति, विभिन्न राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि उपस्थित थिए । दीक्षिका श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा नगर स्वास्थ्य शाखा प्रमुख तीर्थराज आचार्यले स्वागत गरेका थिए ।