close

विद्यालयका लागि स्थानीयले दिए ११ रोपनी जग्गा

विद्यालयका लागि स्थानीयले दिए ११ रोपनी जग्गा

Trulli
ADVERTISEMENT


खड्क सुनार
मुगु– मुगुमा मनकारी स्थानीयले विद्यालयको लागि जग्गा दान गरेका छन् । जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिका २ जडेपानी गाउँका नौजना मनकारी स्थानीयले करिब ११ रोपनी जग्गा गाउँकै माध्यमिक विद्यालयलाई निःशुल्क दान गरेका छन् ।

 

गाउँमा रहेको जनज्योति माध्यामिक विद्यालयको भौतिक पूर्वाधार विस्तारका लागि र विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि ९ जना स्थानीयले आफूले भोगचलन गर्दै आएको ११ रोपनी खेतीयोग्य जग्गा विद्यालयलाई निःशुल्क दान गरेका हुन् ।

 

जडेपानी गाउँनिवासी नरजंग शाहीले एक हजार पाँच सय वर्गमिटर, टोपबहादुर शाहीले एक हजार पाँच सय वर्गमिटर, मेलबहादुर शाही र  मञ्जन शाहीले सात–सात सय वर्गमिटर, दलबहादुर मल्लले तीन सय ५० वर्गमिटर, मानबहादुर शाहीले एक सय ३२ वर्गमिटर, कर्मकला शाहीले एक सय १७ वर्गमिटर, मिमा शाहीले दुई सय ४२ वर्गमिटर र भरत शाहीले एक सय ५७ वर्गमिटर जग्गा गाउँकै जनज्योति माध्यमिक विद्यालयको नाममा निःशुल्क चन्दा दिएका छन् ।

 


आफ्ना छोराछोरीलाई घर आँगनमै गुणस्तरीय शिक्षा मिलोस्, बाहिर पढ्न जानु नपरोस् भन्ने हिसाबमा स्थानीयले माध्यमिक विद्यालयको नाममा निःशुल्क जग्गा उपलब्ध गराएका छन् । घरकै खाना खाएर गुणस्तरीय शिक्षा हासिल गर्न र पर्याप्त रूपमा विद्यालयका भौतिक संरचना निर्माण गर्न सहज होस् भन्ने हिसाबले आफूहरूले खेतीयोग्य जमिन निःशुल्क उपलब्ध गराएको जग्गाधनीहरूको भनाइ छ ।

 

‘२०३४ सालमा स्थापना भएको यस विद्ययालयमा फराकिलो जग्गा नहुँदा थप भवनहरू निर्माण गर्न समस्या भएको थियो । नौजना स्थानीय मिलेर ११ रोपनी जग्गा विद्यालयको नाममा निःशुल्क दान गरियो,’ जग्गा दान गर्नेमध्येका मेलबहादुर शाहीले भने ।


 
लाखौँ मूल्यबराबरको जग्गा स्थानीयले विद्यालयलाई निःशुल्क उपलब्ध गरएपछि अब विद्यालयको थप भौतिक संरचना निर्माण सहज हुने बताउँछन् जडेपानी गाउँका समाजसेवी नरवीर शाही ।

 

पहिला यस विद्यालयको नाममा कमै क्षेत्रफल जग्गा हुँदा भौतिक पूर्वाधारको अभाव, छात्रवासको समस्या, खेलमैदान, घेरबारलगायतका समस्या विद्यालयले खेप्दै आएको जनज्योति विद्यालयका लेखापाल नरजंग शाहीले बताए ।

 

२०३४ सालमा स्थापना भएको विद्यालयको नाममा स्थानीयले ११ रोपनी जग्गा नामसारी गरेसँगै अब विद्यालयको कक्षाकोठा विस्तार, खानेपानी, शौचालय, छात्रवास, घेरबार, खेलमैदानलगायतको काम अघि बढाउन सहज हुने लेखापाल शाहीको भनाइ छ ।

 

जडेपानी गाउँका मनकारी स्थानीयले विद्यालयको नाममा ११ रोपनी जग्गा निःशुल्क नामसारी गरिदिएका छन् । अबका दिनमा विद्यालयको पूर्वाधार निर्माणका लागि भारतीय राजदूतावास, गैरआवासीय संघसंस्था, गाउँपालिका, वडा तह, गैसस, विभिन्न सरकारी कार्यालयलगायतका निकायहरूमा परियोजना प्रस्ताव पेस गरिने जनज्योति माध्यमिक विद्यालयका प्रधानध्यापक सुवास रावलले बताए ।

 

हाल यस विद्यालयमा इसिडी कक्षादेखि १२ कक्षासम्म पढाइ हुने गरेको छ भने कुल विधार्थी संख्या सात सयभन्दा बढी अध्यायनरत छन् । शिक्षकसहित कर्मचारीको संख्या २३ जना कार्यरत छन् । चालू आर्थिक वर्षदेखि सिभिल सबइन्जिनियरसमेत पढाइ सुरु गरिएको छ ।

 

पालिकाभित्रका फोतु, नेर, लिब्रु, रावलबाडा, नार्थपु, जवलधारा, नाचार, जडेपानी, सोरुकोट, भिईलगायतका गाउँबस्ती र छिमेकी जिल्ला हुम्लाको तुम्च मकैलगायतका गाउँबाट समेत यस विद्यालयमा विद्यार्थी अध्ययन गर्न आउने गरेका छन् भने चालू आर्थिक वर्षदेखि सुरु गरिएको सिभिल सबइन्जिनियर विषय अध्ययनका लागि जिल्लाभित्रका र  छिमेकी जिल्ला हुम्ला र बाजुरासमेत बाट विद्यार्थी अध्ययन गर्नका लागि यस विद्यालयमा आउने गरेका छन् ।