close

ठगिए नगर प्रमुख, नगरपालिकाको नाममा करोडौँको फर्जी चेक 

ठगिए नगर प्रमुख, नगरपालिकाको नाममा करोडौँको फर्जी चेक 

Trulli
ADVERTISEMENT

रौतहट– रौतहटको फतुवा विजयपुर नगरपालिकालाई एउटा निर्माण कम्पनीलाई करोडौँ रुपैयाँको बाउन्स चेक दिई ठगी गरेको आरोप लागेको छ ।

 

नदीजन्य पदार्थ निकासीका लागि फतुवा विजयपुर नगरपालिकासँग सम्झौता गरेको साह निर्माण सेवा मलङ्गवाले एक करोड रुपैयाँको फर्जी चेक दिएको खुलेको हो । सम्झौताअनुरूप फतुवा विजयपुर नगरपालिकाको खातामा रकम नभएको बैंकको चेक धरौटी राखेर सम्झौता गरेको साह निर्माण सेवाले आठ महिना नदीजन्य पदार्थ निकासी गरेको नगर प्रमुख गोपाल यादवको आरोप छ । 

 

धरौटीबापत बुझाएको चेक नसाटिँदा नगरपालिकाको राजस्व रकम डुब्ने खतरा रहेको यादवले बताए । नगरपालिकाले आफ्नो अधीनमा रहेको लालबकैया नदीबाट गिट्टीजन्य पदार्थ बिक्री बितरणका लागि एक करोड ११ लाख रुपैयाँमा साह निर्माण सेवा मलङ्गवालाई जिम्मा दिएको थियो ।

 

उक्त निर्माण सेवाका प्रोपाइटर नागेन्द्र साहले नगरपालिकाको नाममा खातामा पैसा नभएको सनराइज बैंकको एक करोड रुपैयाँको चेक दिएर ठूलो परिमाणमा गिट्टीजन्य पदार्थ निकासी गरेको खुलेको हो । 

 

गत वर्ष कार्तिकदेखि २०७७ जेठ मसान्तसम्म साह निर्माण सेवाका प्रोपाइटर साहले लालबकैया नदीबाट नदीजन्य पदार्थ ढुवानी गरेको प्रमुख यादवको भनाइ छ । यादवले निर्माण व्यवसायीले खातामा पैसा नभएको चेक दिएपछि मुद्दा दर्ता गरिएको बताए । 

 

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानको कार्यकालमा भएको उक्त टेन्डर सम्झौताको चौतर्फी आलोचना भइरहेको छ । हालका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार गुप्ताले अदालतमा मुद्दा चलेको बताए । आर्थिक वर्ष समाप्त भइसक्दासमेत रकम जम्मा नभएपछि नगरपालिका नै अन्योलमा परेको छ ।

 

नगरपालिकासँग ठेक्का सम्झौताको फाइलसमेत नरहेको उनले बताए । वातावरणीय प्रभाव मूल्याङ्कनसमेत नगरी नगरपालिकाले हचुवाको भरमा ठेक्का लगाएर निर्माण व्यवसायीलाई १० प्रतिशत छुट दिएर एक करोड रुपैयाँको चेक गत आर्थिक वर्षको फागुन महिनामा लिएको पाइएको छ ।

 

नगरपालिकाले टेन्डर स्वीकृत गरे पनि पट्टाविना नै साह निर्माण सेवाले भने टेन्डर सम्झौता गर्नासाथ दैनिक दर्जनौँ ट्«याक्टर र टिपरमा राखेर ढुङ्गा, गिटी, मिक्स ग्राभेल र बालुवा ढुवानी गरेको नगरपालिकाले जनाएको छ । यसबारे ठेकेदार साहसँग सम्पर्क गर्न खोज्दा उनको टेलिफोन उठेन ।