close

५ करोडको मेसिन रद्दीको टोकरीमा, घोषणामै सीमित चालिसेको योजना

५ करोडको मेसिन रद्दीको टोकरीमा, घोषणामै सीमित चालिसेको योजना

Trulli
ADVERTISEMENT

काठमाडौं– काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले २०७६ साउनमा करिब पाँच करोड रुपैयाँको लागतमा फोहोर जलाउने मेसिन खरिद ग¥यो । तर, असोजको पहिलो साताबाट सञ्चालनमा ल्याउने भनेको उक्त मेसिन हालसम्म पनि सञ्चालनमा आउन सकेको छैन ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले फोहोर व्यवस्थापनलाई आफ्नो चुनावी एजेन्डा बनाएका थिए । तर, उक्त घोषणा चुनाव जित्ने हतियार मात्र बन्यो । नगरपालिकाको कार्यभार सम्हालेको तीन वर्ष बित्यो तर फोहोरको समस्या भने हालसम्म जस्ताको त्यस्तै छ ।

मेसिन खरिदको १५ महिना बित्यो तर समस्या समाधान हुन सकेन । ‘वर्षामा हिलो र हिउँदमा धुलो’ जोरपाटीको विशेषता नै बनिसकेको छ । अझ त्यसमा फोहोरको दुर्गन्धले समस्या सिर्जना गरिरहेको छ । यो फोहोरको ‘सगरमाथा’ न हिउँदमा घट्छ न त वर्षामा नै !

काठमाडौंको उत्तर भेगको केन्द्र मानिन्छ, गोकर्णेश्वर नगरपालिका– ५ जोरपाटीलाई । गोकर्ण, सुन्दरीजल, नारायणटार, मूलपानी, साँखु, थली, गोठाटारलगायतका स्थानमा जाने ‘ट्रान्जिट’मा पर्छ यो क्षेत्र । सवारी साधन चढ्न र ओर्लिनका लागि यात्रु प्रतीक्षालय पनि राखिएको छ यहाँ ।

मानिसको चाप काठमाडौंको केन्द्र न्यूरोडकोजतिकै हुन्छ । तर, सवारी साधन चढ्ने यात्रु प्रतीक्षालयसँग फोहोरको डंगुर हुन्छ । सवारी कुर्नेसँग विकल्प छैन– नाक थुन्यो, गाडी कु¥यो, घडी हे¥यो ।

लामो समयदेखि यो चोक फोहोरले भरिएर डम्पिङ साइट जस्तै बनेको छ । ‘हिउँदमा त बिहान गाडी आएर फोहोर लैजान्छ, बेलुकी उस्तै चाङ भइसक्छ’, सडक फुटपाथमै व्यापार गर्ने एक व्यापारीले सुनाए ।

झन बर्खा लागेपछि त बिजोक नै हुने उनको भनाइ छ । उनले भने, ‘हप्तामा एक दिन गाडी आउँछ, फोहोरले जोरपाटी नारायणटार नै दुर्गन्धित भइसक्छ ।’

गोकर्णेश्वर नगरपालिकामा दैनिक पाँच ट्रक फोहोर उत्पादन हुने गर्छ । यो समस्या गाडी कुर्ने र व्यापार गर्नेको मात्र होइन, सो स्थानमा हिँड्ने सर्वसाधरण र स्थानीयले समेत वर्षौंदेखि झेल्दै आइरहेको समस्या पनि हो ।

स्थानीयको दोष व्यापारीलाई

बिहान सफा गरेको सडक बेलुका उस्तै देखिनुमा स्थानीयले व्यापारीलाई दोष दिने गरेका छन् । व्यापार गर्नेहरूको संख्या धेरै भएको र व्यवसायबाट उत्पादन भएको फोहोर राती सडकमा फ्याँक्ने गरेको आरोप स्थानीयको छ । जोरपाटी चोक वरिपरि मासु, माछा, तरकारी तथा फलफूल बजार रहेकाले फोहोरमा त्यस्तै पदार्थहरू देखिनुले स्थानीयको आरोपलाई अस्वीकार गर्न मिल्दैन ।

सडकमा दैनिक फोहोरको थुप्रो लाग्न थालेपछि स्थानीयले नगरपालिका समक्ष समस्या समाधानको पहल गर्न आग्रह गरेका थिए ।  नगरपालिकाले केही समयअघि जोरपाटी चोक (अहिले फोहोर फ्याँकेको स्थान) अगाडि एउटा बोर्ड राखेको थियो, जसमा उल्लेख गरिएको थियो– ‘फोहोर फाल्न मनाही छ, यदि फोहोर फालेमा पाँच सयदेखि एक हजारसम्म जरिमाना लाग्नेछ ।’

स्थानीयको अवरोध भयोः नगरप्रमुख चालिसे  

आफ्नो कार्यकाल सुरु भएपछि फोहोर व्यवस्थापनको उपाय खोज्दै जापान पुगेको बताउँदै नगर प्रमुख चालिसेले भने, ‘जापानमा फोहोर जलाइरहेको दृश्य देखेँ, त्यसपछि त्यही मेसिन आफ्नो क्षेत्रमा ल्याउन लागिपरेँ ।’

फोहोर व्यवस्थापन नगरपालिकाको पहिलो प्राथमिता हो । मेसिन खरिद गरेर ल्याए पनि स्थानीयको अवरोधका कारण संचालनमा आउन नसकेको उनको भनाइ छ । उनले भने, ‘फोहोर जलाउने मेसिन भन्नेवित्तिकै धुवाँ आउँछ, फोहोर हुन्छ भन्दै स्थानीयले राख्न दिएनन् ।’ त्यसैले हालसम्म राख्न नसकेको उनको भनाइ थियो ।

नगरपालिकाले गत वर्ष साउनमा जापानबाट ‘चुहा स्टार’ नामक कम्पनीका दुईवटा अत्याधुनिक मेसिन ल्याएको थियो । करिब १५ महिनासम्म पनि ती मेसिन प्रयोगमा आउन सकेनन् ।   

मेसिन २४ घण्टासम्म संचालन हुने उनको भनाइ छ । एउटा मेसिनमा दैनिक चार ट्रक फोहोर पेल्न सक्ने क्षमता रहेको उनले बताए । ‘१३ सय डिग्रीको तापक्रम उत्सर्जन गर्ने गरी आगो बल्छ’, चालिसेले भने, ‘फलामको चार इन्च डन्डीलाई समेत खरानी बनाउँछ ।’

उनका अनुसार मेसिनमा सय किलो फोहोर हाल्दा पौने एक किलोको खरानी बन्छ भने त्यो खरानीलाई सिमेन्टमा घोलेर इट्टा बनाउन मिल्छ ।

फोहोर जलिरहँदा मेसिनको टुप्पोबाट धुवाँ निस्किने र त्यो धुवाँले मानिसको स्वास्थ्यलाई कुनै असर नपार्ने चालिसेको दाबी छ । मेसिनको प्रयोग हुन थालेपछि गोकर्णेश्वर नगरपालिका फोहोरबाट सुरक्षित हुने उनको भनाइ छ ।