close

नहर भत्किएपछि कोल्टीमा दिउँसै अँध्यारो, टुकी बालेर बित्छ नगरवासीको रात

नहर भत्किएपछि कोल्टीमा दिउँसै अँध्यारो, टुकी बालेर बित्छ नगरवासीको रात

Trulli
ADVERTISEMENT

बाजुरा– बाजुराको बूढीनन्दा नगरपालिकामा १ महिनादेखि विद्युत् सेवा अवरुद्ध भएको छ ।  नगरपालिकाको वडा नम्बर २ कोल्टीमा सञ्चालित बड्डीगाड लघुजलविद्युत् आयोजनाको नहर भत्किँदा भदौ अन्तिम सातादेखि विद्युत सेवा अवरुद्ध भएको हो ।


लगातारको बर्खापछि आएको बाढीपहिरोले सिराडीदेखि दान्सागसम्मको नहरको ठाउँठाउँमा पहिरो गएपछि विद्युत् सेवा सञ्चालनमा आउन नसकेको उपभोक्ता समितिले जनाएको छ ।


विद्युत् मर्मतमा नगरपालिकाले चासो नदिँदा अहिले वडा–१, २, ३ र ५ का गरी करिब ८ सय घरधुरीका उपभोक्ता अँध्यारोमा बस्न बाध्य भएका छन् ।


जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्र कोल्टी बजारमा लामो समयदेखि विद्युत् अवरुद्ध हुँदा विभिन्न कर्ममा आबद्ध व्यवसायीलाई सास्ती भएको छ । ‘लकडाउनले लक बनिदिँदा समस्या परिरहेका बेला काम हुन पाएन । कोल्टीमा बत्ती  नभएपछि काठ उद्योग पनि चल्न सकेन । यसले गर्दा कामदारलाई पैसो दिन हम्मेहम्मे परिरहेको छ’, जयहनुमान काष्ठ उद्योगका सञ्चालक प्यासनाथ सुनारले भने ।


करिब डेढ महिनासम्म बत्ती नआउँदा व्यापारमा ठूलो क्षति पुगेको उनको गुनासो छ । बूढीनन्दा नगरपालिका वडा–३ को सिराडीदेखि दान्सागसम्मको करिब २ किलोमिटर नहरको बीचमा पहिरो जाँदा विद्युत् अवरुद्ध भएको व्यवस्थापक ध्रुव रेग्मीले बताए । ‘नहरको १ किलोमिटर ७ सय ६५ मिटरको ठाउँ–ठाउँमा पहिरोले क्षति पु¥याएको छ’, रेग्मी भन्छन् ।


बूढीनन्दाले प्राविधिक अध्ययनबिनै सडक निर्माण गरेकाले अहिले पहिरो झर्दा बेलाबेला विद्युत् अवरुद्ध हुने गरेको स्थानीयको दाबी छ । नहर माथिबाट खसेको पहिरोले ११ मिटर नहर भत्किएको र ७ मिटर नहर माटोले पुरिएको छ ।


यो वर्ष नगरपालिकाले बत्ती व्यवस्थापनका लागि रकम विनियोजन गरे/नगरेको बारे उपभोक्ता समितिलाई जानकारी नभएको उनले बताए ।


अवरुद्ध नहर मर्मतमा नगरपालिकाले चासो नदिँदा स्थानीय अँध्यारोमै बस्नु परेको रेग्मी बताउँछन् । उनले भने, ‘उपभोक्ता समितिसँग पर्याप्त स्रोत–साधन र बजेट पनि छैन । बजेट व्यवस्थापनका लागि नगरपालिकालाई घचघच्याउँदा पनि सुनुवाइ भएन । अहिलेसम्म ५ पटक नगरपालिका धाइयो तर हात लाग्यो शून्य ।’